Nepal's No. 1 Digital Newspaper

स्थगित एसईई – शिक्षकको परीक्षा

रमेश बाबु रेग्मी

२९ जेठ, काठमाडौ । सरकारले ढिलै भएपनि एसईई परीक्षा स्थगित गरी सही निर्णय गरेको छ । गत चैत्र ६ गते देखि हुनु पर्ने एसईई  परीक्षा कोरोनाको कारण स्थगित भई ४ लाख ८० हजारभन्दा बढी विद्यार्थीहरु अन्योलको भुमरीमा रही राखेका थिए ।

सरकार अनिर्णयको बन्दी बन्दा विद्यार्थीहरु विविध मनोवैज्ञानिक त्रासका बिच परीक्षाको तयारीमा लागेका थिए ।

Order Now: 98510-87891

सरकारले कोरोना भाइरसको कारण देखाई यो वर्षको एसईई मात्रै स्थगित गरेको निर्णय गरेको छ, तर अबका वर्षहरुमा पनि नहुने गरी यो परीक्षा सधैंका लागि नै खारेज गर्नु पर्छ ।  उक्त परीक्षामा उपयोग गर्ने  स्रोत-साधन सम्पूर्ण विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा शिक्षण गर्न सक्ने बनाउन खर्च गर्नुपर्छ। त्यति मात्रै होइन  कक्षा ११ लगायत  विश्वविद्यालय तहका अन्य सेमेष्टर परीक्षाहरु लाई पनि स्थगित गरी अनलाईनका माध्यमबाट पढाइ सुचारु गर्नुपर्छ ।

ढिलै भएपनि सरकारले एक पटक शिक्षकहरूको क्षमता माथि  विश्वास गरेको देखाएको छ । यसमा सरकारलाई मात्रै दोषी नदेखी शिक्षकहरुले पनि आफुले आफ्नो पेशा प्रति कतिको न्याय गर्न सकिएको छ भनी  आत्मा मूल्यांकन गर्नु पर्ने देखिन्छ । विभिन्न सामाजिक सञ्जालहरुमा समेत सरकारी तथा निजी विद्यालयका शिक्षकहरु माथि निम्न प्रकारका आरोपहरु लागेको देखिन्छ।

आफ्नो शिक्षण अवधिको वा  कार्यालय (१०-४ बजेसम्म) समय पनि इमानदार भएर विद्यालयलाई नदिने, विद्यालयमा भरसक कम उपस्थित हुने, उपस्थित भएका बेलामा पनि कक्षामा ढिलो जाने र छिटो निस्कने; गृहकार्य नदिने, दिए पनि भरसक नजाँच्ने, जाँचे पनि पृष्ठपोषण नदिने, पढाउनु पर्ने पाठको पूर्व तयारी नगर्ने, विद्यार्थीको मूल्याङ्कन कम गर्ने वा गर्दै नगर्ने, पढाउन आलटाल गर्ने र परीक्षामा चोराउने, चोराउन लगाउने, ठूला-ठूला सैद्धान्तिक गफ गर्ने तर पढाउन साँच्चै इमानदार प्रयास चाहिने अवस्थामा यो भएन र त्यो भएन भनी समस्याको पहाड ठड्याएर कामबाट पन्छिने, कमजोर विद्यार्थीमा सिकाइ केन्द्रित गर्नुपर्छ भन्ने नठान्ने, आफू पनि राम्रो गर्न नखोज्ने, राम्रो गर्न खोज्ने सहकर्मीलाई पनि खिस्याउने; वर्षेपिच्छे तालिम लिने, तालिमका लागि तँछाड मछाड गर्ने, तालिमको भत्ता र तालिमका प्रमाण-पत्र बटुल्ने तर तालिमको सिकाइ तालिम हलमै छोडेर स्कूल फर्किने, तालिमबाट केही सिकेको भए पनि त्यो सिकाइ आफ्नो कक्षा अध्यापनमा प्रयोग नगर्ने, आफ्नो स्थानमा खेताला खटाउने, महिनाको अन्तिममा गई महिनाभरिको हाजिरी मिलाउने, आफ्ना कमजोरी सुधार्नुको सट्टा  समस्याको सामान्यीकरण गर्ने’ ।

यसै गरी निजी विद्यालयका शिक्षकहरूलाई पनि विद्यार्थीलाई जीवनका लागि नभई जाँचका लागि तयार गर्ने र बोइलर कुखुरा जस्ता विद्यार्थी उत्पादन गर्ने  जस्ता आरोप  लाग्ने गरेका छन् ।  विद्यार्थीमा सृजनात्मकताको विकास गर्नुभन्दा घोक्न – कण्ठ गर्न र धेरै अङ्क प्राप्त गरी जाँच पास गर्नका लागि मात्र  शिक्षण गर्ने गरेको आरोप लाग्ने गरेको पाइन्छ।  

त्यति मात्र होइन आफ्नो व्यापार व्यवसाय वृद्धि गर्नका लागि धनको अनैतिक चलखेल गरी आफ्नो विद्यालयको परीक्षाफल उत्कृष्ट देखाउन लागि परेको आरोप समेत निजी विद्यालयहरू माथि लाग्ने गरेको छ । यसपटक स्थगित भएको परीक्षाले निजी विद्यालयहरुले  पछिल्लो आरोपबाट त मुक्ति  पाउन  तर अन्य विभिन्न पेसागत इमान्दारिता प्रति लागेका आरोपमा कसरी खरो रुपले उत्रिन सक्छन् भन्ने कुरा हेर्न बाँकी नै छ। 

कुनै पनि शिक्षकको सफलता अथवा असफल तत्काल परीक्षामा  उसको विद्यार्थीले प्राप्त गरेको अङ्क सँग मात्र तुलना गरिनु हुँदैन।  उक्त शिक्षकले शिक्षण गरेका विद्यार्थीहरु माथिल्लो तहमा पुग्दै गर्दा सम्बन्धित विषयमा प्राप्त गरेको प्राप्ताङ्क  लगायत उक्त शिक्षकले शिक्षण गरेका विषय वस्तुलाई विद्यार्थीले दैनिक जिबनमा कसरी प्रयोग गर्यो भन्ने कुरासँग जोडेर हेर्न  सकियो भने शिक्षकको सही मूल्याङ्कन भएको भएको ठहर्छ।

शिक्षकहरु  फेरि एकपटक न्याय र इमान्दारिताको परीक्षामा  उभ्याइएका छन् । यसमा उनीहरुले आफ्ना विद्यार्थीहरुलाई क्षमताका आधारमा मूल्यांकन गरी अङ्क प्रदान गर्न पाउने अवसर प्राप्त गरेका छन्। यस पटकको एसईई  परीक्षामा सम्बन्धित विषय शिक्षकले प्रदान गरेको  अंकले  भोलि त्यस विद्यार्थीको वास्तविक क्षमतालाई  प्रतिबिम्बन गर्न सकेन भने सम्पूर्ण शिक्षक जगतले यसको ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.