Nepal's No. 1 Digital Newspaper

बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली

१४ कात्तिक, काठमाडौं । स्वास्थ्य मन्त्रालयकै तथ्यांक भन्छ– कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर सर्वसाधारण बिरामीले भर्ना पाएका छैनन् । 

Order Now: 98510-87891

  • देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन्् । तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक छ । 
  • अस्पतालहरूले कोभिड संक्रमितका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् । फेरि पनि बिरामीलाई किन फिर्ता पठाइन्छ त ? व्यवस्थापन, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय उल्टै लाचारी प्रकट गर्छ ।
  • ‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बिरामीभन्दा केही संख्यामा बेड खाली देखिन्छन् । प्रभावकारी सफ्टवेयरको व्यवस्था नहँुदा अस्पतालहरूले बेडसंख्या लुकाउने गरेका पनि हुन सक्छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘मन्त्रालयले अस्पतालहरूको अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको हो ।’
  • स्वास्थ्य मन्त्रालयबाट प्राप्त बिहीबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ । टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् । बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली छन् । शिक्षण अस्पतालमा १३२ बेडमध्ये १०२ मा, वीर अस्पतालमा ४६० मध्ये जम्मा १०१ मा र सशस्त्र प्रहरी अस्पतालमा २०० मध्ये १११ मा संक्रमितको उपचार भइरहेको छ । 
  • आर्मी अस्पतालमा कोभिड उपचारका लागि १०० बेड छन्, तर जम्मा ४६ बिरामी भर्ना भएका छन् । नेपाल प्रहरी अस्पतालमा कोभिड उपचारका लागि ४१४ बेड रहेकोमा जम्मा १५५ संक्रमितको उपचार भइरहेको छ ।
  • धुलिखेल अस्पतालमा १०० मध्ये ४९ बेड खाली छन् । ग्रान्डी अस्पतालमा ५० मध्ये २४, ह्याम्स अस्पतालका ७० मध्ये ५५ र मेघा अस्पतालमा १०० मध्ये २० बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ । यसरी कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर बिरामीले भर्ना पाएका छैनन् ।  
  • स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार १७८ वटा आइसोलेसन बेड छन् । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुग्दा ३१ हजार आठ सय ९८ संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकले देखाउँछ । जम्मा सात हजार ५४ मात्रै स्वास्थ्य संस्थाको बेडमा छन् । यसरी देशभर १३ हजार १२४ आइसोलेसन बेड खाली छन् । तर, आपत पर्दा बिरामीले उपचार पाएका छैनन् ।
  • तथ्यांकमा बेड खाली देखिने, तर संक्रमितले भर्ना नपाउने विषयमा स्वास्थ्य मन्त्रालयले पटक–पटक छलफल गरेको प्रवक्ता गौतमले बताए । ‘पछिल्लोपटक सबै अस्पतालका निर्देशकहरूलाई बोलाएरसमेत निर्देशन दिइएको हो । उनीहरूले अस्पतालमा कर्मचारी अभाव, व्यवस्थापनमा समस्याजस्ता बहाना देखाएर पन्छिने गरेका छन् । जसले गर्दा समस्या अझै उस्तै छ,’ उनले भने । क्षमताअनुसार बिरामी भर्ना नगर्ने अस्पतालमाथि मन्त्रालयले कारबाहीसमेत गर्न नसकेको प्रवक्ता गौतमको भनाइ छ । 
  • चिकित्सकहरूका अनुसार दैनिक संक्रमितको संख्या बढ्न थालेपछि आइसियू र भेन्टिलेटरको माग पनि बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर नौ सय ५९ आइसियू र चार सय १५ भेन्टिलेटर छन् । बिहीबार तीन सय चारजना आइसियू र ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
  • विशेषगरी उपत्यकामा आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका अस्पतालमा दुई सय ४१ आइसियू र एक सय सातवटा भेन्टिलेटरको क्षमता छ । सरकारी अस्पतालमा एक सय २४ र निजीमा एक सय १७ आइसियू छन् । अस्पतालहरूले आइसियू र भेन्टिलेटरमा चाप धेरै रहेकाले बिरामीले चाहनेबित्तिकै भर्ना सम्भव नहुने बताइरहेका छन् । 
  • काठमाडौंको सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले सबै बेड भरिएको दाबी गरे । तर, स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा भने सातवटा आइसोलेसन बेड र एक भेन्टिलेटर खाली रहेको उल्लेख छ । त्यस्तै, शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अहिले सबै बेड भरिएको बताए । तर, अस्पतालले स्वास्थ्य मन्त्रालयलाई बिहीबार अपडेट गराएको तथ्यांकमा भने ३० आइसोलेसन बेड र एक भेन्टिलेटर खाली रहेको उल्लेख छ । ‘हामीले मन्त्रालयलाई तथ्यांक पठाउँदा शंकास्पदको संख्या समावेश नगरेका कारण बेड खाली देखिएका हुन् । कोभिड आशंका गरिएका र पुष्टि भएका केसहरूसमेत रिपोर्ट नआउँदासम्म राखेका कारण बेड भरिएका छन्,’ उनले भने । 
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्यका अनुसार बिहीबार आइसियूका १५ बेडमा बिरामी छन् । तीनवटा बेड संक्रमितको नियमित डायलाइसिसका लागि राखिएको छ । आइसोलेसनका बेड भने खाली रहेकाले सामान्य अवस्थाका संक्रमितलाई सजिलै भर्ना गर्न सकिने डा. शाक्यले बताए । 
  • वीर अस्पतालमा भने बिहीबार साँझसम्म दुईवटा आइसियू बेड खाली छन् । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले आइसियू पाउन निकै कठिन भएको बताए । ‘अचेल आइसियू–भेन्टिलेटर एक मिनेट पनि खाली हुँदैनन् । आइसियूबाहेकका बिरामी भने सजिलै भर्ना गर्न सकिन्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयले वीरलाई हालै मात्र कोभिड अस्पतालका रूपमा सूचीकृत गरेकाले धेरै संक्रमित भर्ना भएका छैनन् । 
  • ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले अस्पताल कोभिड मात्रै नभएर अन्य सबै बेडसमेत बिरामीले भरिएको बताए । ‘बिरामी आएपछि मानवताको नाताले पनि उपचार गर्नुपर्छ, जसले गर्दा अस्पतालमा बेड खाली छैनन् । हामी आफैँले पनि बेड नपाउने अवस्था आएको छ,’ उनले भने । 
  • पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६९ नमुना परीक्षण गर्दा दुई हजार तीन सय ६४ जनामा संक्रमण देखिएको छ । यो अवधिमा १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ३८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमण देखिएका एक लाख ६४ हजार सात १८ जनामध्ये एक लाख २४ हजार आठ सय ६२ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

‘होम आइसोलेसन’मा ३५ संक्रमितको मृत्यु

– बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो । अस्पतालमा आइसियू र भेन्टिलेटरको अभावले बेहोस नहुँदासम्म बिरामीलाई अस्पताल नजान सरकारले अनुरोध गर्दै आएको थियो । सरकारको सोही निर्णयको पालना गरी अन्तिम अवस्थामा भेरी अस्पताल नेपालगन्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

– सुनसरीको धरानमा होम आइसोलेसनमा बसेका ७० वर्षीय एक पुरुषको २६ असोजमा मृत्यु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । तर, बिपी कोभिड अस्पतालमा बेड अभाव भएका कारण उनलाई घरमै राखिएको थियो । 

– गत जेठ २० मा डोल्पाका एक ५८ वर्षीय पुरुषको निधन भयो । अस्पतालमा बेड नपाएपछि उनी होम आइसोलेसनमा बसेका थिए । चिकित्सकको निगरानी नपाउँदा उनको मृत्यु हुन पुग्यो । 

– गुल्मीका ६९ वर्षीय पुरुषको ४ असारमा मृत्यु भयो । भारतबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भए पनि उनलाई कोरोनाको त्रासका कारण अस्पताल भर्ना नगरी घरमै राखिएको थियो, घरबाटै स्वाब संकलन गरिएको थियो । अस्पतालमा बेड नपाउँदा होम क्वारेन्टिनमै उनको मृत्यु भयो ।

कोरोना संक्रमितले अस्पतालमा बेड नपाएर घरमै ज्यान गुमाएका यी प्रतिनिधि घटना मात्रै हुन् । बुधबारसम्म होम आइसोलेसनमा रहेका ३५ संक्रमितको मृत्यु भएको छ । घरमै मृत्यु हुनेहरू चारदेखि एक सय आठ वर्षसम्मका छन् । समयमा उपचार पाउन सकेको भए उनीहरूमध्ये धेरैको ज्यान बच्न सक्थ्यो । 

कोरोना भाइरसले फोक्सोलाई तीव्र गतिमा क्षति पु¥याउने भएकाले संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुन्छ । चिकित्सकका अनुसार यस्तो अवस्थामा तत्काल आइसियू–भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुन्छ । तर, अहिले अस्पतालमा यस्तो सेवा पाउन निकै कठिन छ । 

संक्रमित बढ्दै गएपछि सरकारले बेहोस भएको खण्डमा वा पिसाब रोकिएको अवस्थामा मात्रै अस्पताल आउन निर्देशन जारी गरेको छ । जसले गर्दा होम आइसोलेसनमा बस्नेको संख्या पनि बढिरहेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म नौ सय चारजनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये करिब ६५ प्रतिशत वृद्धवृद्धा छन् । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आइसियूभन्दा पनि कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको बताए । उनका अनुसार अक्सिजनको मात्रै सपोर्ट दिन सकेको खण्डमा धेरै व्यक्तिलाई बचाउन सकिन्छ । 

देशभर एक सय २५ सरकारी र निजी क्षेत्रका तीन सय ३६ गरी जम्मा चार सय ६१ अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा २७ हजार मात्रै बेड रहेको छ । जसमध्ये सात हजार मात्रै सरकारी अस्पतालमा उपलब्ध छ । याे समाचार नयाँ पत्रिका दैनिक छ। 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.