कोरोना त्रासः फिल्मको छायांकन रोक्न निर्माता संघको आग्रह

चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । हालसम्म कोरोना भाइरस विश्वका ७० बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक असर परेको छ ।

  कोरोना भाइरसको असर विश्व फिल्म बजारमा समेत नराम्रोसँग परेको छ । चीन, जापान, साउथ कोरिया र इटलीका हजारौं हल बन्द भएपछि हलिउडका ठूला फिल्महरुले धमाधम प्रदर्शन मिति सारिरहेका छन् । नेपाली हलमा समेत कोरोना भाइरसको त्रासले दर्शकको उपस्थिति पातलिँदै गएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका फिल्म पोस्टपोन्ड हुने सम्भावना बढेको छ । 

 हल सञ्चालकहरु हल नै बन्द गर्ने वा विशेष सावधानी अपनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । यसबीच, नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण फिल्मको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो ।  निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेका चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ-आफ्नो चलचित्रको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’ अहिले सीमित फिल्मको मात्र छायांकन भैरहेको छ । गत वर्षको तुलानामा यस वर्ष फिल्म निर्माणमा ठूलो गिरावट आएको छ । अहिले ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायतका केही फिल्मको छायांकन भैरहेको छ । चलचित्र निर्माता संघले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि छायांकन रोक्न आग्रह गरेपछि छायांकनरत फिल्मका निर्मातालाई ठूलो घाटा हुने देखिएको छ ।

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *