Nepal's No. 1 Digital Newspaper

अनमोलले फेरि पाए अवार्ड

नेपाली फिल्मका सबैभन्दा ठूला स्टारडम भएका अभिनेता हुन्, अनमोल केसी । उनलाई जति फिल्मको अफर अहिलेको समयमा सायदै अरु कसैलाई आउँछ । उनले फिल्म गर्नका लागि ‘हुन्छ’ मात्र भने निर्माताहरु ५० लाख पारिश्रमिक आँखा चिम्लिएर दिन तयार छन् । उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मले बक्सअफिसमा सानदार व्यापार गर्ने सोचाई उनीहरुमा छ ।

  स्क्रिप्ट चित्त नबुझेको भन्दै साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ छाडेर आफू अभिनीत ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृंखलामा काम गर्न राजी भएका उनी अहिले विदेश भ्रमणमा व्यस्त छन् । गएको हप्ता आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा सहभागी हुन जापान पुगेका उनी उतैबाट ‘ग्लोबल फिल्म अवार्ड’ मा भाग लिन अमेरिका उडे । अहिले उनी अमेरिकामा छन् ।  डेब्यू फिल्म ‘होस्टेल’ देखि नै आफ्नो क्रेज सस्तो बन्न नदिएका अनमोलले हरेक फिल्ममा समीक्षकबाट अभिनयको आलोचना खेपेकै हुन्छन् ।

Order Now: 98510-87891

अहिलेसम्म कुनै फिल्ममा चरित्रलाई आत्मसात् गर्न नसकेका उनले उत्कृष्ट अभिनेता वा पपुलर अभिनेता विधाको अवार्ड भने वर्षेनी चुमिरहेका छन् । उनी अवार्ड कार्यक्रममा पुगेपछि कुनै न कुनै विधामा अवार्ड लिएरै घर फर्किन्छन् ।  उनी अवार्ड आफूले पाउने ‘फिक्स’ भएपछि मात्र अवार्ड कार्यक्रममा पुग्छन् । नत्र अनुहार मात्र देखाउन जाँदैनन् ।

अचेल उनी अवार्ड कार्यक्रममा पुगेपछि उत्कृष्ट अभिनेताको अवार्ड उनैले पाउने ग्यारेन्टी जस्तै हुन्छ । पाँच तारे होटलको बारदेखि दर्शक नै नभएको कार्यक्रममा समेत गर्वका साथ अवार्ड चुमिसकेका अनमोललाई यस वर्ष पनि अवार्ड उचाल्न भ्याइनभ्याइ छ ।  

 जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा उनले फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड चुमे । हुनत उनी जापान उड्दै गर्दा धेरैले अभिनेताको अवार्ड उनकै पोल्टामा पर्ने ठोकुवै गरेका थिए । तर, उक्त अवार्ड कार्यक्रममा दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै भएको तस्विर बाहिरिएपछि उनले अवार्डको लोभमा आफ्नो धरातल बिर्सिएको भन्दै आलोचना खेप्नुपर्‍यो ।

  जापानपछि उनी अर्को अवार्ड कार्यक्रममा सहभागी हुन पिता भुवन केसीसँग अमेरिका हानिए । अमेरिका उड्दै गर्दा जापानको विमानस्थलमा अभिनेत्री वर्षा राउतसँग खिचेको तस्विर बाहिरिएपछि ‘ग्लोबल फिल्म अवार्ड’ मा पनि उनले अवार्ड पाउने कतिपयको दाबी थियो । अन्ततः आइतबार भएको अवार्ड कार्यक्रममा उनले ‘स्टार अफ दि इयर’ को अवार्ड जितेका छन् ।  उनी मात्र होइन ‘ग्लोबल फिल्म अवार्ड’मा सहभागी हुने प्रायः सबै कलाकारले कुनै न कुनै विधामा अवार्ड जितेका छन् ।

पछिल्लो समय नेपाल तथा विदेशमा हुने नेपाली फिल्म अवार्ड ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने शैलीमा बाँड्ने गरिन्छ । यसबाट ‘ग्लोबल फिल्म अवार्ड’ अपबाद रहने कुरै आउँदैन । सबैलाई अवार्ड दिएर आयोजकले कसैलाई दुखी हुन दिएन ।  अभिनेता अनमोलले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै आफूले पाएको अवार्ड आफ्ना प्रशंसकलाई समर्पित गर्न चाहेको बताएका छन् ।

अभिनयको आलोचना हुने गरेको भएता पनि अवार्ड आफ्नो पोल्टामा पारिरहेका अनमोलले कुनै दिन सबैभन्दा धेरै अवार्ड पाउने अभिनेताको रुपमा ‘गिनिज बुक अफ दि वल्ड रेकर्ड’ मा नाम नलेखाउलान् भन्न सकिन्न !

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.