Nepal's No. 1 Digital Newspaper

उपसभामुखले राजीनामा नदिँदा रोकियो नेकपामा सभामुख चयनको निर्णायक संवाद

काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा नआएका कारण नेकपामा सभामुख कसलाई बनाउने भन्ने संवाद थप पेचिलो भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको खोजी भन्नेमा विवाद देखिएको छ ।

नेकपा स्रोतका अनुसार ओलीले पहिला सभामुखको टुंगो लगाए उपसभामुखको राजीनामामा कुनै समस्या नहुने बताएका छन्। दाहाल भने उपसभामुखको राजीनामापछि मात्रै सभामुखसहित सबै विषय टुंग्याउन सजिलो हुने पक्षमा छन्। दाहालले छिटो उपसभामुखलाई राजीनामा गराएर प्रक्रिया सहज बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग आग्रह गरेका छन्।

Order Now: 98510-87891

बुधबार दिउँसो संगठन विभाग प्रमुख वामदेव गौतम निवासमा भएको गोप्य छलफलमा दाहालले उपसभामुखको राजीनामालाई लिएर प्रधानमन्त्री ओली र आफूबीच रहेको मतभेदबारे सुनाएका थिए। छलफलमा गौतमबाहेक अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए।
छलफलमा सहभागी एक नेताका अनुसार दाहालले उपसभामुखलाई राजीनामा नगराउँदा सभामुख चयन प्रक्रिया पेचिलो भएको बताएका थिए। ती नेताका अनुसार प्रधानमन्त्री ओलीकै इशाराका कारण उपसभामुख तुम्बाहाङ्फेको राजीनामा आउन ढिला भएको विषयमा छलफलमा भएको थियो।
ओली पक्षले उपसभामुख कार्ड प्रयोग गरेको र उनलाई राजीनामा नदिन भनेको समेत छलफलमा विषय उठेको ती नेताले दाबी गरे। तुम्बाहाङ्फेले आफै पनि सभामुखमा आंकाक्षा राखेकी छन्। उनलाई राष्ट्रपति विद्या भण्डारीको साथ छ।
यसबाहेक नेकपामा सभामुखका लागि प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र अध्यक्ष दाहालले अग्नि सापकोटाको नाम अगाडि सारेका छन्। यद्यपि दाहालले पहिला पूर्वसहमतिअनुसार पूर्वमाओवादी समूहले पाउने निश्चित गरेपछि व्यक्तिमा जान सजिलो हुने पक्षमा छन्।
तर, प्रधानमन्त्री ओली एकता भइसकेपछि ‘पूर्व–पश्चिम’ का कुरा गर्नुभन्दा अनुभवी र कानूनका जानकार नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन्।


दाहालले पार्टी एकता पूर्व प्रधानमन्त्री र सभामुख भिन्दाभिन्दै समूहले पाएको र कृष्णबहादुर महराको राजीनामापछि पनि त्यही सहमतिअनुसार अहिले सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने अडानमा छन्।


ओली र दाहालका आ–आफ्नो चासो र अडानले सभामुखको खोजी थप पेचिलो बनेको छ। ओली र दाहालबीच दैनिकजसो वार्ता भएपनि सभामुखको विषय निष्कर्षमा पुगेको छैन।
संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन व्यवस्था छ। त्यसैकारण सभामुख आफ्नो पार्टीको बनाउन नेकपाले उपसभामुख छाड्‌नै पर्ने बाध्यता छ।
पार्टी प्रवक्ता श्रेष्ठले उपसभामुखको राजीनामा आएपछि सभामुखको टुंगो लगाउन सजिलो हुने बताए। आगामी सचिवालय वैठकमा उपसभामुखको राजीनामा छिटो गराउने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेकपाले सभामुख खोज्न नसक्दा प्रतिनिधिसभा बन्धक बनेको छ। पुस ४ गते सुरु भएको संसदको बैठक तीनपटक सूचना टाँसेर स्थगित भइसकेको छ। प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते बोलाइएको छ। तर, शुक्रवारसम्म ओली र दाहालबीच सभामुखको विषय टुंगिएको छैन्।

दुई अध्यक्ष ओली र दाहालबीच लगातार संवाद भएपनि नेकपाभित्र औपचारिक रुपमा सभामुख चयनको विषयले प्रवेश पाएको छैन्। पार्टी बैठकमा प्रवेश नभएकाले सभामुख कसलाई र कुन समूहलाई बनाउने भन्नेमा सचिवालयका अन्य नेताको स्पष्ट धारणा आएको छैन्। ओली र दाहाललाई सभामुख नछाड्न आफूनिकट नेताहरुको दबाब छ।


संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबर्जस्ती करणीको आरोपपछि सभामुख कृष्णबहादुर महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसपछि सभामुखको खोजी सुरु भएपनि नेकपामा तीन महिनासम्म सहमति जुटेको छैन्।
वाम गठबन्धनको हैसियतमा चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँड हुँदा सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो। त्यसैअनुसार महरा सभामुख र शिवमाया तुम्बाहाङ्फे उपसभामुख भएका थिए।
यसैका आधारमा महराको राजीनामापछि सभामुख पद आफ्नो समूहले पाउनुपर्ने दाबी पूर्वमाओवादी समूहको छ। पूर्वएमाले समूहले पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्वसहमति खोज्न नहुने तर्क अगाडि सारेको छ।


उपसभामुख राजीनामा नदिने अडानमैराजीनामा नदिएका कारण सभामुख चयन प्रक्रिया जटिल बनेको पूर्वमाओवादीका केही नेताहरुको भनाइप्रति उपसभामुख तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छिन्।
बालुवाटारनिकट स्राेतका अनुसार शुक्रबार प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयसँगको भेटमाउपसभामुखले असन्तुष्टि जनाएकी हुन्। ‘राजीनामा नदिएर नै सबै कुरा रोकियाे भनेर पूर्व माओवादीका केही नेताले भनिरहनु भएको छ। उहाँहरुले के आधारमा त्यसाे बोलिरहनु भएकाे छ। यो एकप्रकारको हिंसा हाे। कुन संस्थागत निर्णय र कुन कानुनका आधारमा भनिरहनु भएकाे छ?,’ उनकाे भनाइ उद्धृत गर्दै स्राेतले भन्यो।


अध्यक्षद्वयसँगकाे भेटमा उपसभामुख तुम्बाहाङ्फेले महराको दाेषकाे भागिदार आफू नबन्ने कुरा पनि दाेहाेर्‌याएकी छिन्। आफ्ना कारणले सभामुख चयन प्रक्रियामा अवराेध नभएकाे उनको भनाइ उद्धृत गर्दै स्राेतले भन्याे,’सभामुख चयन प्रक्रिया अगाडि बढाउन पहिले त उम्मेदवारी दिन पर्‌यो। तपाईँहरुले गर्नुपर्ने कुरा गर्नुहोस्। मेराे कारणले कसरी रोकियाे?’
उपसभामुखसँगकाे छलफलपछि केही समय ओली दाहालबीच एक्लाएक्लै वार्ता भएकाे थियो। तर उनीहरुबीच सभामुखका विषयमा सहमति भने जुट्‌न सकेन।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.