टुटल र पठाओ रोक्ने अर्को प्रयास विफल, अन्तरिम आदेश दिन अदालतको अस्वीकार
काठमाडौं, ३० मंसिर । टुटल र पठाओ रोक्ने ट्याक्सी व्यवसायीको प्रयास विफल भएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसहित अधिवक्ताहरुले टुटल र पठाओ सेवा अवैधानिक भएको र यसलाई रोक्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थिए । टुटल र पठाओ रोक्नका लागि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
रिटको सोमबार भएको सुनुवाई पछि अदालतले रिट निवेदशकको माग अनुसार अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको छ । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएका छन् ।
न्यायाधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाईको संयुक्त इजलासले सोमबार यस्तो निर्णय गरेको हो । अब मुद्दाको फैसलापछि नै यसबारे अन्तिम निर्णय हुनेछ । ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले रिटमा टुटल र पठाओलाई वैधानिकता दिए आफूहरुलाई पनि सकै कर मिनाहा गर्नुपर्ने माग गरेका छन् ।
ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि अन्तरिम आदेश माग गरी मुद्दा दायर गरेको थियो। संघले टुटल, पठाओ, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
उनीहरुले टुटल र पठाओ सञ्चालनमा रोक नलगाएको भन्दै ट्राफिक प्रहरी र सरकारलाई पनि विपक्षी बनाएका थिए ।