Nepal's No. 1 Digital Newspaper

धनुषा बम विष्फोटका घाइते प्रहरी इन्स्पेक्टर दाहालको उपचारका क्रममा मृत्यु

जनकपुरधाम, २८ मंसिर । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान)मा शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।

धनुषाको महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

Order Now: 98510-87891

दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।

बम विस्फोटबाट घटनास्थलमै २ जनाको मृत्यु भयो भने अन्य चारजना घाइते भए । घाइते मध्येका इन्सपेक्टर दाहालको उपचारको क्रममा मृत्यु भएको हो । बम विस्फोटबाट साहको बन्दै गरेको घरका झ्यालका सिसा, शौचालयका ढोका, घरको छानोलगायतमा पनि क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार विप्लव नेतृत्वको नेकपाले बम झुन्ड्याएको हुनसक्ने आशंका छ । डीएसपी कार्कीले भने, ‘अहिलेसम्म घटनाको कसैले जिम्मा लिएको छैन् ।’

घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ । असईबाट प्रहरी सेवामा प्रवेश गरेका दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पीएसओ पनि थिए । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन ।

अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.