Nepal's No. 1 Digital Newspaper

के हो मंगलचौथी व्रत र यसको धार्मिक महत्व कस्तो रहेको छ?

१९ असोज, काठमाडौं । मिति २०७७ साल असोज २० गते मंगलबार अधिक आश्विनकृष्णपक्ष मंगलचौथी व्रत तिथि प्रात : ९ : २४ वजेसम्म त्यस उप्रान्त पंचमी तिथि आरम्भ यो दिन गणेशचतुर्थी भएको हुनाले हामीहरुले बुझ्नु जरुरि छ !

खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् । दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।।

Order Now: 98510-87891

अर्थात् – जो होचो र मोटो शरीर भएको हुनुहुन्छ, जसको गजराजको जस्तै अनुहार र लामो भुँडी छ, जो सुन्दर देखिनुहुन्छ तथा मदको सुगन्धले लोभिएका भँमराले चाट्नाले जसको गण्डस्थल चञ्चल हुँदैछ, दाँतको चोटले विदीर्ण भएका शत्रुगणको रक्तद्वारा सिन्दूर झैं शोभा धारण गर्नुहुने, कामनाका दाता एवं सिद्धि प्रदान गर्नुहुने पार्वतीपुत्र गणेशको म वन्दना गर्दछु ।

हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ। गणेशको चर्चा वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र भेटिन्छ। भगवान् गणपति मङ्गलकारी शुभफलप्रदाता र अमोघ लाभदाता हुन्। यिनको पूजाबाट भक्तका समस्त सङ्कट र कष्ट समाप्त हुन पुग्छन्।

भगवान गणेश चतुर्थी तिथिका दिन प्रकट भएका थिए। गणेशजी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको संयोग थियो। त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अतीव महत्त्वपूर्ण तिथिका रूपमा लिइएको हो। मङ्गल चौथीलाई ‘मङ्गलचतुर्थी’ र ‘अङ्गारकी चतुर्थी’ पनि भन्ने गरिन्छ। ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको मान्यता छ।

त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिवस मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गर्ने परम्परा पनि विद्यमान छ। मङ्गल ग्रहको उत्पत्ति पृथ्वीबाट भएको हो। पृथ्वीको सन्तान भएकाले मङ्गल ग्रहलाई भौम पनि भनिन्छ। मङ्गलबार र मङ्गलग्रहका अधिदेवता भगवान् गणेश नै हुन्। त्यसैले भगवान् गणेशको जन्मतिथि चतुर्थी मङ्गलबार पर्दा यो दिन अझ महत्त्वको हुन गएको हो। भगवान् गणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसैत जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन्। कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पाइन्छ। कथाका अन्तर विषयमा भिन्नता देखिएपनि तिनले यस दिनको महत्तालाई नै उपस्थापन गरिएको प्रसङ्गमा भने समानता पाइन्छ। यस बारेमा प्राप्त बेग्लाबेग्लै कथावृत्तान्तको सार तत्त्व निम्नानुसार छ –

गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइए बमोजिम गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो। प्रत्येक वर्ष यस दिनलाई ‘गणेश चौथी’ भनेर मान्ने गरेको पाइन्छ। सामन्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ। भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, पौराणिक ग्रन्थमा मङ्गल ग्रहलाई पृथ्वीको छोराका रूपमा लिएको पाइन्छ।

कथाबमोजिम भारद्वाज मुनि र पृथ्वीका पुत्र मङ्गलको जन्म चतुर्थी तिथिमा नै भएको थियो भने उनले सिद्धि प्राप्त गरेको दिन पनि चतुर्थी तिथि नै थियो। मङ्गल ग्रहको जन्मपछि उनले आँफुले ज्ञान, सिद्धि र प्रतिष्ठा प्राप्त गर्न कठिन तपस्या गरे। उनको उक्त प्रयासबाट भगवान् गणेश प्रसन्न भए र मङ्गल ग्रहले गणेशजीबाट वरदान पाए। यसरी मङ्गल ग्रहले गणेशजीको दर्शन पाएको र वरदान प्राप्त गरेको दिन माघ कृष्ण पक्षमा पर्ने चतुर्थी तिथि थियो।

त्यस दिन ग्रह एवं नक्षत्र जसका अंश हुन्, ती गजानन गणेशको वरदानबाट मुनिकुमार मङ्गललाई मङ्गल ग्रहका रूपमा आकाशमण्डलमा विशिष्ट स्थान प्राप्त भयो। भगवान् गणेशले मङ्गल ग्रहलाई आशीर्वाद र वर दिंदा भनेका थिए ‘मङ्गलबार र चतुर्थीको संयोग भएको दिन जसले श्रीगणपतिको अनुष्ठान र भक्ति गरी व्रत लिन्छ उसका समस्त कष्ट एवं विघ्न समाप्त हुनेछन् र उनको महत्त्व अझ बढ्ने छ’। एउटा अर्को कथासन्दर्भ अनुसार भगवान शङ्करले गणपतिसित प्रसन्न भई प्रत्येक मङ्गल चतुर्थीका दिन चन्द्रमा ‘मेरो सिरबाट सरेर तिम्रो सिरमा सुशोभायमान हुनेछन्’ भनी वर प्रदान गर्नु भएको थियो। त्यसैले मङ्गलचौथी वा अङ्गारकी चतुर्थी परेको विशिष्ट दिनमा श्रीगणेशको उपासना र व्रत सम्पादन गर्नाले व्यक्तिमा जानीनजानी अर्जित र सञ्चित हुन पुगेका कायिक, वाचिक र मानसिक तीनै किसिमका पापको नाश हुनुका साथै त्यस्ता तीनै खालका तापको हरण समेत हुने गर्दछ।

यस तिथिका दिन जसले श्रद्धाभक्तियुक्त भई नियमनिष्ठापूर्वक श्रीगणेशको पूजा गर्दछ उसले मनोवाञ्छित फल प्राप्त गर्दछ, साथै सन्तान नहुने दम्पत्तिले सविधि गणेशजीको उपासना गर्दा सन्तति लाभ गर्दछ भन्ने आशीर्वाद भगवान् शिवबाट प्राप्त भएको कथाको सन्दर्भ पनि मङ्गलचौथीकै महात्म्य उल्लेख गर्दा बताउने गरिन्छ। माथि उल्लेखित विभिन्न सन्दर्भले समेत मङ्गल चौथीको वैशिष्ट्यलाई उजिल्याएको देखिन्छ। त्यसैले भगवान् श्रीगणेशका भक्तहरू प्रत्येक चतुर्थीका दिन अति श्रद्धाका साथ व्रत लिने गर्दछन्।

कतिपय भक्तहरूले महिनै पिच्छे शुक्लपक्षको र कतिले कृष्णपक्षको चतुर्थीका दिनलाई बढी महत्त्व दिने गरेको पाइन्छ। कृष्णपक्षको चन्द्रोदयरहित चतुर्थीलाई पापनाशक चतुर्थी र शुक्लपक्षको चन्द्रोदययुक्त चतुर्थीलाई संकष्टी चतुर्थी भनिन्छ। धर्मग्रन्थहरूमा चतुर्थीका दिन विधिवत् व्रत गर्नाले मङ्गलमूर्ति श्रीगणेश तत्काल प्रसन्न हुनुहुन्छ र यस दिन मङ्गलबार परेको बेला विधिवत् व्रत सम्पादन गर्नाले वर्षभरिका चतुर्थीको व्रतको सम्पूर्ण पुण्य प्राप्त हुन्छ भनेर बताइएको छ।

मङ्गल चौथी भगवान् गणेशको आराधना गर्ने पवित्र दिन हो । यस दिन प्रात:कालमा स्नानादिबाट निवृत्त भई पवित्र वस्त्र धारण गरेर भगवान् श्री गणपति सहित भगवान् शिव र माता पार्वतीको पूजा गर्ने चलन छ। त्यस दिन भगवान् गणेशको प्रसन्नताका निम्ति यस दिन दिनभरि भजन कीर्तन गर्ने र श्रीगणेश स्तोत्र र गणेशको आरती गरिन्छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.