भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पूरा, भ्रमण वर्ष उद्घाटन साग भन्दा भब्य हुने !
काठमाडौं, १४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिएका छन् । ब्रिफिङमार्फत नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पूरा भएको जानकारी दिएको हो ।
१ जनवरी (बुधबार) दशरथ रंगशालामा हुने उद्घाटन समारोह एक महिना अगाडि दक्षिण एसियाली खेलकुद (साग) भन्दा भब्य बनाउने चूनौती रहेको भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले बताए । ‘भर्खरै सागको ऐतिहासिक उद्घाटन भएकै भेन्यूमा हामी भ्रमण वर्षको उद्घाटन गर्दैछौं,’ उनले भने, ‘त्यो भन्दा भब्य उद्घाटन गर्नुपर्ने चूनौती छ ।’ उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउने सन्दर्भमा मुलुकभित्र राष्ट्रिय एकता बनेको बताए ।
आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर आएयता करिब एक सय संघसंस्थासँग भ्रमण वर्षको सन्दर्भलाई लिएर छलफल गरिएको बताउँदै उनले अर्थतन्त्रको मुल आधार पर्यटन बनाउने सरकारको लक्ष्यमा यस अभियानले सहयोग गर्ने उल्लेख गरे ।
उनले १ जनवरीका दिन देशभर दीपावली गरेर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन सबै देशबासीमा आहृवान समेत गरेका छन् ।