गणतन्त्र जुकाको मुखमा टिमुर भएको छ नेताज्यू !

विमल गौतम

२७ चैतकाठमाडौ । तपाईं सुन्नुहुन्छ कि सुन्नुहुन्न थाह छैन। सायद यो झुत्रे कुरा के सुनिराख्नु, लगनका बेला हगन भन्नुहोला। झुक्किएर सुनिहाल्नुभयो भने पनि बुझिदिने प्रयास नै गर्नुहुन्न होला। तर बुझेर मेरो समस्या सम्बोधन गरिदिनुभयो भने धर्मै हुनेछ। एउटा कथा छ। ए होइन, यो त व्यथा पो हो त।

अहिले कोरोनाको व्यथाले संसार त्रासमय छ । नेपालीका पुराना व्यथाका अगाडि यो कोरोनाको व्यथा थाङ्नालाई कुटी भाक्क न भुक्क भनेजस्तो भएको छ। हो नेपालीलाई कोरोनाको भन्दा वर्षौंदेखिको व्यथाले पीडित बनाएको छ । बोकाकी आमालाई सधैं रुनुपर्छ रे। यस्तै छ हाल। मेरा लागि आँखै शत्रु आँखै मित्रु भएको छ। खोलुँ कि बन्द गरुँ पीडा हटेर गएको छैन ।

वीरताका गाथाहरू छन, पानाभरी यी गाथा पनि अर्थ न बर्थ गोविन्द गाई भएका छन्। गाथा रटेर समस्या समाधान हुने भए नेपाल संसारको विकसित मुलुक भैसकेको हुनेथियो। एक झुन्ड आए र चिच्याए ६२ – ६३ ताका । राम्रा राम्रा भाषण गरे। बाघको जुँघा उखेल्ने हुँ भने, उखेले पनि । नेपाली नै अबूझ भएर हो। थाह पाउनुपर्थ्यो कि बेहोस बाघको जुँघा उखेल्नेले केही ख्यास्तैनन् भनेर।

बुझिएन, मै उस्तो। अहिले थाह पाएर पछुतो लाग्दै छ कि जुन हाँडीमा पीँध नै छैन त्यसमा दस पाथी पाक्छ भनेर किन पत्याइयो ? अब उहिले मरिन् सासू अब आयो आँसु भनेजस्तो पछुतो मानेर के गर्नु र ? तैपनि कालो बादलमा पनि चाँदीको घेरा देखिन सक्छ भन्छन्। सास छउन्जेल आश त मार्नुभएन नि !

खोलो तरेर लौरो बिर्सनेहरूलाई के दु:खका कथा सुनाउनुहोला जस्तो लाग्छ एकमन। फेरि छोराछोरीले लुगामा हग्यो भनेर चाक काट्नुहुन्न, धुनुपर्छ भनिन्छ। केही सुधार हुन्छ कि भन्ने एक त्यान्द्रो आश त बचेकै छ। जब कसैले गधा नुहाएर गाई बन्दैन भनेको सुन्छु म थुचुक्कै बस्छु क्लान्त भएर। उबेलाका शासकहरूले सामान्य मानिसहरूलाई खुर्सानीको बोटमा झटारो हान्ने र बाख्राको बड्कौँलामा सिरान लाउने भन्दा माथिको औकात भएका सोच्दैसोचेनन्।

यी भुइँमान्छेहरूको अवस्था सधैँ खुकुरीले हानेको अचानोजस्तो भइरह्यो। भुइँमान्छेले आफ्नो भाग्य आफैँ लेख्ने प्रयास गर्न लागे। हावा बने, हुरी बने अनि मक्ख परे शासकहरूलाई उडाएर छेउ लायौँ भनेर। सायद भाग्य विधाताकै हातमा हुँदोरहेछ क्यारे! अहिले एक शासकको ठाउँमा रक्तबीजको रक्तबाट नयाँ राक्षस बनेजस्तै टोलटोलमा जन्मेका शासकले नेपाल थङ्थिलो भएको छ।

भन्न त गरीब कि छोरीलाई आँप ताछ्न लगाउनू, धनीकी छोरीलाई उखु ताछ्न लगाउनू भन्छन् तर तिनै सर्वहारालाई खान नपुग्नुको कारण उघाउने भाँडो सानो भएर हो भन्नेहरूले आँप पातलै ताछेपनि कसैलाई नबाँडी सिङ्गै खान खोज्दै छन्। यो व्यथा भोगेका नेपालीलाई कोरोनाको व्यथा के ठूलो होला र? सायद गधाको घाँटीमा महुवाको माला पो भयो कि? यी नेतागणको गर्जन सुन्दा चाहिँ गाँठी न गुठी जर्जरी उठी भन्न मन लाग्छ।

आन्दोलन भयो। भुँइमान्छेहरू पनि न्वारान देखिको बल निकालेर भिडे परिवर्तन गर्न, हाम्रो दिन आउँछ भन्ने कुराले मक्ख परेका थिए। दिन त आयो रक्तबीजहरूको तर भुँइमान्छेहरू चाहिँ दीनहीन भइरहे। भुइँ मान्छेहरूलाई “गएँ डोटी खाएँ रोटी घर फर्कँदा धोती न टोपी“ भयो। त्यही चुनावका बेला दारु र सुकुटी अरु दिन मनमा हुटहुटी। गणपति भनेर राडी ओछ्याइयो तर सेतो हात्ती परेछन् ।

कोरोना सङ्कटकै कुरा गरौँ न, धमिलो पानीमा माछा मार्न कति तँछाडमछाड गर्दै छन्? जनताको अवस्था भने बगरको ढुङ्गा बगरकै बास भएको छ। छोरो नहेर्नू, छोराको साथी हेर्नू भनिन्छ। सायद यही बुझ्न असमर्थ भैयो जस्तो लाग्छ। माटो सुहाउँदो परिवर्तन भएन कि? अर्कैले लादेको पो हो कि? नत्र यो गणतन्त्र जति बढ्यो उति गुहूमा गढ्यो किन भएको होला त? सरकारमा बसेकाहरूले असल अभिभावकको नाताले त्राससम्म हटाउने प्रयास गर्नुपर्ने होइन र?

अहिले बजारमा कोरोना छ, देश लकडाउनमा र मानिस घरभित्र क्वारेन्टाइनमा। कर्मयोगी हातहरूले काम गर्न पाएका छैनन्। काम गर्न नपाएपछि सबैको अवस्था “ढेवा मरुँ कसो गरूँ ?“ भएको छ । हातमुख जोड्न धौधौ परेर हातमुख सुक्न थालेका छन्। गरीब, मजदूर, निम्नबर्गका पीडाको मात्रै के कुरा गर्नु? धनाड्यय र भर्खरै ’स्यो’ जोड्न थालेका नवधनाड्यहरूको पनि ’स्यो’ खुस्किन लागेको छ। बैंकभरी पैसा भएपनि घरको भण्डार रित्तिन थालेको छ। मनमा कोरोनाको त्रास, घरभित्रको बासले भोलि घामको प्रकाश देख्न पाइन्छ कि पाइन्न भन्ने आभास हुनथालेको छ मानिसको मनम।

यस्तो अवस्थामा जनताद्वरा जनताले शासन गर्ने प्रणाली लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएको देशमा रहेकाले “आँत सुक्यो, पानी खान पाऊँ“ भन्दा गलत हुन्छ र? यो त हात्ती दिउँला भन्नेसँग बोको मगेजस्तै त हो तर बोको पनि दिन नसक्नेहरूले के हात्ती नै देलान् र? अनि समृध्दिको आश र छुचुन्द्रो बढेर हात्ती हुन्छ किनभने छुचुन्द्राको पनि सूँड छ भन्नु उस्तै उस्तै होइनन् र? कि धेरै जोगी भएर मठ उजाड हुने अवस्था आएको हो? होइन भने धोबीको कुकुर घरको न घाटको भैसकेको अवस्था छ जनताको,सरकारमा रहेका जिम्मेवार मन्त्रीहरू र यिनका मतियारहरूले अँध्यारोमा दाउ छोपेर खल्ती भरेका हल्ला किन चल्छन् ? यस्तो भएपछि जनता सास न बास भएको अनुभव नगरेर के गर्छन् त?

कोरोना सङ्कटबाट नडराउन बेलायती महारानीले अभिभावकीय सम्बोधन गरिन्। समाचारमा “बिरलै गरिने अभूतपूर्व सम्बोधन“ भनेर समाचार आयो। यसबाट उनी सफल भइन्, जनताले उनका कुरा पत्याए सम्मन दिए।भारतका प्रधानमन्त्रीले दियो बाल्न लगाएर जनताको मनोबल बढाए। उनीहरू यतिले मात्रै सफल ठहरिएका अवश्य होइनन्। उनीहरूले जनताका लागि देखाएको लगन र असल चरीत्रले गर्दा नै यो अभूतपूर्व साथ मिलेको हो।

नेपालामा पनि राष्ट्रपतिले अनि प्रधानमन्त्रीले पनि देशका नाममा सम्बोधन गरे तर यो सम्बोधन उसै त बुहारी भटमास खाएकी चरीत्रको भयो। यो सम्बोधनलाई जनताले अपनत्व लिन सकेनन्। यी सम्बोधनले जनताई भर दिन सकेनन्। सम्बोधन सुनिसकेपछि उनिउँ फुल्ने आश गर्नु र ढुङ्गा टुसाउने आश गर्नु कति बेकार हो भनेर बुझेका छन्।

प्रधानमन्त्रीको सम्बोधन त देशको नाममा भन्दापनि आफ्ना आसेपासेलाई संरक्षण गर्न कुनै एक कबिलाको सरदारले अर्को कबिलामा बस्नेलाई धम्क्याएजस्तो थियोे। उनले भ्रष्टाचारको हल्लाको स्पष्ट सम्बोधन गरेर जनतालाई विश्वस्त बनाउन सकेनन् नै लकडाउनले भोकै परेका मजदुर, किसान, आर्थिक मारमा परेका ब्यापारी आदि विविध बर्गका जनतालाई उचित राहतको घोषणा समेत गर्न सकेनन्।

कुनै मन्त्रालयको एउटा सामान्य सचिवले पढ्दा हुनेखालको पर्चा पढेर देशको नाममा सम्बोधन गरेको ठान्ने प्रधानमन्त्रीले उनको त्यो सम्बोधन सुनेर आरति गरून् भन्ने चाहेका थिए भने त्यो अँध्यारोमा हात्ती छाम्ने प्रयास हो (कुनै भाग छुन पनि नसकेको) भन्ने बुझ्दा हुन्छ।

यस्तो अवस्थामा सरकार बाहिर भएका नेताहरू पनि तीन न तेह्रका कुरा गरेर बसेका छन्। सायद आमा मरिहाल्छिन् म पोइला गइहाल्छु भन्ने विचार आएको होला। यस्तै भद्रो हेरेर बस्यौ भने “नल गोडे फल खान पाइन्छ कि“ भन्दै बुढिएको झार उखल्नुपर्ला , चेतना भया। एकातिर माखा, अर्को्तिर आँखा भनेजस्तो कसैलाई सहमतिको सरकार चाहिएको छ। सत्ताभन्दा माथि उठ्न नसकेका यी नेतालाई अमेजन नदीमा बगाएर ह्वाङ्हो नदीमा भेटिए भेटिएनन् भनेर चीनलाई पत्राचार गर्नुपर्ने भनेर प्रत्येक नेपालीले मनमा सोचेका छन्, भला व्यवहारमा त्यो सम्भावना छैन।

अब त स्पष्ट भयोहोला कि नेपालीले कोरोना भन्दा ठूलो व्यथा भोगिरहेका छ्न्। कोरोना नेपालीका लागि कुनै ठूलो व्यथा होइन। नेपालीको व्यथा नेताहरू पनि होइनन्। नेपालीको व्यथाका कारण नेतृत्वका गलत चरीत्र र व्यवहार नै हुन्। अहिलेसम्म त झेल्दै छन् नेपालीले, अझ कतिसम्म झेल्नुपर्ने यो व्यथा? यसको औषधि गर्न ढीला भएन? यो समाधान गर्न हामी आफैँ जिम्मेवार हुने समय बितेन र?

जे भए पनि समस्याको समाधान यहीँबाट खोज्नुपर्छ। बादलमा चाँदीको घेरा हुन्छ तर त्यो घेरा कहाँ छ भनेर हरेक नेपालीले खोज्नुपरेको छ । निराशामा पनि आश जगाउँदै अँध्यारोमा दियो बालेर हिँड्दै जानुपर्छ। पक्का बिहान हुन्छ।

सूर्योदय हुन्छ। आशाका आभाहरू फैलिन्छन्। प्रत्येक नेपाली असल भए असल समाजबाट छानिने नेतृत्व असल नै हुने होइन र? त्यसमा नेपाली समाज अझ भनौँ “म“ जिम्मेवार हुने हो कि होइन ? कोरोना विरुद्ध लकडाउन, होम क्वारेन्टाइनमा बस्न र नियम पालना गर्नसक्ने नेपालीले आत्म नियन्त्रण र आत्म संयम गरेर राम्रो अभिभावकत्व ग्रहण गर्नसक्ने चारीत्रको नेतृत्व छानेर लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाइ व्यथामुक्त हुन नसकिएला र?

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *