Nepal's No. 1 Digital Newspaper

सन् १९९३काे ‘अ स्विटेबल ब्वाय’ : समीक्षा

२८ कार्तिक, एजेन्सी । सिरिजमा देशको राजनीति मात्र देखाइएको छैन । लताको बिहेलाई लिएर परिवार परिवारबीच हुने राजनीति पनि रोचक किसिमले प्रस्तुत गरिएको छ । मागी विवाहका अनेकन रमाइला पक्षहरु सिरिजमा देख्न सकिन्छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएपछि भारत र पाकिस्तान विभाजित भयो । हिन्दु बाहुल्यलाई भारत र मुस्लिम बहुमत क्षेत्रलाई पाकिस्तानमा छुट्याइयो । भारत स्वतन्त्र भयो, तर जमिन र मानिस विभाजित । यही विभाजनपछिको कथा समेटिएको सिरिज हो, ‘अ स्विटेबल ब्वाय’ ।

Order Now: 98510-87891

विभाजित मनोविज्ञान र त्यसले पारेको असर सिरिजमा देखाइएको छ । यो सिरिज सन् १९९३ मा प्रकाशित भएको विक्रम सेठको ‘अ स्विटेबल ब्वाय’ उपन्यासमाथि आधारित छ ।

काल्पनिक ठाउँ ब्रह्मपुरबाट लताको कथा सुरु हुन्छ । विश्वविद्यालयमा पढ्दै गरेकी १९ वर्षीया लता कवितामा रुचि राख्छिन् । खुल्ला विचारकी उनी सुन्दर छिन् । विश्वविद्यालयकै एक केटा कविरसँग प्रेम गर्छिन् । एकदिन उनले कविरको थर ‘दुरानी'(मुस्लिम) रहेको थाहा पाउँछिन् । मुस्लिम प्रेमीलाई आफ्नो हिन्दु परिवारले स्विकार्दैनन् भन्ने थाहा पाएपछि भाग्नसमेत आँट गर्छिन् । तर करियरमा गम्भीर कविरले भागेर जान मान्दैनन् ।

यता, आफ्नी छोरीका लागि ‘स्विटेबल ब्वोई’ अर्थात योग्य केटा खोज्दै गरेकी आमा रुपा कविरबारे थाहा पाएपछि रिसले चुर हुन्छिन् । लतालाई लिएर कलकत्ता जान्छिन् । त्यहीँ लताको ठूल्दाइ अरुणसँग बस्न थाल्छन् । छोरी सबिताको बिहेपछि रुपालाई लताकै चिन्ता छ । उनी हर समय छोरीका लागि केटा खोज्नमै व्यस्त । कविरबारे थाहा पाएपछि त उनले यसलाई आफ्नो काम बनाएकी छिन् । योग्य वर खोज्न दृढ छिन् रुपा । आफूले रोजेको केटासँग छोरीको बिहे हुनुपर्छ भन्ने उनको मान्यता छ ।

यता कलकत्तामा भाउजू मिनाक्षीले लतालाई आफ्नो भाइ अमित च्याटर्जीसँग भेट गराइदिन्छिन् । लन्डनमा पढेका अमित कवि हुन् । मिनाक्षी लताका लागि आफ्नो भाइ उपयुक्त ठान्छिन् । र, उनी दुईलाई एक बनाउन चाहन्छिन् । तर रुपा अमितलाई मन पराउँदैनन् । लताको लागि अर्कै केटासँग कुरा गर्छन् । जुत्ता बनाउने कम्पनीका म्यानेजर हरेससँग भेटेपछि रुपा लताका लागि हरेस नै योग्य ठान्न थाल्छिन् । लताले हरेसलाई भेट्छिन् । उसको अफिसदेखि घर पनि हेर्छिन् । अमितसँग पनि उनको हिमचिम बढ्न थालेको हुन्छ । तर, उनको मनमा अझै कविरको लागि माया छ । कविरलाई भुल्न सकेकी छैनन् लताले ।

अब लताले कविर,अमित र हरेसमा को रोज्लिन्, उनका लागि स्विटेबल(योग्य) को ठहरिएला ? सिरिजका प्लट यहीमाथि उनिएको छ । लता सँगैसँगै सिरिजमा मानको कथा अघि बढ्दै जान्छ । सम्बन्धमा मान लताको भिनाजुका भाइ हुन् । मान आफ्नै तरिकाले जीवन जिउन रुचाउँछन् । राजनीतिज्ञ महेश कपुरका छोरा हुन् मान । बुवा महेश कपुर जमिन्दारी प्रथा हटाउन चाहन्छन् । धर्मनिरपेक्ष भारत बनाउन चाहन्छन् । राजस्वमन्त्री हुन् महेश । मानको एक मिल्ने साथी छन् फिरोज । फिरोज मुस्लिम हुन् । मस्जिदको अगाडि मन्दिर बनाएको विषयमा हिन्दु मुस्लिमबीच दंगा भइरहँदा उनीहरुको सम्बन्धमा तिक्तता देखिँदैन । दुवैका बुवा पनि एकअर्काका मिल्ने साथी ।

होलीको दिन सइदा बाई(तब्बु)को प्रस्तुति सुनेपछि मान उनीतर्फ नतमस्तक हुन्छन् । सइदा यौनकर्मी हुन्छिन् । सइदालाई खोज्दै उनी बस्ने ठाउँसम्म पुग्छ मान। आफू भन्दा उमेरमा ठूली सइदासँग प्रेम गर्न थाल्छन् । सइदाले पनि आफ्नो ‘दाग साब'(मानलाई दिएको नाम)लाई खुबै प्रेम गर्छिन् । बिस्तारै उनी दुईको प्रेम एकान दुई कान मैदान हुन थाल्छ । बुवा महेशले पनि मान र सइदाबारे खबर पाउँछन् । मान सइदाबाट टाढा होस् भन्ने चाहन्छ । त्यसैले आफूले उठ्दै गरेको निर्वाचन क्षेत्रमा मानलाई लिएर जान्छ । के सइदा र मानको प्रेम त्यही टुङ्गिन्छ ? त्यो भने सिरिजका ६ श्रृङ्खला हेरेपछि नै थाहा हुनेछ ।

प्रेम र मित्रताको कथा कपुर, मेहेरा, च्याटर्जी र खान चार परिवारको वरपर नै घुमेको छ । यी चार परिवारका प्रत्येक पात्र समाजमै अझै भेटिन्छन् । यी चार परिवार प्रेम र मित्रताको सम्बन्धमा गाँसिएका छन् । उनीहरुका परिवारमा आउने आरोह अवरोहले सिरिजमा दर्शकलाई जोडेर राख्छ । मिरा नायर निर्देशित यस ‘मेलो ड्रामा’मा त्यो बेलाको परिवार, संस्कृति र देशको राजनैतिक अवस्थालाई चित्रण गरिएको छ । जसै प्रमुख दुई पात्रको जीवनमा समस्या उत्पन्न हुन्छ देशमा हिन्दु मुस्लिमबीचको मतभेद/लडाईं चर्किँदै गएको देखाइएको छ । अर्थात यी दुई आफ्नो भविष्यका लागि संघर्ष गर्दै गर्दा बाहिर देश पनि नयाँ स्वरुपको लागि संघर्षरत नै देखिन्छ ।

मान र फिरोजको मित्रतालाई हिन्दु र मुस्लिम मित्रताको रुपमा देखाइएको छ । दुई धार्मिक संगठनका मानिसबीच झगडा भइरहँदा मान र फिरोज भने एकअर्काका लागि खडा हुन्छन् । उनी दुईको मित्रताले वर्तमान अवस्थामा रहेको हिन्दु मुस्लिमबीचको मतभेदलाई चुनौती दिइरहेको जस्तो लाग्छ । यद्यपि त्यो बेलाको हिन्दु मुस्लिमबीचको लडाईं आज पनि यथार्थ परक लाग्छ । उस्तै छ चुनावी प्रचारबाजी पनि ।

सिरिजमा देशको राजनीति मात्र देखाइएको छैन । लताको बिहेलाई लिएर परिवार परिवारबीच हुने राजनीति पनि रोचक किसिमले प्रस्तुत गरिएको छ । मागी विवाहका अनेकन रमाइला पक्षहरु सिरिजमा देख्न सकिन्छ । लताकी आमा रुपासँग भेट गर्दा उनीसामु आफ्नो प्रमाणपत्र पेस गर्छन् हरेसले । लतालाई चिठ्ठी लेख्न उनकी आमासँग हरेसले अनुमति माग्छन् । त्यो बेलाको समाज देखाएको छ सिरिजमा । चिठ्ठीबाट हुने संवाद रोमाञ्चक लाग्न सक्छ ।

लताका लागि बिहे नै ‘भविष्य’, ‘सबथोक’ भन्ने समाज र परिवारको मानसिकता आजको समाजमा पनि फरक भेटिन्न । त्यसैले पनि दर्शकले पात्रहरुसँग निकटता पाउँछन् । सिरिजका श्रृङ्खला स्लो छन् । त्यसैले दर्शकलाई बाँधिरहन सक्दैन । सेगल(काका)ले लतालाई गरेको दुर्व्यवहारको दृश्य हटाए पनि सिरिज अगाडि बढ्ने देखिन्छ । उक्त दृश्यले प्रमुख प्लटलाई खासै साथ दिएको देखिँदैन । एन्ड्र्यू डेभिजले सिरिजका पटकथा लेखेका हुन् ।

‘मेलो ड्रामा’ हेर्न रुचाउनेका लागि यो सिरिज ‘स्विटेबल’ हुन सक्छ । सिरिज सबैभन्दा सशक्त पक्ष यसमा प्रयोग भएको पार्श्व संगीत हो । ‘मुझे बुरा कहिए’, ‘मेहफिल बर्खास्त हुई’, ‘दिल ए नादान’लगायतका गजल संगीत मन छुनेछन् । सिरिजमा पात्रहरु थुप्रै छन् । सइदा बाईको भूमिकामा देखिएकी तब्बुको अभिनय गजब्ब लाग्छ । उनले सइदा बाईको भूमिकालाई स्क्रिनमा जीवन्त बाँचेकी छिन् । लताको भूमिकालाई तान्या मनिक्तलाको अभिनयले पनि सार्थक बनाएको छ । उनको अभिनयले चरित्रलाई न्याय दिएको छ ।

इसान खट्टरले मानको भूमिकामा आफ्नो अभिनय कुशलता देखाएका छन् । त्यस्तै आफ्नो छोटो भूमिकामा पनि तारिफलायक अभिनय गरेका थिए विजय वर्मा(रसिद) र रणवीर शौरी(वारिस)ले । रुपाको भूमिकामा देखिएकी महिरा कक्कड, राम कपुर(महेश), मिखेल सेन(अमित), दनेश राजवी(कविर)को अभिनय पनि दर्शकले सम्झिरहने छन् । बीबीसी

Tag #’मेलो ड्रामा’ #’मुझे बुरा कहिए’ #’भविष्य’



तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.