Nepal's No. 1 Digital Newspaper

उधारो समृद्धि

२७ बैशाख, काठमाडाै । एउटा गैरसरकारी संस्थाको गाडि शहरको एक टोलको ढाई तल्ले घर अगाडि आएर टक्क रोकियो। संस्थाको कार्यालयमा यही ठेगाना टिपाइएको थियो तर यो टोलमा सबै राम्रा घरहरू मात्र देखिन्थे। हेर्दा यो टोल समृद्ध देखिन्थ्यो। यस्तो समृद्ध टोलमा कसले भोकै छु भनेर खाना मगाएको होला? खाना पुर्‍याउन आएका कर्मचारीलाई अचम्म लाग्यो।

यही सोच्दै कर्मचारीले आफ्नो कार्यालयमा टिपाइएको फोन नम्बरमा फोन गरे, जुन नम्बरबाट आधा घण्टा अघि मात्र खानाको लागि अनुरोध गर्दै कार्यालयमा फोन आएको थियो।

Order Now: 98510-87891

कर्मचारीले फोन गर्दै भने- हजुर, हामी खाना लिएर घर नं. १०१ को गेट बाहिर उभिएका छौं। खाना दिन कहाँ आउनु पर्छ, कृपया बताई दिनोस् न?

अर्को तर्फबाट जवाफ आयो- तपाई त्यही रोकिनोस् म आउँदैछु।

एक मिनट पछि घर नं. १०१ को गेट खुल्यो। करिब ६५ वर्षीय एक सज्जन घरबाट बाहिर निस्किए। हेर्दा उनी खाना खान नपाएका व्यक्ति जस्ता लाग्दैनथे।

सज्जनलाई देखेर कर्मचारीले रिसाउँदै भने- तपाईलाई यसरी फोन गरेर खाना मगाउन “लाज” लाग्दैन। गरिबहरूको हकको खाना तपाई जस्तो धनवान व्यक्तिहरूले खान्छन् भने गरिबहरूसम्म खाना कसरी पुग्छ? आज मेरो यहाँसम्म आउनु नै बेकार भयो।

कर्मचारीको रूखो बचन सुनेर सज्जनले आफ्नो व्यथा सुनाउन थाले। उनले भने-

भाई, जीवनमा धेरै “लाज” लाग्यो। त्यही “लाज”ले नै मलाई यो स्थितिमा ल्याई पुर्‍यायो। नोकरी लाग्ना साथ “लाज” कै कारण ऋण लिएर घरजग्गा जोडियो। आधा भन्दा बढी तलव घरजग्गाको किस्ता तिर्न नै ठीक्क भयो भने आधा छोराछोरीको लालनपालन र घर व्यवहारमा खर्च भयो।

रिडायर्ड पछि प्राईभेट जागिरमा पेन्सन थिएन। त्यसैले घरको केही कोठाहरू भाडामा दिए। अब यो महिनौंको लकडाउनले गर्दा घरभाडा आउन पनि रोकियो।

छोराले जागिर पाउन सकेन। जागिरे कोषबाट जुन रकम प्राप्त भयो त्यसबाट छोरालाई व्यवसाय सुरु गरिदिए। उसको व्यापार पनि त्यति राम्रो भएन। व्यवसाय बढाउने चक्करमा उसले जति कमायो व्यवसायमा नै लगाउन थाल्यो। उसले कहिल्यै पनि बचत गर्ने बारेमा सोच्दै सोचेन। अहिले लकडाउनको कारण महिनौं देखि उसको व्यवसाय पनि ठप्प छ। त्यसबाट कुनै आम्दानी छैन।

पहिले-पहिले बर्षभरीलाई पुग्ने खाद्यान्न सामग्री जम्मा गरेर राख्ने गरिन्थ्यो। तर यो बुहारीलाई पुरानो फेशन लाग्यो। त्यसैकारण खाद्यान्न भण्डार गरी राख्ने टंकी समेत कवाडीमा बेचि दिए। अब घरमा बजारबाट दस किलो प्याकेटमा चामल र पाँच किलोको प्याकेटमा आँटा आउन थाल्यो।

राम्रै घर भएको कारण लाजले गर्दा सरकारी कार्यालयबाट पनि राहतको लागि सहयोग माग्न सकिन। केहि दिनसम्म त हामीले जसोतसो गुजारा गरेकै थियौं तर लामो लकडाउन धान्न सक्ने हाम्रो क्षमता भएन। आज जब नाती भोकले रूदै गरेको देखे मैले कुनै उपाय देखिन। अनि मैले सबै “लाज” एक किनारामा राखेर तपाईको कार्यालयमा फोन गरे।

यो शहरमा रहेको मेरो घरजग्गाले हामीलाई बाहिरबाट धनी त बनायो तर भित्र-भित्र भने खोक्रो बनायो। “लाज”ले गर्दा न मजदुरी गर्न सकियो, न बचत गर्न सकिने गरी हाम्रो आम्दानी नै भयो। यत्रो दिनसम्म बिना आम्दानी आनन्दसंग जीवन व्यतीत गर्ने अवस्था हाम्रो रहेन। अब तपाई नै बताउनु होस्, म के गरौं? यति भन्दै सज्जन भकानिन थाले।

उनको यो व्यथा सुनेर कर्मचारीले के जवाफ दिऔं भनेर सोच्नै सकेन। उ चुपचाप गाडिमा गएर खानाको प्याकेटहरू निकाल्न थाल्यो। उसले आफ्नो लागि भनेर गाडिमा केही खाद्यान्न सामाग्रीहरू किनेर राखेको थियो। उसले डिग्की खोलेर खाद्यान्न सामग्री निकालेर खानाको प्याकेटसंगै सञ्जनको घरको गेटमा राखिदिएर आएर गाडिमा बस्यो। अब उसको गाडि कुनै यस्तै भाग्यहीन धनीको घर खोज्न जादै थियो जो यस्तै कृतिम एवम् उधारो समृद्धिमा बाँचिरहेका छन्। यो आजको बहुसंख्यक मध्यम वर्गको बास्तविक व्यथा हो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.