म यस्तो गीत गाउँछु २’ को व्यापारमा गीतले योगदान गर्ला ?

दर्शकको नाडी छामेर फिल्म बनाउने निर्देशककोे रुपमा चिनिन्छन्, सुदर्शन थापा । ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ यसका उदाहरण हुन् । वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने उनले पछिल्लो पटक फिल्म ‘रामकहानी’ निर्देशन गरेका थिए । यसपछि उनले दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ निर्देशन गरे । दुबै फिल्म प्रदर्शनका लागि तयार छन् ।

  निर्देशक थापासँग गीत छान्ने खुबी पनि निकै राम्रो छ । उनी निर्देशित फिल्मका गीतसंगीत कर्णप्रिय हुन्छन् । कथाको मागअनुसार फिल्ममा गीत छनोट गर्ने उनका भरपर्दा संगीतकार अर्जुन पोखरेल हुन् । पछिल्लो समय निर्देशक थापा आफ्ना हरेक फिल्ममा अर्जुनले संगीत भरेका गीत मात्र समावेश गर्दै आएका छन् । र, अर्जुनले सुदर्शनलाई दिएका प्रायः सबै गीत सुपरहिट छन् ।  

 आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशत यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘म यस्तो गीत गाउँछु २’ का लागि पनि अर्जुनले नै गीत तयार पारेका छन् । यो फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ अहिले दर्शकको जिब्रोमा झुण्डिएको छ । यूट्युब रिलिजको पाँच दिनमा यो गीतमाथि १७ लाखभन्दा बढीको नजर परिसकेको छ ।  ८५ हजार लाइक्स प्राप्त गीतलाई ९ हजार कमेन्ट मिलेको छ ।

गीतलाई नराम्रो लेख्नेको संख्या अत्यन्त न्यून छ । अधिकांशले गीतको अडियो र भिडियोको मुक्तकण्ठले प्रशंसा गरेका छन् । धेरैजसो दर्शकहरुले गीतको भिडियोमा फिचर्ड फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । जसले निर्माण टिममा खुसी छाएको छ ।  नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर तयार पारिएको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । यो गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको निर्देशक सुदर्शन थापा बताउँछन् ।  सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको यो गीतका कारण फिल्मको इनिसियल व्यापारमा केही हदसम्म भए पनि फाइदा पुग्नेमा निर्माण टिम विश्वस्त छ । ब्रान्ड बनिसकेका फिल्मका सिरिजलाई गीतका कारण सुरुवाती व्यापारमा फाइदा पुगेका थुप्रै उदाहरण छन् ।

‘म यस्तो गीत गाउँछु २’ को व्यापारमा पनि यो गीतले योगदान गर्नसक्ने देखिन्छ ।  हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय, गणेश गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । २ वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण दर्शकमाझ यो फिल्मको व्यग्र प्रतिक्षा भैरहेको छ ।

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *