सुदूरपश्चिममा कोरोनाका शङ्कास्पद एक हजार २५५ नमूना सङ्कलन १८७ नमूना नेगेटिभ

२८ चैत, काठमाडौ । कोभिड-१९ को बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिनुभयो ।

प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरी लगेको छ ।

कोरोना सङ्क्रमण परीक्षणका लागि चाहिने कीटहरु प्रदेशका नौ वटै जिल्लामा पठाइसकिएकामा कैलाली र कञ्चनपुरमा सो कार्य शुरुसमेत भइसकेको कार्कीले जानकारी दिनुभयो । एकसाथ बढी सङ्ख्याका कोरोना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न प्रयोग गरिने ‘आरटिपिसिआर‘ नामको उपकरण जडानको काम पनि अघि बढाइएको छ ।

धनगढीमा रहेको पशु रोग निदान तथा अन्वेषण प्रयोगशालाको भवनमा सो उपकरण जडान गर्न लागिएको छ । यो उपकरण सञ्चालनमा आएपछि दिनमा ९० देखि ९५ वटा शङ्कास्पद नमूनाको परीक्षण गर्न सकिने स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताउनुभयो ।-

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *