ट्रम्पलाई मैले हराएको छु, फेरि पनि हराउँछु – माइकल ब्लुमबर्ग
अमेरिकाका अर्बपति मिडिया मालिक माइकल ब्लुमबर्गले आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो दाबी पेस गरेका छन्।
ब्लुमबर्ग अमेरिकाका आठौं धनी व्यक्ति हुन्। उनको ५३.४ अर्ब डलरको सम्पत्ति छ।
ब्लुमबर्ग मिडिया कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत रहेका ब्लुमबर्गले आइतबारमात्रै डेमोक्रेटिक पार्टीबाट आफ्नो चुनावी प्रचार सुरू गरेका हुन्। झन्डै डेढ दर्जन उम्मेदवारले यसअघि नै पार्टीको उम्मेदवार बन्ने अभियान थालिसकेका छन्।
पूर्वउपराष्ट्रपति जो बाइडन, नेताहरू कमला ह्यारिस, एलिजावेथ बारेन, तुलसी ग्याबोर्ड, बर्नी स्यान्डर्सलगायत उम्मेदवारले केही चरणको डेमोक्य्राटिक डिबेटमा भाग लिइसकेका छन्।
अन्तिम उम्मेदवार छान्न डेमोक्र्याटिक पार्टीको राज्यस्तरीय चुनाव आउनु केही महिनाअघिमात्र उम्मेदवारमा दाबी गरेका ब्लुमबर्गले आफूसँग ट्रम्पलाई हराउने क्षमता भएको बताएका छन्।
‘ट्रम्पलाई कसरी हराउनु पर्छ भन्ने मलाई थाहा छ किनकी मैले उनलाई पहिला नै हराइसकेको छु,’ ७७ वर्षीय ब्लुमबर्गले भने,‘र फेरि पनि ट्रम्पलाई हराउँछु।’
पहिला रिपब्लिकन पार्टीमा रहेका ब्लुमबर्ग सन् २००३ देखि २०१३ सम्म न्युयोर्क सहरका मेयर थिए। त्यतिबेला ट्रम्प न्युयोर्कमै रियल स्टेट डेभलपर थिए।
उनले आफू कुरा गर्ने नभई काम गर्ने मान्छे भएको दाबी गरेका छन्।
कतिपय आलोचकले भने डेमोक्र्याटिक पार्टीले ब्लुमबर्गलाई उम्मेदवार बनाए गल्ती हुने बताएका छन्। ब्लुमबर्गले कर्पोरेट मनी राजनीतिमा ल्याउने भन्दै उनीहरूले आलोचना गरेका हुन्।