Nepal's No. 1 Digital Newspaper

नेपाल पर्यटन बोर्डमा नयाँ सीईओको खोजी

काठमाडौँ, भ्रमण भ्रमण वर्ष २०२० को संघारमा पदावधि सकिन लागेका दीपकराज जोशीले चार महिना थप्ने सञ्चालक समितिको निर्णय स्वीकार गरिसकेका छैनन् । १२ दिनपछि सरकारले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ । नौ दिनअघि (पुस ८ गते) नै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको भने चारवर्षे पदावधि सकिँदै छ । भ्रमण वर्षको तयारीमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरिरहेको बोर्ड सीईओविहीन बन्दा कार्यक्रमहरूमा असर पर्ने देखिएको छ ।

नेपाल पर्यटन बोर्डको ऐनले सीईओको कार्यकाल पुनः चार वर्ष थप्न सक्ने अधिकार सञ्चालक समितिलाई दिएको छ। तर सञ्चालक समितिमा अध्यक्ष रहेका पर्यटन सचिव केदारबहादुर अधिकारीले मध्य कात्तिकको बोर्ड सञ्चालक समितिको बैठकमा सीईओ जोशीको कार्यकाल नथप्ने सरकारको मनसाय रहेको जानकारी दिएका थिए। ‘भ्रमण वर्षकै संघारमा नयाँ सीईओ ल्याएर काम बुझाउन र सिकाउनुभन्दा हालकै सीईओ जोशीको कार्यकाल थप्न उचित हुने प्रस्ताव हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले गरेका थियौं,’ उक्त बैठकमा सहभागी सञ्चालक समितिका एक सदस्यले भने, ‘तर पर्यटन सचिवले नयाँ सीईओ ल्याउने सरकारको अडान सुनाउनुभयो।’

Order Now: 98510-87891

उक्त बैठकपछि सञ्चालक समितिले सीईओ जोशीको कार्यसम्पादन मूल्यांकन गर्न तथा नयाँ सीईओ छनोट गर्न उपसमिति गठन गरेको थियो। निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने विप्लप पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले मंसिर १८ गते नयाँ सीईओका लागि विज्ञापन आह्वान गरिसकेको छ। २१ दिनको समयसीमा राखिएको उक्त विज्ञापनको अवधि आगामी बुधबार सकिँदै छ। उपसमितिका अनुसार बिहीबारसम्म कसैको पनि आवेदन परेको छैन।

विज्ञापनले पर्यटन क्षेत्रमा १० वर्ष अनुभव भएको, कुनै पनि विषयमा स्नातकोत्तर अध्ययन गरेको ३५ देखि ६० वर्ष उमेर पुगेको नेपाली नागरिकलाई प्रस्ताव आह्वान गरेको छ। चार वर्षको व्यापारिक योजना पनि माग गरिएको छ। उक्त विज्ञापनअनुसार छनोट प्रक्रियामै समय लाग्ने भएकाले सञ्चालक समितिले सीईओ जोशीको कार्यकाल थप चार महिना (चैतसम्म) थप्ने निर्णय गरेको छ। तर सीईओ जोशीले चार महिना थप्ने निर्णय आफूले स्वीकार गरिनसकेको बताए। ‘थपिएको समयमा कर्मचारीको साथ तथा समर्थन पाउन गाह्रो हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘म कानुनी परामर्शमार्फत उपयुक्त निर्णय लिन्छु।’ सञ्चालक समितिले थप गरेको समयावधिले पुनः प्रतिस्पर्धामा जान अवरोध हुने देखिए नस्विकार्ने उनको भनाइ छ।

बोर्डका अध्यक्ष तथा पर्यटन सचिव केदारबहादुर अधिकारीले सीईओका लागि सूचना आह्वान भइसकेकाले अवधि सकिन लागेका सीईओ जोशीको म्याद थपिएको विषयमा थप नबोल्ने बताए। उनले हाललाई जोशीको पदावधि चार महिना थप्ने निर्णय भएको बताए। सीईओ जोशीले निर्णय स्वीकार नगरेको विषयमा भने जानकारी नभएको उनले बताए।

सरकारले २०५३ सालमा निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गरी नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन बोर्ड स्थापना गरेको थियो। यसको सञ्चालक समितिमा ५ जना निजी क्षेत्रका पर्यटन व्यवसायी र ५ जना नेपाल सरकारका कर्मचारी रहन्छन्। जोशी बोर्डका लागि चौथो प्रमुख कार्यकारी अधिकृत हुन्। उनीअघि सुवास निरौला, प्रचण्डमान श्रेष्ठ, टेकबहादुर डाँगी र प्रदीपराज पाण्डे सीईओ थिए। बोर्डमा ८१ जना कर्मचारी छन्।
बोर्डको मुख्य आम्दानीको स्रोत नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले फर्किंदा विमानस्थलमा बुझाउने १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क हो। त्यस्तै बोर्डको दोस्रो ठूलो आयस्रोतमा पदयात्री पर्यटक सूचना व्यवस्थापन शुल्क (टिम्स) पर्छ। चालु वर्ष यसको बजेट १ अर्ब ३६ करोड रुपैयाँ छ।

उमेर हदबन्दीमा रिट

अवकाश प्राप्त सहसचिव खडानन्द ढकालले सीईओका लागि तोकिएको ६० वर्षे उमेर हदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लिखित कारण देखाउ आदेश जारी पनि गरेको छ। ‘रिटबारे बोर्डमा लिखित जानकारी आएको छैन। हामीले पनि सुनेको मात्रै हो। सीईओ छनोट प्रक्रिया रोकिँदैन,’ सीईओ जोशीले भने।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.