Nepal's No. 1 Digital Newspaper

अभिजात मगज

२६ असोज, काठमाण्डौं । 

म हुँ,
एक्काइसौं शताब्दीको आरन

Order Now: 98510-87891

उहिले उहिले
मेरा बाजेहरू
यही आरनमा फलाम पगाल्थे
अर्जाप्थे भुत्ते भुत्ते हातहतियारहरू

जब आरन खोज्दै खोज्दै
आइपुग्यो विज्ञान-प्रविधि मूल थलो

अहिले म मगज पगाल्छु
भुत्ते भुत्ते मगजहरू अर्जाप्छु

म एक्काइसौं शताब्दीको आरन
काँजो हल्लेका/ काँजो फुत्केका
दाँती हल्लेका / दाँती फुत्केका
बिँड फुत्केका / बिँड फुटेका
नयाँ , पुरानो, नवजात
सबै सबै मगजहरू गरिरहन्छु मर्मत

एक दिन आरनमा
आयो एउटा जीर्ण मगज
हेरें – ओल्टाई पलटाई खुब

मगजै भरि,
टाँसिएका थिए प्राचीन काईहरू
टुसाएका थिए खिया माथि खिया

जीर्ण मगजलाई,
पगालें एकछिन आरनमा
घन, मैरीले पारें ठोकठाक
लगाएँ भुत्ते मगजमा रेत
डुबाएँ एकछिन समभावको पाइनमा

जब पूर्ण मर्मत भयो जीर्ण मगज
जोडजोडले गाउँन थाल्यो रामनामको भजन

मेरै छेउको भोटे ताल्चा हेर्दै
मगजले टक्टक्यायो आरनको धुलो
र,भजन गाउँदै उक्लियो अभिजात उकालो

फिस्स हाँस्यो आरन…
र, लाग्यो अर्जाप्न अर्को अभिजात मगज

              ****
  • कृष्ण विश्वकर्मा, भरतपुर-११, चितवन
    हाल : आबुधाबी, संयुक्त अरब इमिरेट्स

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.