Nepal's No. 1 Digital Newspaper

चातुर्मास व्रत र यसको महानता

०५ मंसिर, काठमाडाै । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधिलाई चतुर्मास भनिन्छ । पालनकर्ता श्रीविष्णुसँग सरोकार राख्ने चतुर्मासको ठूलो महत्त्व छ । पितृदर्शन पर्व कुशेअौंसी, पितृपक्ष सोह्रश्राद्ध, देवीपक्ष बडादशैं, यमपञ्चक तिहार, छटपर्व सम्पन्न गर्दा तरंगित प्रबल मात्राको तमोगुणलाई समन गर्नु पर्छ । तुच्छ एवं तामसिक गुणले ती चाडपर्वको महत्त्व घट्नेछ ।

त्यसकिसिमको खतराबाट तुरन्त बच्न र सत्त्वगुण अभिवृद्धि गरि परमार्थ हासिल गर्ने चतुर्मास व्रत र तुलसी विवाह एक पद्दति हो । सामान्यजनमा स्थापित हुनुपर्ने सत्त्वगुणमा तमोगुणी तरंगको सामना गर्ने सामर्थ्यका लागि सात्त्विकतामा ध्यान दिनु आवश्यक छ । अतः चतुर्मास व्रतको विधि सर्वोपरि रह्यो । चाड पर्वका व्रतहरूले सात्त्विकतामा वृद्धि ल्याउँछ । त्यस कारण चातुर्मासमा अधिकाधिक चाड एवं व्रत सात्त्विकताका साथ मानिन्छ ।

Order Now: 98510-87891

‘व्रत’ शब्द ‘वृ’ धातुबाट बनेको छ । यसको विभिन्न अर्थ छन् । वरण अर्थात स्वीकार गर्नु, संकल्प, इच्छा, आज्ञापालन, उपासना, ग्रहण गर्नु, धारण, प्रतिज्ञा इत्यादि । श्रद्धालुको धारणा देवताले प्राणीका लागि केही विशिष्ट आदेश गर्नु भएको छ। ती आज्ञा, निर्देशन अथवा जिमेवारीलाई दीर्घकालसम्म अनुशरण गर्नुपर्छ । यसैलाई प्रथा बनाइएको छ । प्रथालाई पालना गरिएको छ । जब भक्तमा श्रद्धा जाग्छ, तब भगवत्कृया, संकल्पित विशेष अनुष्ठान अनिवार्य हुन्छ, त्यही धार्मिक आचार अथवा उपासना प्रथा बन्छ ।

विशिष्ट काल अथवा आमरण आचरण प्रयुक्त हेतु विशिष्ट नित्यनियमलाई व्रत भनिन्छ । भगवानको कृपाप्राप्ति हेतु केही आचरण अथवा भक्षण अादि व्यवहार प्रतिबन्धित गरिन्छ, तब ती प्रयोग पवित्र प्रतिज्ञा अथवा धार्मिक कर्तव्यले स्वरूप प्राप्त गर्दछ । यस द्वारा आज्ञापालन र जिम्मेवारी वोध, धार्मिक कर्तव्य निर्वाह, देवताको उपासना र जागरण, नैतिक आचरण र सफल, विधियुक्त प्रतिज्ञा र सेवा, अंगीकृत कार्यविधिका विविध अर्थ ‘व्रत’ शब्दका साथ संयोग हुन्छन् ।

ब्रह्माले शतरूपा र मनुको रचना पछि संसारिक रीति सञ्चालनार्थ वैदिक विधान आचारसंहिता बनाउनु भयो । कालान्तरमा मनुष्यको धर्माचरणप्रति लगाव दिनानुदिन न्यूनताले व्रतको परिकल्पना गरिन थालियो । प्राचीन समयदेखि व्रत एक दिव्य साधनका रूपमा प्रसिद्ध भयो । व्रत अनेक छन्, एवं व्रतका प्रकार पनि । यदि व्रतसंख्या विचार गर्ने हो भने विविध ग्रन्थ अनुसार अनगिन्ति व्रत छन् । व्रतराज, व्रतार्क, व्रतकौस्तुभ, हेमाद्रिव्रत, वार्षिकरत्नावली, संस्कारपद्दति इत्यादि ग्रन्थमा व्रतसम्बन्धी विस्तृत जानकारी पाइन्छ । भारतवर्षमा एकादशीव्रत, चतुर्मासव्रत; नेपाल महात्म्यमा कुमारी जात्रा, मत्स्येन्द्र भोटोजात्रा, विष्केटजात्रा, इन्द्रजात्रा सम्बन्धी अनेक व्रत प्रसिद्ध छन् । चार रात्रीव्रत, महालक्ष्मी व्रत, अन्नपूर्णा व्रत, हरितालिका तिज इत्यादि व्रत पनि उल्लेख्य छन् ।

सामान्यजनका लागि वेदानुसार आचरण गर्नु अत्यन्त कठिन थियो । कठिनाई दूर गर्ने हेतुले पुराणमा यस्तो व्रतवैकल्य बताइएका छन् । तिनलाई अनुशरण गर्नु सहज, सुलभ हुनुका साथै कर्ताको हित पनि छ । व्रतिले अनुष्ठानमा योग्यता राख्दछ । व्रतको महत्त्व विविध तथ्यका माध्यम स्पष्ट भयो ।
व्रतले कर्तालाई इन्द्रियनिग्रही, मनःसंयमी, मितआहारी, मितभाषी एवं सहिष्णु बनाउँछ । यसले कर्ताको सत्त्वगुण वृद्धि गराउँदछ । कार्तिकस्नान, आकाशदीपदान, चतुर्मासव्रत, व्रत उद्यापन, दान, निष्काम भावले गरिएको तीर्थयात्रा, उपोषण, यी सर्व कार्यले सत्त्वगुणमा वृद्धि गर्दछन् ।

भाग्यका कारण व्रत मनुष्यका लागि चौतर्फी दृष्टिले उत्कृष्ठ छ । यसले दुःख एवं आपत्ति नाश गर्दछ तथा सम्पत्ति, कीर्ति, यश, आयुआरोग्य इत्यादि लाभ हुन्छ । तुलसी अंकुरण, रोपण, पालन, अाकाशदीपदान, कार्तिकस्नान, तुलसी विवाह, उद्यापनका माध्यमले निजको भाग्योदय हुन्छ ।
पुण्य एक अलौकिक संपत्ति हो । मनुष्य जीवनमा पुण्यको महत्त्व एवं आवश्यकता अनन्य छ । पुण्यले नै मनुष्यलाई इच्छित फल, यश, कीर्ति, समाधान आदि प्राप्त हुन्छ । यी सबै व्रतबाट साध्य छ ।

यस्तो वचन छ कि ‘व्रत’ एक यज्ञ हो । यसैले व्रतले पर्जन्य, विश्वशांति, अखण्ड आत्मतृप्तिको लाभ हुन्छ । अधिकतर यज्ञविधिको फल के हो? मोक्ष प्राप्ति; मोक्ष प्राप्त गर्न व्रत गरेको हुनु पर्यो । व्रत विना यज्ञ सम्भव छैन । यज्ञ विना अनुष्ठान टुंगो लाग्दैन । यो कलीयुगमा तत्काल फल मिल्ने भएकोले सद्गति चाहनेवालाले राम्रो कर्म गरेको हुन्छ । भगवानको स्तुति गायन गर्दै परोपकारमा लाग्नु जति सरल र सुलभ मार्ग अर्को छैन । ऐतरेय ब्राह्मणग्रन्थमा बताइए झैं योग्य व्यक्तिबाट अर्पित वस्तु मात्र ठेगानमा पुग्छ ।

जसरी सही खाममा सही टिकट टाँसेर हुलाकबाट पठाइएको चिठी सही ठेगानामा पुग्छ उसै गरि कर्म गर्दा सही तरिका अपनाउनु पर्छ । पत्र मञ्जुषामा छिराउदैमा पत्र ठेगानामा जसरी पुग्ने हो उसैगरी गरेको कर्ममा योग्यता राख्नु पर्छ । अनि मात्र सही फल मिल्छ । अर्पण गरेको भाव टुंगोमा पुर्याउने सरल र सुलभ मार्ग व्रत हो व्रतले कर्ताको आात्म शुद्ध पार्ने भयो । ईश्वर सम्म पुग्न सक्षम तुल्याउने व्रत विधान चतुर्मासको अनुष्ठान हो । सत्त्वगुणी आहुतिले भगवान प्रसन्न भई कर्ता, उससँग सम्बन्धी, सो कार्यको प्रसाद, जल र वा मण्डपको दर्शन मात्र गर्न पाएको वा त्यस्ता कर्ताको स्पर्शमा आएका छन् यदि भने पनि तिनीहरू समेत सम्पूर्ण यज्ञफल प्राप्त गर्दछन् ।

जसले व्रत गरेन तर यज्ञ गरायो र शुद्ध सामग्री, ब्राह्मण र स्थलको उपयोग गर्यो भने ती ब्राह्मण, स्थल, पदार्थहरू शुद्ध नै प्रतिस्थापित भए भने हे नारद! कर्ताबाट लज्जित नहुनु । बरु आफैं आयोजक भएं भन्ने अठोटका साथ कर्म सम्पन्न गर्ने तर्फ लाग्नु । भगवानका सामु उही पुग्ने छ ।

यज्ञ गराएं भन्नु भन्दा श्रेय व्रत हो । जहाँ व्रत र यज्ञको आयोजना भइरहेको हुन्छ त्यस व्रति, सामग्री, स्थल अनि प्रसाद, जल पवित्र हुन्छन । शुद्ध जन समेत पवित्र र देवता तुल्य हुन्छन् । यही नै मोक्ष मार्ग हो । तुलसी राधा दामोदर भगवान श्रीकृष्णचन्द्र परमात्माको जय ॥

हरिःॐ ॥


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.