विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य नेपालको लुम्बिनी र सगरमाथा : राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाडौं, १६ पुस । बुधबार नेपाल भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् । सर्वोच्च शिखर सगरमाथा र गौतम वुद्धको जन्मस्थल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी हुन् ।
मुलुक समृद्धिको बाटोमा रहेको भन्दै राष्ट्रपति भण्डारीले अब पर्यटन विकासमा योजनावद्ध विकासको खाँचो रहेको र पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने पनि धारणा राखिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनलाई व्यवसाय अभिवृद्धि र नाफा आर्जनको रुपमा मात्र नलिन पनि आग्रह गरिन् ।
बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा औपचारिक रुपमा उद्घाटन गरिएको थियो । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो ।

पर्यटन वर्षले बसुधैव कुटुम्बकमको आदर्श आत्मसात गर्दै विश्वमा भ्रातृत्व र शान्तिप्रतिको प्रतिवद्धता उजागर गरेको पनि उनको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु सबै नेपालीको दायित्व पनि हो र पर्यटन क्षेत्रले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने पनि उनले बताइन् ।
