Nepal's No. 1 Digital Newspaper

चिसो बढेसँगै हृदयाघात र मुटुको समस्या, चिसोबाट बचौं

काठमाडौँ, चिसो बढेसँगै हृदयाघात र मुटुको समस्याले समेत धेरै मानिसलाई पिरोलेको छ । जाडोयाम सुरु भएसँगै बर्सेनि हृदयाघातलगायत मुटुसम्बन्धी समस्या देखिनु नौलो भने होइन । यद्यपि, यस्तो समस्याबारे कुनै अध्ययन भने गरिएको छैन । त्यसकारण पनि बोलीचालीको भाषामा जाडोयामलाई ‘हर्ट अट्याक’ को मौसमसमेत भन्ने गरिन्छ ।

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार पाँच दशक नाघेका व्यक्ति, मुटुरोगी तथा मुटुरोगीका परिवारले जाडोयाममा मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति अलि बढी सतर्क रहनु आवश्यक छ । जाडो याममा मुटुरोगीहरूले सेवन गरिरहेको औषधिको मात्रा बढाउनुपर्ने स्थिति आउने गरेको औंल्याउँदै ओममूर्तिले मुटुको समस्या भएकाले चिसोमा नियमित परीक्षण गराउनुपर्ने बताए ।हाल ३० देखि ४० प्रतिशतसम्म हृदयाघातलगायत मुटुको समस्या लिएर आउने बिरामीको चाप बढेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठ बताउँछन् ।

Order Now: 98510-87891

उनका अनुसार कुनै विशेष अध्ययन नभए पनि मुलुकमा जाडोयाममा हृदयाघात र मुटुको समस्यामा उल्लेख्य वृद्घि देखिने गरेको छ । दैनिक कम्तीमा एक जना हृदयाघातका बिरामी इमर्जेन्सीमा आउने गरेका ग्रान्डी इन्टरनेसनल हस्पिटल, इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा.अजयसिंह थापा बताउँछन् ।

‘हाम्रो अनुभवमा चिसोमा हृदयाघातका बिरामी ३५ देखि ४० प्रतिशतसम्मले बढी आउँछन्,’ उनले भने । थापाका अनुसार त्यसरी आउने बिरामीमध्ये अधिकांश ४० देखि ५५ वर्ष उमेर समूहका हुन्छन् । चिसो बढेसँगै रक्तचापको समस्या भएकामध्ये करिब एक चौथाइलाई अनियन्त्रित रक्तचापको समस्या देखिने गरेको औंल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलका कार्डियोलोजी विभागका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादव भट्ट भन्छन्, ‘चिसोले गर्दा हाल हर्ट फेल्योर, एन्जाइना (छाती दुख्नु), रक्तचापमा वृद्घि, हृदयाघातलगायत मुटुका समस्या उल्लेख्य रूपमा देखिएका छन् ।’ शरीरको आवश्यकताअनुसार अक्सिजन र पोषकतत्त्वको आवश्यकता पूरा गर्न पर्याप्त रगत पम्प गर्न नसक्ने अवस्थालाई ‘हर्ट फेलर’ भनिन्छ ।

यसका कारण मुटु कमजोर हुनुको साथै मुटुको मांसपेसी कडा हुन्छ । नेपाल मेडिसिटी हस्पिटलका इमर्जेन्सी फिजिसियन डा.सञ्जय कार्कीले समेत हाल हृदयाघात र मुटुसम्बन्धी समस्याका बिरामीहरू गर्मीयामको दाँजोमा उपचारका लागि बढी अस्पतालमा पुगिरहेको बताए । जाडोमा कोरोनरी मुटुरोगका पीडित धेरैजसो एन्जाइना पीडित हुने डा.ओममूर्ति औंल्याउँछन् ।

गर्मीयाममा एकदमै सामान्य रहने व्यक्तिलाई समेत जाडो याममा एन्जाइनाको समस्या देखिने गरिएको छ ।

चिसोले जोखिम

चिसो बढेसँगै जाडोयाममा रक्तचाप, कोलेस्ट्रोलमा वृद्घि र रगत जम्न सक्ने सम्भावनामा वृद्घि नै हृदयाघात र स्ट्रोकका कारक रहेका डा.ओममूर्ति बताउँछन् । उनका अनुसार यदि तपाईं ५५ वर्षभन्दा बढी हुनुहुन्छ र मुटुसम्बन्धी समस्या छ भने जाडोयाममा विशेष सावधानी आवश्यक हुन्छ । पाको उमेरका व्यक्तिलाई आफ्नो शरीरको तापक्रम नियन्त्रणमा राख्न कठिन हुन्छ । उमेर बढ्दै जाँदा मनुष्यको मांसपेसीको द्रव्यमान/मात्रा विस्तारै कम हुँदै जाँदा बढी चिसो अनुभव हुन्छ ।

पाको व्यक्तिले चिसोमा बढी समयसम्म बस्नु हुँदैन । यो मौसममा कोठाको तापक्रम कम्तीमा १८ डिग्री सेल्सियस हुनुपर्छ । कोठामा हावाको ओहोर–दोहोर सुनिश्चित हुने गरी तातो राख्नुपर्छ ।
यदि कोठामा घाम आउँछ भने यो सबैभन्दा स्वस्थकर स्थिति हो । घामले गर्दा कोठा प्राकृतिक रूपमा नै न्यानो हुन्छ ।

चिसो बढेको समय ओछ्याउनामा सुत्दा हट वाटर ब्यागको उपयोग गर्नुसमेत फाइदाजनक हुन सक्छ । एउटा बाक्लो न्यानो लुगा लगाउनुको सट्टा थुप्रै पातले तह भएको लुगाफाटो लगाउनु राम्रो हुन्छ ।

घाँटीमा गलबन्दी तथा टाउकोमा टोपीसमेत उपयोगी हुन्छ । क्यानाडामा ६५ वर्षमाथिका १ लाख १३ हजार हर्ट फेल भएका बिरामीमा गरिएको एक अध्ययनअनुसार प्रत्येक १ डिग्री सेन्टिग्रड औसत तापक्रममा कमी आउँदा हर्ट फेल हुने जोखिम ०.७ प्रतिशतले वृद्घि हुन्छ  । ‘जामा कार्डियोलोजी’ मा प्रकाशित एवं स्विडेनमा बस्ने २ लाख ७४ हजार व्यक्तिको सूचनालाई विश्लेषण गरेर गरिएको एउटा अध्ययनअनुसार तापक्रम शून्य डिग्रीभन्दा कम हुँदा हृदयाघातको जोखिम सबैभन्दा बढी हुन्छ ।

चिसो बढेसँगै यदि तपाईंलाई हृदयाघातको आशंका छ भने ३२५ मिलिग्रामको एउटा एस्प्रिनको चक्की वा ४ वटा ७५ मिलिग्रामको एस्प्रिरनको चक्की सेवन गरेर सिधै अस्पताल जानुपर्ने डा. ओममूर्ति बताउँछन् । यसले रगतलाई जम्नबाट रोक्छ । मुलुकमा पाइने धेरैजसो एस्प्रिनको चक्की ७५ मिलिग्रामको हुन्छ ।

जाडोले मुटुलाई के गर्छ ?

जाडोयाममा चिसोले गर्दा शरीरमा भएको रगतको नली साँघुरो हुनुको साथै खुम्चिन्छ । यो नली साँघुरो हुनुको असर मुटुमा रगत पुर्‍याउने धमनीमा पर्ने भएकाले विशेष गरेर मुटु रोगीमा हृदयाघातको खतरा बढ्छ ।

जाडोयाममा शरीरमा तापक्रम तथा भिटामिन ‘डी’ को कमीसँगै रगत बाक्लो हुने समस्याले मुटु रोगको जोखिम बढेको हो । जाडोले गर्दा शरीरको तापक्रम कम हुँदा रक्तचापमा वृद्घि हुन्छ । जाडोयाममा शरीरमा तापक्रम तथा भिटामिन ‘डी’ को कमीसँगै रगत बाक्लो हुने समस्याले मुटु रोगको जोखिम बढेको हो । जाडोले गर्दा शरीरको तापक्रम कम हुँदा रक्तचापमा वृद्घि हुन्छ ।

जाडोमा किन बढ्छ रक्तचाप ?

जाडोयाममा रक्तबाहिनी नली साँघुरो हुन्छ । रगतको नली साँघुरिँदा रगतको सञ्चार गर्न मुटुलाई बढी बल लगाउनुपर्छ । यसैले गर्दा रक्तचाप बढ्छ । रगत नली साँघुरो हुने कारण भने शरीरलाई न्यानो राख्न हाम्रो शरीरले नै गरेको प्रयास हो ।

यो रगत नली साँघुरो भएर शरीरको तापलाई संरक्षित राख्छ । जाडोयाममा शरीरको तापक्रम र गर्मीको स्तर कायम राख्न रगतको नली खुम्चिने तथा साँघुरो हुने भएकाले रगत प्रवाहमा अवरोध पुग्छ । त्यसैगरी, जाडोयाममा हाम्रो शारीरिक सक्रियतामा समेत कमी आउने रक्तचापको समस्या बढ्छ ।

यति मात्र नभएर जाडोमा कैटेकोलामिन हर्मोनको स्तर वृद्घि हुन्छ । यो हर्मोनले मुटुको ढुकढुकीलाई बढाएर रक्तचाप बढ्ने अनुसन्धानहरूले देखाएको डा.ओममूर्ति बताउँछन् ।

व्यायाममा ध्यान पुर्‍याऔं

जाडोयाममा दिनहुँ व्यायाम नगर्ने व्यक्तिले एक्कासि कडा व्यायाम सुरु गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विशेषज्ञहरूका अनुसार सामान्य स्वस्थ व्यक्तिले जाडोयाममा व्यायाम सुरु गर्दा विस्तारै आफूलाई अनूकल हुने तहबाट सुरु गर्नुपर्छ । यस्तै, चार दशक नाघेका र नियमित व्यायाम नगर्नेले भने चिकित्सकसँग सल्लाह गरी व्यायाम सुरु गर्नु फाइदाजनक हुन्छ ।

‘निरन्तर व्यायाम नगर्ने व्यक्ति जब एक्कासि बढी परिश्रम गर्छन् त्यति खेर उनीहरूको धमनीमा जम्मा भएको कोलेस्ट्रोल टुक्रिन थाल्छ,’ डा.ओममूर्ति भन्छन् । उनका अनुसार यसले गर्दा टुटेको कोलेस्ट्रोलको टुक्रा रगतको नलीमा अवरोध (ब्लकेज) को कारण बन्न सक्छ ।

यही अवरोधले हृदयाघातलगायत विभिन्न शारीरिक समस्या उत्पन्न गर्न सक्छ । त्यसैगरी, मुटु रोगीहरूले वा ५० नाघेकाहरूले जाडोयाममा बिहानै उठेर वा साँझपख व्यायाम वा मर्डिङवाक गर्नु पनि जोखिमपूर्ण मानिन्छ । ‘जाडोयाममा मर्डिङ वा इभिनिङ वाकको साटो घाम लागेपछि हिँड्नु फाइदाजनक हुन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘घरबाहिर निस्किँदा न्यानो लुगा लगाउनुको साथै घाँटी र कान छोप्नु राम्रो हुन्छ ।’

कम उमेरमै हृदयाघात

पहिले हृदयाघात पाको उमेर समूहका मानिसलाई मात्र हुने मान्यता रहेको भए पनि हाल कम उमेरका समेत यसबाट पीडित छन् । मोटोपनको समस्या, उच्च रक्तचाप, मधुमेह, शारीरिक निष्क्रियता, मानसिक तनाव, प्रदूषण आदिले गर्दा कम उमेरका व्यक्तिसमेत हृदयाघातको जोखिममा परेका छन् । पश्चिमा मुलुकको दाँजोमा नेपाल तथा भारतमा हृदयाघात हुने उमेर करिब १० वर्षअघि रहेको डा.ओममूर्ति बताउँछन् ।

बिहानीपख बढी हुन्छ हृदयाघात

जाडोयाममा धेरैजसो हृदयाघात बिहानको समयमा हुने गरेको देखिएको छ । बिहान हुने हृदयाघात बढी खतरनाकसमेत मानिन्छ । चिसो मौसममा बिहान ४ बजेदेखि १० बजेसम्म सबैभन्दा बढी हृदयाघात हुने गरेको हो ।

नेसनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (स्पेन) मा ८ सय बिरामीमा गरिएको एक अध्ययनअनुसार बिहानको समयमा हृदयाघातका बिरामीमा मृतकोष अन्यको तुलनामा २० प्रतिशत बढी पाइन्छ । बिहान मुटुलाई अन्य समयको दाँजोमा बढी काम गर्नुपर्छ ।

बिहान मुटुको कोरोनरी धमनी बढी संकुचित हुन्छन् र जमेको रगत हटाउने शक्ति बढी खपत हुने भएकाले हृदयघातको समस्या बढी हुने गरेको हो ।

देखिँदैन लक्षण

धेरैजसो हृदयाघातको स्पष्ट लक्षण प्रस्ट देखिने किसिमका हुँदैनन् । सर्कुलेसन जर्नलमा प्रकाशित सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार करिब ४५ प्रतिशत हृदयाघात लक्षणबिनाको शान्त (साइलेन्ट) हुन्छन् । यसलाई साइलेन्ट हर्ट अट्याकका रूपमा जानिन्छ ।

दुखाइ सहन सक्ने क्षमता बढी भएका मानिसमा यस्तो हृदयाघातको जोखिम बढी हुने देखिएको छ । यसैले मुटुसँग सम्बन्धित सामान्य संकेतलाई समेत ध्यान दिनु आवश्यक हुन्छ ।

मौसमी रुघाखोकीबाट बच्नुस्

रुघाखोकीले समेत हृदयाघातको जोखिम बढाउँछ । रुघाखोकी चिसोबाट नभई भाइरसका कारण हुने संक्रमण हो । जाडोयाममा मौसमी रुघाखोकीसमेत बढी मात्रामा देखिन्छ । मौसमी रुघाखोकीले समेत रगतलाई फोक्सोमा पठाउनका लागि मुटुलाई बढी काम गर्न बाध्य पार्छ । सुन्नाइले गर्दा जमेको कोलेस्ट्रोल (प्लेक) फुट्न सक्छ, यसले रगतको नलीमा अवरोध पुर्‍याउनुको साथै हृदयाघात हुन सक्छ ।

त्यसैले मुटु रोगीले रुघाखोकीको समस्या देखिए तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ । रुघाखोकीको औषधिमा ‘डिकन्जस्टेन्ट’ र ‘सोडियम’ बढी हुन्छ । ‘डिकन्जस्टेन्ट’ रक्तचापको औषधिलाई काम गर्न बाधा पुर्‍याउन सक्छ । जाडोयाममा मौसमी रुघाखोकीबाट बच्न मुटु रोगीले घरबाहिर गएपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ ।

त्यसैगरी, फोहोर हातले नाक, मुख नछुने/नकोट्याउने र रुघाखोकी लागेको व्यक्तिसँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्। जाडोयाममा मौसमी रुघाखोकीबाट बच्न मुटु रोगीले घरबाहिर गएपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ ।

त्यसैगरी, फोहोर हातले नाक, मुख नछुने/नकोट्याउने र रुघाखोकी लागेको व्यक्तिसँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्।



तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.