१३ औं साग : चार स्वर्ण जित्दै गौरिकाले बनाइन् अर्को कीर्तिमान
काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १०० मिटर फ्रीस्टाइलमा १७ वर्षीया गौरिकाले स्वर्ण पदक जित्दै दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा ४ स्वर्ण प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । तर विभिन्न संस्करणमा गरी ४ स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्ट पनि हुन् ।
गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । शिवांगीको समय ५८.१५ सेकेन्ड रह्यो ।

यसअघि गौरिकाले एउटै सागमा ३ स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् । स्वर्ण जितेसँगै गौरिकाले हर्षाश्रु बगाइन् । गौरिकाले स्वर्ण प्राप्त गरे थाहा पाउने बित्तिकै बाबु आमाले एकअर्कालाई अँगालोमा समेत बाँधे । गौरिकालाई बाबु आमाले उनलाई चुम्बन् गर्दै खुसीयाली मनाए ।
१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।


