नियमावली होइन संविधान टेकेर अघि बढ्ने योजनामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे
काठमाडौं
संसदको अधिवेशन यही शुक्रबारबाट नै सुरु हुन लागिरहेको अवस्थामा संसदको बैठकको प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्न उठिरहेको बेलामा उपभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफू संविधानको धारा ९१ अनुसार चल्ने बताएकी छन् ।
त्यस्तै, उपधारा ५ मा भनिएको छ,‘‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले जेष्ठ सदस्यले गर्नेछ ।’’
प्रतिनिधिसभा नियमावलीमा संसद बैठकको आरम्भ र स्थगनको घोषणा सभामुखले गर्ने व्यवस्था रहेको छ । नियमावली अनुसार उपसभामुखले बैठक आरम्भ गर्न नमिल्ने हो की भन्ने प्रश्न उठिरहँदा उपसभामुखले भने संविधानको धारा ९१को उपधारा ४ र ५ अनुसार आफू अघि बढ्ने जनाएकी छन् ।
संविधानको धारा ९१को उपधारा ४मा ‘प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ’ भनिएको छ ।
उपसभामुख तुम्बाहाम्फेले पनि बाह्रखरीसँग आफू संविधान अनुसार अघि बढ्ने बताइन् । नेकपाका कतिपय नेताले भने उपसभामुखले राजीनामा दिएर सभामुखको निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने दाबी गर्दै आएका थिए ।
संविधानको यो व्यवस्थासँग प्रतिनिधिसभा नियमावली बाझिएकोले संविधानसँग बाझिने कुरा लागु नहुने उपसभामुख निकटस्थहरुको तर्क छ । धारा ९१को उपधारा ५ मा सभामुख वा उपसभामुख दुवै नभएको बेलामा मात्रै जेष्ठ सदस्यले बैठक चलाउने भनिएकोमा अहिले उपसभामुख भएकै बेलामा जेष्ठ सदस्यले बैठक चलाउने भनेर मिडियामा ‘हावादारी’ कुरा आएको समेत ती निकटस्थले बताए ।
सत्तारुढ नेकपाले नै सभामुख पद लिने हो भने सोही पार्टीबाट उपसभामुख डा. तुम्बाहाम्फेले पनि राजीनामा दिनुपर्ने तर्क यस अघि देखि उठ्दै आइरहेको छ । उपसभामुख तुम्बाहाम्फेले कुनै पनि नेताहरुले आफूलाई पदबाट राजीनामा दिन नभनेको जनाइन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर सभामुखबाट राजीनामा दिएपछि सो पद खाली छ ।