१३ औं साग : नेपाली महिला भलिबल टिम भारतसँग पराजित, महिला टोली रजतमै सिमित
काठमाडौँ — नेपाल १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट बञ्चित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा हार व्यहोर्दै रजत पदमा चित्त बुझाउन बाध्य भयो । फाइनल खेल सुरु हुनुअघिसम्म नेपाली टोलीका समर्थकहरुसँग नेपालले स्वर्ण जित्ने झिनो मात्र आशा बाँकी थियो । किनभने नेपाल सामु थियो, बलियो प्रतिद्वन्द्वी भारत ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः २५-२४ र २५-२१ ले जित्न सफल भयो। प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको आफ्नो पक्षमा पार्न सक्यो। भारतले २५-२० को जित निकाल्यो। पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो। नेपाललाई रजत पदमा रोकिदियो।
तरपनि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो।

हारसँगै केही बेरसम्म उत्साहित बनेको माहौल भावुक बन्न पुग्यो । जित नजिक पुगेर पराजय बेहोर्नु पर्दा नेपाली खेलाडीहरुले आँखा आँशुले छप्पकै भिजे । टोलीका अन्य सदस्यहरु खेलाडीहरुलाई सम्झाउनतिर लागे ।
सागको इतिहासमा नेपालले महिला भलिबलमा रजत जितेको यो पहिलो पटक हो । यसअघि नेपाली महिला भलिबल टोलीले सागमा तीन पटक काँस्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा काँस्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो ।