सिलाइकटाइको पेसाबाट आत्मनिर्भर

२८ साउन, काठमाडाैं । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पाँच दशकअघिदेखि रतन जैरुले सिलाइकटाइको काम गर्दै आएका छन् । यही पेसाबाट उनको जीविकोपार्जन हुँदै आएको छ ।

डडेल्धुराको खलङ्गाबाट ५५ वर्षअघि जैरु तराई झरेका हुन्। अहिले ६९ वर्ष पुग्नुभएका उनले भने, “पहाडमा जीविकोपार्जनमा समस्या हुन थालेपछि रोजगारीको खोजीमा तराई झरेको हो ।” तराई झरेको केही वर्षसम्म सङ्घर्षपूर्ण जीवन बितेको उनले सुनाए ।

“पहाडमा हुँदा अलिअलि सिलाइकटाइ सिकेको थिएँ । तराई झरेपछि अरूको पसलमा मेसिन चलाउँदै गरेको, कपडा काट्दै गरेको कार्य हेरिरहन्थेँ । त्यसबेला म १५ वर्षको थिएँ”, जैरुले भने, “हेर्दाहेर्दै मेसिन चलाउन, कपडा काटन सिकेँ । कपडा सिलाइ गर्ने पसलमा काम पाएपछि मेसिनमा कपडा सिलाउन थालेँ, बिस्तारै सिकेको सीपले अहिले सक्षम बनाएको छ ।”

सीप निखार्न भारत भारतको बरेली पुगेको अनुभव जैरुले सुनाए । “बीस\बाइसको कलिलो उमेर थियो, बरेलीमा ‘टेलरिङ’ गर्ने पसलमा बसेर एक वर्ष काम गरेँ । काम गर्दै जाँदा सीप पनि सिकिँदो रहेछ”, उनले भने, “पाइन्ट र सर्ट बनाउनमा निपूर्ण भएपछि आत्मविश्वास पनि बढ्दै गायो ।” उनले त्यतिले व्यावसायिक सिलाइकटाइ गर्न नपुग्ने ठानेर कोटपाइन्ट, सुट बनाउने सीप सिक्न विसं २०३४ मा भारतको लखनऊ पुगेको स्मरण गरे ।

दुई वर्ष लखनऊमा बसेर जैरुले कोटपाईन्ट बनाउनमा दक्षता हासिल गरेपछि स्वदेश फर्किएको बताए । एक वर्ष महेन्द्रनगर बजारमा अरुको पसल अगाडि बसेर सिलाइकटाइ गरेको सुनाउँदै उनले विसं २०३७ देखि झलारी बजारमा सिलाइकटाइ पसल राखेर काम थालेको उल्लेख गरे ।

हालसम्म यही पेसालाई निरन्तरता दिएको बताउँदै जैरुले अहिले झलारी बजार क्षेत्रमा कोटपाइन्ट, सर्टमा सबैभन्दा राम्रो ‘फिनिसिङ्ग’ दिने टेलरका रुपमा परिचति भएकामा खुसी लाग्ने गरेको सुनाए । “पहिला बजार क्षेत्रमा सिलाइकटाइ गर्ने प्रतिस्पर्धी थोरै हुँदा आम्दानी प्रशस्त थियो”, उनले भने, “महिनाको ५०÷६० हजार रुपैयाँ माथि कमाई हुन्थ्यो, अहिले बजार बढ्दै गएको छ, उमेरले पनि पहिलाको जस्तो साथ दिँदैन ।” अहिले मासिक ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

जैरुले चार बहिनी, पाँच भाइको विवाहका साथै दुई छोराको सबै खर्च सिलाइकटाइबाट भएको आम्दानीले गराए भने झलारी बजारमा घर र घरेडी जोडेका छन् । सीप सिकेर आत्मनिर्भर भई व्यावसायिक रुपमा काम थालेपछि पैसाको कहिल्यै समस्या नपरेको अनुभव उनीसँग छ । सीप सिकेर लगनशील भई कार्य गरे आत्मनिर्भर भइने उनको बुझाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours