Nepal's No. 1 Digital Newspaper

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्ती , महाकवि देवकोटाको सम्झना

२९ कात्तिक, काठमाडौँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ।

नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो।

Order Now: 98510-87891

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।

सानै उमेरदेखि कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

नेपाली साहित्यमा उनी स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक पनि हुन्। देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।

२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन्।

तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो। भनिन्छ- उनी एकपटक लेखिसकेको सिर्जनालाई पुन: साफी गर्दैनथे।

“वीरहरू”

लक्ष्मीप्रसाद देवकोटा

तिनीहरूका पङ्ख थिए ।
अरू मान्छे घस्रिएर बसे ।
तिनीहरूको हृदयमा बिजुली थियो, देशको तुसारोले झिलिक्क झिल्केर उठ्यो ।
अरूहरू काँपे ।
तिनीहरू पोस्तछन् स्वर्गबाट– जहाँ तिनका हातमा अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन् ।
अरूहरूले माटो खेती गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन् ।

दुनियाँ तिनलाई आँसु लिएर युग–युगसम्म सम्झँदै रुँदो छ, किनकि हाम्रा परमेश्वरको चरणमा छिटो खुसीसँग चढेका स्वदेशी भाइहरू तिनै हुन् । हामी तिनकै झल्काले बाँचिरहेका छौँ, तिनीहरू नजिक हुनु हाम्रो आशाको चरम चुली छ ।

मृत्यु नै संसारको विशाल त्रास छ ।
हामी मर्दा स्वदेशी मुटु नकामेको देख्न चाहन्छौँ ।
नकाँप्नुमा हाम्रो जातिलाई विश्वासको स्थिरता छ ।
हामी आफ्नो स्वर्ग र ईश्वर सच्चा रहेछ भनेर शङ्का र त्रासहरू पन्साउँछौँ र हाम्रो मुटु अर्को युगसम्म सञ्चोसँग हाँस्न र खेल्न लाग्छ ।

वीर भनेको त्यो हो जो आफू सम्झँदैन ।
कीर्तिपिपासु बत्तीको झिल्के पुतली हो । स्वार्थनामेट नै वीरता हो । ‘म बहादुर हुँ’ को चैतन्य मानौँ आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु– जो यताउति हेर्दैन, पछाडि फर्कँदैन ! उसका पुँजीका काँट नै त्यस्तै छन् । उसलाई केन्द्रमा छोइदेऊ । बस, झिलिक्क झल्किहाल्छ अनन्तताको मोहनी, अमृतको बिजुली !

सच्चा वीरमा विश्वासको जादु हुन्छ ।
ऊ एक झिलिकमा पुरुखा देख्तछ ।
दुस्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको सच्चा टुना छ ।
ऊ ! आत्मा उचालियो ! खुट्टा पृथ्वीबाट उठे ।
समुच्च जीवन झल्कियो ।
उसले सत्य देख्यो ।
एकै निमेषभर पनि अनन्तको अमृत चाख्यो ।
अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ ।
ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ ।

हामी ऋणमा डुबिरहेछौँ ।
दूधको भारा तिर्न हिचकिचाउनु कातरता हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ?
के अनन्त साठी वर्षको रालसिँगानभन्दा पर छैन ?
उताको अनन्तता यताको बोक्रे झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट वञ्चित छन् ।
तर हाय ! एक अनन्तको झिलिमिलीले मलाई यतातिर तान्दछ ।
म उठ्नु एक विशाल मायाजालबाट मुक्ति पाउनु छ ! कातर आत्मा मान्दैन ! भोलिको पर्सिको होस नहुनु नै मेरो पार्थिवता हो ।
टाढाको नहुनु नै मेरो अन्धता हो ।
म खुम्चिन्छु ।
कम रोकावटको पथमा हार खाएर भागिरहन्छु ।
नजिकका क्षणहरू लोलाइरहन्छन् र क्षणलाई अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी देखाउँछु !

म किन झल्किनँ ?
के वीरलाई परमेश्वरले सुनौला मौका पठाइदिएका हुन्छन् ?
होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको भावना सग्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ ।
परमेश्वरले नदिएको होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुस्रो बनाएको र तिनका टुनामा ध्वाँसो हालेको हो ।

के अस्ति भैँचालो गएन ?
के एउटा केटाकेटी एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ?
मैले ती सुन्दर क्षणका आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको थिएँ ।
के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ?
त्यो पेटको भोको र आशाले वञ्चित ! मसँग धन थियो ।
ममा आत्मबल थिएन ।
ज्यान दिनुभन्दा सर्वस्व दिनु ठूलो कुरा हो र मलाई घिनलाग्दो लोलुपताले अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झुटो बोलेँ ! ममा वीरको ताज लगाउने जोश थिएन ।
म सत्यका निम्ति कति कम दान गर्न सक्तछु– सत्तरी रुपियाँको जागिर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झुटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्तछु ।
अनि मेरो मुटु किन नकाँपोस् ?

मलाई रुनै मन लाग्छ, कहाँ–कहाँबाट आँसु भुलभुलाएर आउँदछन्, जब म आफ्ना स्वदेशका वीरहरूको नाम सम्झन्छु । मलाई त्यस्तै हुन मन लाग्दो हो । म यो मट्टीधूसन जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ ।

नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्, तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन् ।

छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैँ, आँखा बन्द गरेर मुख उघारेझैँ सिँगानले र्‍यालधूसरता ! यहाँ के छ ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् ।

म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न चाहन्छु ! महको माखा हुन चाहन्नँ ।

(‘लक्ष्मी निबन्ध संग्रह’)


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.