Nepal's No. 1 Digital Newspaper

सूर्य ग्रहण के हो र लागेको बेलामा के – के गर्नु पर्दछ ?

मिति २०७६ साल पुस १० गते बिहिवार पौषकृष्ण पक्ष औंशी तिथी विहान १० / ३५ बजेसम्म त्यस उप्रान्त पौषशुक्लपक्ष प्रतिपदा तिथी आरम्भ भएकोले यो दिन खण्डग्रास सूर्यग्रहण प्रात : ८ / ४२ बजे लाग्ने छ।मध्य विहान १० / १ बजे र विहान ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ।यो ग्रहणको जम्मा समय २ घण्टा ४९ मिनेट हुनेछ।ग्रहणको सुतक पुस ९ गते बुधवार राती ८ / ४२ बजे बाट लाग्ने भएकोले सवैले ९ गते राती ८ \ ४१ बजेसम्म भोजन गरिसक्नुपर्ने छ।तर बालक,बृद्ध ,रोगिहरुको लागि छुट छ।

मूल नक्षत्रमा ग्रहणको योग परेकोले विशेषगरी यो ग्रहण लागेको बेलामा मूल नक्षत्रमा जन्म भएका, धनु राशी र धनु लग्न भएका व्यक्तिहरुलाई अतिकष्ट हुनेछ।अरुहरुलाई भने सामान्य लाभ – हानी हुनेछ।त्यसैले यो बेलामा गंगा स्नान ,जप ,हवन ,पाठ – पारायण ,दान – धर्म गरेमा अरुबेलामा गरेको भन्दा अधिक फल प्राप्त हुनेगर्दछ।यो ग्रहण लागेको बेलामा के – के गर्नु हुँदैन भने “निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमाप्नुयात् ,पुरिषे कृमि योनिश्च मैथुने ग्रामसुकर :/अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति ,बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।” अर्थात् यो बेलामा सुतेमा रोग लाग्दछ , पिसाव गरेमा दरिद्र हुन्छ ,त्यसपछि दिसा गरेमा किरोको योनीमा जन्म हुन्छ ,मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ ,शृङ्गार वा गाजल लगाएमा कुष्ठ रोगि हुन्छ ,भोजन गरेमा अधोगति {पतन }हुन्छ

Order Now: 98510-87891

, बन्धनमा राखेमा सर्पको योनि हुन्छ र काटमार गरेमा नरकमा जानेछ। बिज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ। त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नु पर्दछ।ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ ।ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ।सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ । अमावस्या तिथी हुनु पर्छ। चन्दमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ । चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ । वैदिक काल भन्दा पहिले पनि खगोलीय संरचनामा आधारित कलैन्डर बनाउनाको आवश्कता अनुभव गरियो ।सूर्यग्रहण चन्द्र ग्रहण तथा उनको पुनरावृत्तिको पूर्व सूचना ईसा भन्दा चार हजार वर्ष पहिले नै उपलब्ध थियो ।ऋग्वेदका अनुसार अत्रिमुनिका परिवारसँग यो ज्ञान उपलब्ध थियो ।

वेदाङ्ग ज्योतिषको महत्त्व हाम्रा वैदिक पूर्वजहरूको यस महान ज्ञानलाई प्रतिविम्बित गर्दछ ।ऋषि-मुनिहरूले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनेका छन्, किन भने उनको मान्यता अनुशार ग्रहणको समयमा कीटाणुहरू बहुल्यताले फैलिन्छन् ।खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् ।यसैले ऋषिहरूले भाँडाहरूमा कुश राख्नु पर्छ भनेका छन्,यसो गर्दा सबै कीटाणुहरू कुशमा एकत्रित हुन्छन् र उनलाई ग्रहण पछि फाल्न सकिन्छ ।

भाँडहरूमा अग्नि हालेकर पवित्र बनाइन्छ यसो गर्नाले कीटाणु मर्छन् ।ग्रहण पछि स्नान गर्नाको विधान बनाइएको छ स्नान गर्नेबेला शरीर भित्र ऊष्माको प्रवाह बढेर, भीत्र-बाहिरका कीटाणुहरू नष्ट हुन्छन् । पुराणहरूको मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ ।यि दुवै छायाँका सन्तान हुन् ।चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् ।चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ ।

यसको लागी गर्भवतीको उदर भागमा गोबर र तुलसीको लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्दैनन् ।ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज कैंची या चक्कुले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउन बाट पनि रोकिन्छ ।किन भने यस्तो गर्नाले शिशुका अङ्गहरू या त काटिन्छन् या सिल एक अर्कोमा जोडिन्छन् भन्ने मान्यता छ ।देवी भागवतमा भुकम्प एवं ग्रहणको समयमा पृथ्वीलाई खनजोत गर्नुहुन्न भनिएको पनि छ। ग्रह र नक्षत्रहरूका संसारको यो घटना हिन्दू मनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ ।चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए ।

यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए ।ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक काल बाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ।

त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ ।जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ ।यस घटनालाई सूर्यग्रहण भनिन्छ ।सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्दछ ।खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ।ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ। ऋग्वेद लगायत ब्राह्मण ग्रन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन्।वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन। त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्। पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन्।सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा।पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ ।

साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ।ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ ।किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् ।यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन।शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु ।ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ ।ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहण समयमा पुजा गर्नु हुँदैन ।मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ ।यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन।ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ ।ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ । सूर्य ग्रहण फल – मेष राशि – माननाश : वृष राशि – कष्ट : मिथुन राशि – स्त्रीपिडा : कर्कट राशि – सुख : सिंह राशि – चिन्ता : कन्या राशि – व्यथा : तुला राशि – श्रीप्राप्ति : वृश्चिक राशि – क्षति : धनु राशि – घात : मकर राशि – खर्च : कुम्भ राशि – लाभ मीन राशि – सुख : पं बालमुकुन्द देवकोटा


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.