उपनिर्वाचन : ८० वर्षका हजुरबा देखि गोरुगाडामा चढेर मतदानस्थलमा मतदाता, मतदानमा उत्साह
महोत्तरी, १४ मंसिर । महोत्तरीको पिपरामा गाउँपालिका भइरहेको मतदानमा उत्साह देखिएको छ । मतदान स्थलमा ज्येष्ठ नागरिकहरु लठ्ठी टेकेर भोट दिन आएका छन् ।
पिपरा-६ स्थित आदर्श मावि मतदानस्थलमा ८५ वर्षका राजेन्द्र यादव लौरो टेक्दै उभिएका भेटिए ।
बिहान ११ बजेसम्मको स्थिति हेर्दा यहाँ शान्तिपूर्ण रुपमा मदतान भइरहेको छ ।
पिपरामा राष्ट्रिय जनता पार्टी, नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र सिके राउतको जनमत पार्टीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । यस गाउँपालिकामा यसअघि राजपाबाट विजयी गाउँपालिका अध्यक्षको निधन भएकाले उपचुनाव हुन लागेको हो ।

बिहान कुहिरो लागेको भएपनि मतदाताहरु आफ्नो जनप्रतिनिधि चुन्न मतदान केन्द्र पुगेका हुन् । चिसो बढेको भए पनि बिहानै मतदान केन्द्रमा मतदाताको घुइँचो लागेको छ ।
बलवा नगरपालिकामा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालय धमौरा, बनौटामा राखिएको मतदान केन्द्रमा सोही नगरपालिका–२ सरहन्चिया गाउँका केही बासिन्दा गोरु गाडामा चढेर मतदान केन्द्र पुगेका हुन् । मतदानका दिन सवारी साधन सञ्चालन निषेध भएकाले महिला तथा वृद्धवृद्धाले गोरुगाडा प्रयोग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले मतदानको दिन सवारी साधन चलाउन रोक लगाएपछि गाउँघरमा प्रचलित गोरुगाडा चढेरै मतदानका लागि हिँडेको स्थानीयको भनाइ छ ।