Nepal's No. 1 Digital Newspaper

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

२३ कार्तिक, दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको तस्बिर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका ५ को मानहुँकोट डाँडा पुग्छन् ।  आन्तरिक पर्यटक सङ्ख्या दसैँयता ह्‌वात्तै बढेको छ । दसैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन्  । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

Order Now: 98510-87891

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई/तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दसैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ,” उनले भने । 

मानहुँकोट पुग्‍ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँ जाम लागेको थियो । चापाघाटबाट ६ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सन्जालमा मानहुँकोट ‘कोरोना फ्री जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ । 

घुम्‍न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्‍न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्‍ने अवस्था छैन । सकभर कमै हिँड्नुस्,” उनले भने ।

तनहुँका विभिन्‍न स्थानसँगै कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवनलगायत जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । रासस


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.