२७ साउन, काठमाडौँ । सरकार विद्युतीय भुक्तानी प्रवर्धनमार्फत भौतिक मुद्रामाथिको निर्भरता घटाउने अभियानमा छ । नेपाल राष्ट्र बैंकको यो अभियानमा बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रुपमा लागिरहेका छन् ।
तर, बैंक तथा वित्तीय संस्थामा चेक वा पैसा बोकेर घण्टौँसम्म लाइनमा बस्ने प्रचलन कायमै छ । किन त ? जनसाधारणमा जागरण नआएसम्म, उनीहरूले विद्युतीय भुक्तानीको ज्ञान हासिल गरी त्यसको व्यावहारिक कार्यान्वयनमा अभ्यस्त नभएसम्म, यसलाई दैनिक जीवनको अङ्ग नबनाएसम्म सेवाप्रदायक, नियामक निकाय, सरकार, सञ्चारमाध्यम वा अन्य कुनै पक्षले जति नै जोड गरे पनि भौतिक मुद्रामाथिको निर्भरतालाई निरुत्साहित गर्न सकिँदैन ।
सरकारको ‘विद्युतीय भुक्तानीमय समाज’ अभियान कार्यान्वयनका क्रममा देखिएका प्रमुख समस्याका आधारमा यहाँ यस महाअभियानका चुनौती तथा तिनको समाधानका उपायहरू औँल्याउने प्रयास गरिन्छ ।
अभियानका चुनौती र समाधान
१. वित्तीय साक्षरताको कमी
नेपाली समाज पछिल्लो समय निकै शिक्षित बनिसकेको छ, तर वित्तीय साक्षरताको दृष्टिले भने अझै पनि अनपढप्रायः नै छ । वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरूका अतिरिक्त केही प्रतिशत व्यक्ति मात्र वित्तीय क्षेत्र र त्यससँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकार छन् ।
तसर्थ, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरी भौतिक मुद्रामाथिको निर्भरता घटाउन सर्वप्रथम सहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रम तय गरी तिनको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । यसको कार्यान्वयनमा सञ्चारमाध्यम तथा सामाजिक संघ–संस्थाको भूमिका महत्त्वपूर्ण बन्न सक्छ ।
२. विद्युतीय भुक्तानीको महत्त्वबोध नहुनु
भुक्तानीका नवीनतम विद्युतीय माध्यमबारे जानकारमध्ये पनि कतिपय व्यक्तिलाई विद्युतीय भुक्तानीको बहुआयामिक महत्त्वबोध नभएको पाइएको छ । भुक्तानीमा विद्युतीय प्रणालीको व्यापकताले उपभोक्ता, सेवाप्रदायक, समाज र समग्र राष्ट्रलाई समेत पु¥याउने फाइदाबारे जानकार हुने हो भने अधिकांश व्यक्ति यसप्रति प्रोत्साहित हुने सहजै अनुमान गर्न सकिन्छ ।
विद्युतीय भुक्तानीले उपभोक्ताको समय र श्रमको दैनिक बचत हुने कुरा त चेक वा पैसा बोकेर भौँतारिनु नपर्ने, आफ्नो साथमा हमेसा हुने मोबाइलबाटै इच्छाएको वेला भुक्तानी गर्न सकिने उदाहरणले नै बुझाउन सकिन्छ । खुद्रा पैसाका लागि चिन्ता गर्नुनपर्ने, सधैँ वास्तविक मूल्यमा कारोबार गर्न सकिने, पैसा हराउने, चोरिने वा बोक्न बिर्सिने समस्याबाट मुक्ति पाइनेजस्ता प्रत्यक्ष फाइदाका विषय पनि बुझाउन कठिन छैन । कोभिड १९ महामारीको अभूतपूर्व अवस्थाको स्मरण र अनुभूति यसको महत्त्वबोध गराउने उपयुक्त उदाहरण बन्न सक्छ ।
परिवार, आफन्त वा नजिकका, चिनेजानेका मानिसको निकट हुनु वा जुनसुकै वस्तु छुनु जोखिमपूर्ण हुने अवस्थामा सबैभन्दा बढी व्यक्तिको हातमा पुग्ने नगदको दैनिक कारोबार वास्तवमै जोखिमपूर्ण र संशयदायक थियो । यदि हामी विद्युतीय भुक्तानीमा अभ्यस्त थियौँ भने नछोईकनै भुक्तानी आदान–प्रदान गर्न सक्थ्यौँ । यीबाहेक विद्युतीय भुक्तानीले व्यक्ति वा समाजलाई अनेकौँ अप्रत्यक्ष लाभ दिइरहेको हुन्छ ।
विद्युतीय भुक्तानीले समाजमा आपराधिक क्रियाकलापलाई धेरै हदसम्म निरुत्साहित गर्छ । भ्रष्टाचारको त यो शत्रु नै हो । अवैध आर्थिक लेनदेन विद्युतीय माध्यमबाट गर्नु ज्यादै जोखिमपूर्ण हुने हुँदा नगद वा भौतिक सम्पत्तिमै गरिन्छ । त्यसैले भौतिक मुद्राको प्रयोगलाई निरुत्साहित गरी विद्युतीय भुक्तानीको प्रवर्धन गर्न सकिएमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ ।
विद्युतीय भुक्तानीले सार्वजनिक सेवाप्रवाहलाई छिटो–छरितो, चुस्त–दुरुस्त र पारदर्शी बनाउँछ । यसले अन्ततः उपभोक्तालाई नै बढी फाइदा पुर्याउँछ । विद्युतीय माध्यमबाट गरिएको भुक्तानीमा व्यापारीले नियमानुसार राज्यलाई तिनुपर्ने कर छल्ने सम्भावना न्यून रहन्छ । यसले देशको ठूलो समस्याको रूपमा रहेको करछलीलाई निरुत्साहित गर्छ, परिणामस्वरूप राज्यको आय बढ्न गई विकासले गति लिन सक्छ ।
यसले सेवाप्रदायकहरूलाई पनि दिनहुँ पैसा जम्मा गर्न बैंक जानुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै लेखाव्यवस्थापनमा समेत ठूलो राहत दिन्छ । यसले राज्यलाई देशमा चलिरहेको आर्थिक क्रियाकलापको निगरानी तथा नियमन गर्न तथा आवश्यक नीति–नियम तर्जुमा र कार्यान्वयनमा समेत सघाउँछ ।
अर्को महत्त्वपूर्ण पक्ष विद्युतीय भुक्तानीले मुद्राको मुद्रणमा बर्सेनि राज्यले खर्चने अर्बौं रुपैयाँ जोगाउँछ । हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ खर्च हुन्छ । एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च गर्नुपर्छ । नगदरहित कारोबार सुशासित समाज विकासको महत्त्वपूर्ण आधार हो । संसारका सुशासित मुलुकहरूमा नगदरहित कारोबार हुने गरेको छ । व्यक्ति र समाज दुवैलाई सभ्य र आधुनिक तुल्याउन यो प्रविधिको अभ्यास जरुरी छ । विद्युतीय भुक्तानीका यी र यस्ता उपभोक्ता र राज्यसँग जोडिएका फाइदाको बोध गराउन सकिएमा यसप्रति आकर्षण बढ्न गई समाज क्यासलेस सोसाइटीतर्फ अग्रसर हुन सक्छ ।
३. प्राविधिक विषयमा अरुची, अनिच्छा र अनुत्सुकता
नेपाली समाज आज जति शिक्षित छ, त्यस अनुपातमा अत्यावश्यक तथा दैनिक कामका लागि उपकारक प्रविधि तथा सञ्चारका साधनको प्रयोगबारे जिज्ञासु छैन । परिणाम, समाजको ठूलो तप्का आफ्ना दैनन्दिन व्यवहारलाई सहज बनाइदिने, अनेकन झमेलाबाट मुक्ति दिने अत्याधुनिक प्रविधिसित अनभिज्ञ छ वा अभ्यस्त छैन । यो तप्का इतिहासको हरेक कालखण्डमा करिब करिब उही रूपमा छ, जो आफ्नो क्षमता र समाजको विकाससित प्रत्यक्ष सरोकार राख्ने नवीनतम आविष्कारको ज्ञान र प्रयोगबारे चासो राख्दैन ।
ऊ परम्परागत जीवनशैलीलाई परिवर्तन गर्न चाहँदैन, या त म पनि केही नयाँ गर्न सक्छु भन्ने विश्वास, त्यसप्रतिको संकल्प र अग्रसरता उसमा छैन । ऊ आफूलाई अत्यावश्यक नपरी आफ्नो नियमित कर्मभन्दा दायाँबायाँ सोच्दैन । जब कामै नचल्ने अवस्था आउँछ, अनि मात्र बाधाअड्काउ फुकाउका लागि प्रविधिसित साक्षात्कार हुने, त्यो पनि सकभर अरूकै सहायता लिएर काम चलाउने प्रवृत्ति यो तप्कामा छ । यो समूह वस्तुविनिमय प्रणालीदेखि आजको अत्याधुनिक प्रविधियुक्त विद्युतीय प्रणालीसम्म समाजको ठूलो हिस्सा ओगटेर बसेको छ । आजको प्रविधिमैत्री युगमा पनि यदाकदा वस्तुविनिमय प्रणालीको अवशेष विद्यमान हुनु यसैको उपज हो । यो समूह नै हरेक कालखण्डमा समतामूलक समाज स्थापना र द्रुततर प्रगतिको बाधक हो । यहाँ सोचविचार गरेरै यो समूहलाई लक्षित गरिँदै छ ।
आज अत्यन्त न्यून जनसङ्ख्या मात्र सञ्चारका कुनै न कुनै माध्यमको प्रयोगबाट वञ्चित छ । के सहर, के गाउँ, अधिकांश मानिस मोबाइल फोनको पहुँचमा छ । समाजको ठूलो हिस्सा स्मार्ट फोन र इन्टरनेटसित अभ्यस्त छ । फेसबुक, मेसेन्जर, टिकटक, युट्युबजस्तै अनेकौँ सामाजिक सञ्जालको टिआरपी बढाउनमा धेरै नेपालीको योगदान छ । कतिपयको त दिनको अधिकांश समय यस्तै सामाजिक सञ्जालको प्रयोगमा बित्ने गरेको छ । अभूतपूर्व रूपमा बैंकिङ क्षेत्रमा पहुँच विस्तार भएको छ ।
बैंक तथा वित्तीय संस्थामा खाताको सङ्ख्या नियाल्ने हो भने देशका हरेक आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीअन्तर्गत आइसकेझैँ भान हुन्छ, यद्यपि वास्तविक अवस्था त्यो होइन । तर, आफ्ना रुचिका विषयमा विद्युतीय उपकरण तथा प्रविधिको भरपूर प्रयोग गरिहेको यही समूह आफ्ना कामलाई पाइला पाइलामा सरल बनाउने प्राविधिक ज्ञान आर्जन र तिनको प्रयोगप्रति उदासीन छ । सामाजिक सञ्जालमा भएका आधुनिक विकाससित अभ्यस्त यो वर्ग कुनै वेवसाइटमा आफूलाई अत्यावश्यक सूचना हेर्नुपरेमा अरूलाई नै गुहार्छ ।
केही दिन होइन, केही घण्टा पनि होइन, केही मिनेटको प्रयासमै अभ्यस्त हुन सकिने यस्ता विषयको ऊ उपयोग गर्न चाहँदैन, या त सधैँभरि अरूमा आश्रित हुन्छ ।
धेरैजसो घरमा परिवारको कुनै न कुनै सदस्य यी विषयमा अभ्यस्त छन्, सिक्न अन्यत्र जानुपर्ने अवस्था पनि छैन । तर, यही सुविधाले परिवारका अन्य सदस्यलाई परनिर्भर बनाइरहेको छ ।
एउटाले जानेपछि निर्वाह त भएकै छ नि भन्ने सोचले पनि अन्ततः ठूलो हिस्सा प्रविधिमैत्री बन्न सकिरहेको छैन । तसर्थ, सिक्नलाई झन्झट मानेर सधैँभरको झन्झट बोकिरहने यो समूहको सोच परिवर्तन गराउनु आवश्यक छ, जुन निकै चुनौतीपूर्ण पनि छ ।
४. इन्टरनेट अत्यावश्यक, तर पहुँचमा छैन
विद्युतीय भुक्तानीका लागि इन्टरनेट आधारभूत सर्त हो । अनलाइन बैंकिङ, विविध ई–सेवाहरू, क्युआर कोड, आइपिएसलागायत सबैखाले विद्युतीय कारोबारका लागि इन्टरनेट अनिवार्य छ । तर, यो अत्यावश्यक साधन आमनागरिकको पहुँचमा आइसकेको छैन ।
हातहातमा मोबाइल पुगेजसरी इन्टरनेटको विस्तार हुन सकेको छैन । विस्तार भएका स्थानमा पनि यो जनसाधारणले उपयोग गर्न सक्ने मूल्यमा उपलब्ध छैन । अझै मोबाइल डाटाको प्रयोग त यति महँगो छ कि मध्यमवर्गले समेत यसलाई प्रयोग गर्न सक्दैन ।
इन्टरनेटको पहुँचमा भएको समूह पनि कतिपय अवस्थामा सेवाको न्यून गुणस्तरका कारण आजित बनिरहेको छ । यसले विद्युतीय भुक्तानीको प्रवर्धनमा प्रत्यक्ष र परोक्ष दुवै रूपमा ठूलो बाधा सिर्जना गरिरहेको छ ।
एकातिर प्रविधिसित अभ्यस्त व्यक्तिहरूले पनि इन्टरनेट अभावमा विद्युतीय भुक्तानी गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ यसको ज्ञान लिन चाहनेले पनि अवसर पाइरहेका छैनन् । तसर्थ, सञ्चारका साधनमाथिको पहुँच विस्तारसँगै तिनको सार्थक प्रयोगमा बहुउपयोगीसिद्ध इन्टरनेटलाई जनसाधारणको पहुँचमा विस्तार गर्नु र सेवाको गुणस्तर अभिवृद्धि गर्नु अति आवश्यक छ । अन्यथा भौतिक मुद्रामाथिको निर्भरता घट्ने छैन र डिजिटलाइजेसनको सपना अधुरै रहने निश्चित छ ।
उपभोक्ताको दायित्व
मानव जीवनसँग जोडिएका सरल, सहज, झन्झट, सुविधा, विकासजस्ता विषयहरू सापेक्ष छन्, अर्थात् यी विषयलाई सापेक्षतामा हेर्नु आवश्यक छ । जीवन कहिल्यै सरल हुँदैन, ‘भन्दा सरल’ हुन्छ । वस्तुविनिमय प्रणालीको युगमा भन्दा धातुमुद्राको युगमा जीवन निकै सरल थियो । तर, आजको विद्युतीय कारोबारको युगको अपेक्षामा त्यही धातुमुद्राको युगमा जीवन कैयौँ गुना कठिन थियो ।
हिजो जीवनलाई निकै सरल बनाएको कागजी मुद्रा आज झन्झटको भारी बनिसकेको छ । सापेक्षतावादको यही सिद्धान्तमा टेकेर जीवनलाई थप सरल, सहज र सुविधायुक्त बनाउँदै लानु मानवको धर्म र अद्वितीय क्षमता पनि हो । यही नै विकासक्रम हो र व्यक्ति र समाजको प्रगतिको आधार हो । मानवीय आवश्यकता पूर्तिकै लागि विकास हुन्छ र त्यही विकासप्रदत्त नवीनतम ज्ञान र प्रविधिको अभ्यासमै व्यक्ति र समाजको प्रगति निर्भर गर्छ । त्यसैले नवीनतम प्रविधिहरूको प्रयोगमा अभ्यस्त भएर समाज र देशको विकासमा सहयोगी भूमिका खेल्नु हामी सबैको दायित्व हो, जसले सबैभन्दा बढी प्रयोगकर्तालाई नै लाभ पुर्याउँछ ।
विद्युतीय भुक्तानी जटिल विषय बिलकुलै होइन । मोबाइल फोनको सामान्य प्रयोग गर्न जानेका, अक्षर र अङ्क चिनेका र इन्टरनेटको कामबारे सामान्य जानकारी हासिल गरेका हामीमध्ये जोकोही यो सुविधाको सुरक्षित प्रयोग गर्न योग्य छौँ ।
सिकाइका लागि केही समय खर्चिन झन्झट मानेर जीवनभर झन्झटका अनेकन भारी बोक्नुभन्दा एकपटक सिक्नु उत्तम विकल्प हो । आखिर चाहेर–नचाहेर एकदिन त सिक्नु नै छ । सिकाइ यस्तो विषय हो जुन जन्मेदेखि मृत्युपर्यन्त चलि नै रहन्छ । सिकाइले हामीलाई आत्मनिर्भर बनाउँछ, आफूमाथि विश्वास पैदा गराउँछ जुन प्रगतिको आधार सिद्ध हुन्छ ।
त्यसैले आजै सिकौँ र विद्युतीय भुक्तानीलाई दैनिक जीवनको अभिन्न अंग बनाऔँ । यसले हाम्रो समय र श्रमको मात्र होइन, पैसको पनि वचत गर्छ । बारम्बार भइरहने यो वचतलाई सिर्जनात्मक कार्यमा लगाउन सकिएमा जीवनमा नसोचेको परिवर्तन आउन सम्भव छ । हामीले आज चालेको यो सानो कदम आफू, समाज र देशको सर्वाङ्गीण विकासमा कोसेढुंगा सावित हुन सक्छ ।
जहाँसम्म पहुँच अभाव र अन्य चुनौतीका प्रसंग छन्, यी विस्तारै न्यून हुँदै जानेछन् । यीमध्ये कतिपय हाम्रै त कतिपय सेवाप्रदायकको सक्रियताले सम्बोधित हुनेछन् । उदाहरणका लागि विद्युतीय भुक्तानीमा हाम्रो सक्रियता बढेसँगै बढ्दो मागले इन्टरनेट सेवाको विस्तार र गुणस्तर वृद्धिका लागि सेवाप्रदायकहरू बाध्य हुनेछन् । सेवाविस्तारसँगै शुल्क पनि कम हुँदै जानेछ ।
राज्य र तिनका नियामक निकायले पनि यो अभियानको सफलताका लागि उचित कदम चाल्ने नै छन् । हिजो सेवाप्रदायक वित्तीय संस्थाहरू हाम्रो अपेक्षाअनुसारको सुविधा दिन नसक्ने अवस्थामा थिए । आज बैंकिङ क्षेत्रले यति लामो छलाङ लगाइसकेको छ कि सेवाप्रदायकको गतिमा हामी सेवाग्राही हिँड्न सकिरहेका छैनौँ । तसर्थ, लाज नमानी सिकौँ, झन्झटको भारी सावित भइसकेको नोटको प्रयोग यथासम्भव घटाऔँ र डिजिटलाइजेसनको यो महान् अभियानलाई सफल पारौँ ।
+ There are no comments
Add yours