एनआरएनले वाशिंगटनस्थित भारतीय दूतावासमा बुझायो विरोध पत्र
वाशिंगटन, २१ मंसिर । नेपालको भूमि अतिक्रमणविरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो ।
एनआरएनए अमेरिकाले भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको जनाएको छ । विरोधपत्र बुझाउन गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष रबिना थापा, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्ष कृष्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुङ, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एवं समाजसेवी प्रेम कुमार श्रेष्ठ भारतीय दूतावास पुगेका थिए ।
नेपालको सार्वभौम भूमि आफ्नै सीमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ । यद्यपि सीमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ । एनआरएनए आईसीसीले शुरु गरेको यस अभियानलाई विश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडि बढाउने गैरआवासीय नेपालीहरुको योजना छ ।