१३ औं साग : उद्घाटनको र समापनको दिनसवारी साधनमा जोर विजोर प्रणाली लागू हुने
काठमाडौं मंसिर १२, । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी राखेपका सदस्य सचिव रमेश सिलवालले बिहीबार साँझसम्म सागको सबै तयारी सकिने बताए । ‘बिहीबार रातिदेखि हाम्रो सम्पूर्ण तयारीको काम सकिनेछ । दशरथ रंगशालको भीआईपी प्यारापिटतर्फ सिट राख्ने काम आज राति सकिनेछ । हामी भोलि ग्राण्ड रिहर्सल गर्नेछौँ’ सिलवालले भने ।
सागका लागि निर्माण गरिएको हिटिङ सिस्टमको स्विमिङ पुलमा शुक्रबार पानी हालिने भएको छ । सागकै लागि भनेर निर्माण गरिएको स्वीमिङ पुलमा अहिलेसम्म काम भइरहेको छ ।
३ दिनपछि उद्घाटन हुने सागको सम्पूर्ण तयारी पूरा भएको र स्वीमिङ पुल पनि समयमै तयार हुने राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव सिलवालले जानकारी दिए । ‘शुक्रबार बिहान स्विमिङ पुल भ्रमण गरेको थिएँ । अब भोलि त्यहाँ पानी राख्ने काम हुन्छ । पर्सीबाट नेपाली खेलाडीले ट्रेनिङ शुरु गर्नेछन्’ उनले बिहीबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा भने ।
यस्तै उनले पोखरा रंगशालाको काम पनि लगभग सकिएको बताउँदै उनले त्यहाँ १३ हजार सिटको प्यारापिट तयार भएको सुनाए । साथै नेपालको महिला फुटबल टोलीले पोखरा रंगशालमा प्रशिक्षण पनि सुरु भएको सिलवालले जानकारी दिए ।
