अमेरिकामा तिब्र हुरीबतास, बर्षातका कारण ८ जनाको मृत्यु
२७ पुष, काठमाडौं । अमेरिकाको दक्षिणी राज्यहरु अलाबामा, लुजियाना र टेक्ससमा आएको तिब्र हुरीबतास, बर्षात र बाढीमा परेर आठ जनाको मृत्यु भएको छ । सामुन्द्रिक आँधीसंगै आएको हावाहुरी र बर्षाले विद्युत सेवा अवरुद्ध बनाएको छ भने कयौं घरहरु पूर्णरुपमा क्षति भएका छन् । बाढीपछि सडकहरुमा जमेको पानीका कारण सवारीसाधनको आवागमन समेत बन्द भएको छ ।
हावाहुरीकै कारण सिकागो शहरका दुइओटा विमानस्थल बन्द गराइ त्यहाँबाट हुने सयौं उडान र अवतरण स्थगित गरिएका छन् । तिब्र हावाहुरीबाट तीन ओटा राज्यमा बसोवास गर्ने दशौं हजार मानिसहरु प्रत्यक्ष प्रभावित भएको अधिकारीहरुले बताएका छन् ।
उच्च वेगमा आएको हावाहुरी र बर्षातले त्यस क्षेत्रमा टोर्नाडो आउनसक्ने संभावना बढाएको भन्दै सतर्क रहन मौसमविद्हरुले आग्रह गरेका छन् । टोनार्डोको सबैभन्दा ठूलो डर अलाबामा राज्यमा देखिएको च ।
हावाहुरी र आँधीले मध्यक्षेत्रमा भने असिनापानी पर्ने र हिमपात हुने पुर्वानुमान गरिएको छ । प्राकृतिक विपद् प्रभावित मानिसहरुलाई आश्रयस्थलमा जान र बच्ने उपाय अवलम्वन गर्न प्रशासनले आग्रह गरेको छ ।।