नाजिरका भिडियो चले ,फिल्म चलेनन्

अभिनेता नाजिर हुसेनलाई नचिन्ने फिल्मप्रेमी कमै होलान् । रंगमञ्च हुँदै ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका उनी डेब्यू फिल्मबाटै चम्किएका थिए । यसमा उनले मधेशी पात्रको भूमिका निभाएका थिए । यो फिल्मपछि उनलाई सहायक चरित्रमा लिएर फिल्म बनाउने निर्माताको भीड नै लाग्यो ।

अहिलेसम्म उनले एक दर्जनभन्दा बढी फिल्ममा आफ्नो अभिनय देखाइसकेका छन् ।  केही फिल्ममा उनी हिरोको रुपमा पनि देखिए । ‘होस्टेल रिर्टन्स’ कै निर्देशक सुरज भुषालले फिल्म ‘गाँठो’ मा उनलाई लिड रोलमा ब्रेक दिएका थिए । तर, फिल्मले हलमा घुँडा टेक्यो । यसपछि उनलाई लिड रोलमा लिन निर्माता डराए । नाजिर पनि लिड रोलमै अभिनय गर्ने अडानमा बसेनन् । जस्तो भूमिका अफर भयो, काम गर्दै गए । उनको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो ।

  अभिनयको चर्चा हुने गरेको भएता पनि फिल्म सफल नहुँदा निराश हुँदै आएका नाजिर ‘वीर विक्रम २’ बाट हिटको सुख प्राप्त हुनेमा विश्वस्त थिए । फिल्ममा उनी अभिनेता पल शाहको साथीको भूमिकामा थिए । अभिनय ‘लाउड’ भए पनि फिल्ममा उनको अभिनय दर्शकले रुचाए । तर, कथावस्तु र प्रस्तुतीकरण कमजोर हुँदा फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन सकेन ।  

 जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सिपालु नाजिरले यो फिल्मपछि नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । फिल्मबाट लगातार असफलता भोगिरहेका उनी आजभोली म्यूजिक भिडियोमा व्यस्त छन् । उनी अभिनीत एकपछि अर्को भिडियो यूट्युबमा गजब हिट भैरहेका छन् । त्यसैले अहिले उनलाई भिडियोमा खेलाउन चाहनेहरुको संख्या बढेको छ ।

र, उनको पारिश्रमिक पनि । उनले अभिनय गरेका ‘माया विरानी’ र ‘यो कुरा गोप्य’ गीतले यूट्युबमा करोडभन्दा बढी भ्यूज बटुलिसकेका छन् । उनले अभिनय गरेको ‘चौबन्दीमा सजिएकी’ गीत पनि निकै रुचाइएको छ । अहिले उनले मोडलिङ गरेको गायक अल्मोडा राना उप्रेतीको ‘कहिले भेट्ने खै ?’ बोलको गीतले राम्रो चर्चा बटुलिरहेको छ । भिडियो राम्रो फापेका कारण नाजिर फिल्म गर्न हतारिएका देखिँदैनन् ।  पछिल्लो समय नेपाली फिल्ममा राम्रो माग भएका कलाकारहरु समेत भिडियोतर्फ आकर्षित भएको देखिन्छ । एकै दिनमा छायांकन सकिने र पारिश्रमिक पनि राम्रो पाइने हुँदा फिल्मका अभिनेता र अभिनेत्रीको म्यूजिक भिडियोप्रति मोह बढेको छ । पुष्प खड्का, पल शाह, आँचल शर्मा, आकाश श्रेष्ठ, पूजा शर्मा फिल्मसँगै भिडियोमा पनि सबैभन्दा धेरै खोजिने अनुहारमा पर्दछन् ।

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *