कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान ऐरीसहित तीन खेलाडीलाई कोरोना संक्रमण
१० मंसिर, काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित तीन खेलाडी र एक जना ग्राउन्ड स्टाफलाई कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको छ।
कप्तान मल्ल, उपकप्तान ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
त्यस्तै ग्राउन्ड स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ।
आजदेखि शुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि हिजो मात्र १६ खेलाडी, प्रशिक्षक जगता टमाटा र ग्राउन्ड स्टाफसहित ३३ जनाको स्वाब संकलन भएको थियो।
६ खेलाडीले व्यक्तिगत कारण देखाउँदै स्वाब संकलनमा उपश्थित भएका थिएनन् ।
शरद भेषवाकर, सन्दीप लामिछाने, कुशल मल्ल, सुवास खकुरेल लगायतको स्वाब परीक्षण हुन बाँकी छ।
यसैबीच थप पाँच खेलाडीलाई क्यानले क्लोज क्याम्पका लागि बोलाएको छ। विक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकश बमलाई क्लोज क्याम्पका लागि बोलाइएको हो।