बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते, ७ जनाको अवस्था गम्भीर

२८ साउन, भरतपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा सोमबार बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन्।

घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। घाइतेमध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours