Nepal's No. 1 Digital Newspaper

१३ औं साग: काठमाडौंको चिसो मौसममा अभ्यस्त हुन आउन थाले विदेशी टिम

काठमाडौँ — माल्दिभ्स संसारकै सबैभन्दा तल्लो सतहमा रहेको देश हो । जसको जमिन समुद्री सतहबाट औसत १ मिटरको उचाईमा मात्रै छ । जलवायु परिवर्तनका कारण यो देशको स–साना १२ सय टापु अर्को शताब्दीको प्रारम्भमै समुद्र सतहले पुर्ने अनुसन्धानहरूले देखाएको छ । हिन्द महासागरका द्वीपहरूको यो देशमा बढी समय गर्मी हुने गर्छ । त्यही गर्मी ठाउँका खेलाडीहरू १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनु १२ दिनअघि नै काठमाडौं आइसकेका छन् । कारण, यहाँको चिसो मौसममा अभ्यस्त हुन ।

‘कहाँ काठमाडौंको चिसो मौसम कहाँ माल्दिभ्सको गर्मी,’ माल्दिभ्स एथलेटिक्स टिमका प्रशिक्षक अहमद निजामले शनिबार भने, ‘हामी समुद्री सतहदेखि १ मिटरमाथि मात्रै प्रशिक्षण गर्छौं । मालेको त्यो मौसम १३ औं साग आयोजना हुने काठमाडौंसँग विल्कूलै फरक छ । राम्रो नतिजा निकाल्नका लागि मौसमसँग अभ्यस्त हुनु जरुरी छ र त्यसैका लागि हामी निकै अघि काठमाडौं आएका हौं ।’
माल्दिभ्सको सात खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापक बुधबार काठमाडौं आइपुगेका हुन् । ‘शुक्रबार जिम गर्‍यौं । शनिबारदेखि भद्रकाली (आर्मी मुख्यालय) मा अभ्यास थालेका छौं,’ निजामले सुनाए ।

Order Now: 98510-87891

दक्षिण एसियाली खेलकुदको सबैभन्दा बृहत् प्रतियोगिता आयोजना गर्ने सबैभन्दा उचाइमा रहेको सहर काठमाडौं नै हो । यो महानगर समुद्री सतहबाट १४०० मिटरमा रहेको छ । यही ‘हाइअल्टिच्युड’मा अभ्यस्त हुनका लागि १३ औं सागको तोकिए मितिभन्दा निकै अगाडि नै विदेशी खेलाडी–टिम आउने क्रम सुरु भएको छ । यस्तोमा काठमाडौं ओर्लिने पहिलो टिम हो, बंगलादेशको पौडी टोली । व्यवस्थापक मोस्तफा मोहमद गोलामका अनुसार १९ खेलाडीसहितको २५ सदस्यीय बंगलादेशी पौडी टिम मंसिर १ मै नेपाल आइपुगेको हो ।

‘काठमाडौंको चिसो मौसममा अभ्यस्त हुन चाँडै आएका हौं,’ व्यवस्थापक मोस्तफाले भने, ‘किनभने हामी समुद्री सतहको धेरै नजिक बस्ने गर्छौं ।’ त्यसैले बंगलादेश पौडी महासंघले खेलाडीलाई चाँडै काठमाडौं पठाएको हो ।’

समुद्री सतहभन्दा ४ मिटरमात्रै माथि रहेको छ बंगलादेशी राजधानी ढाका । नेपाल आउनुअघि बंगलादेशी खेलाडीहरूले ढाकामा भएको ‘क्लोज क्याम्प’ मा रहेर तीन महिना प्रशिक्षण गरेका थिए । माल्दिभ्सको एथलेटिक्स खेलाडीहरू पनि माले र पटियाला (भारत) मा एक महिना ट्रेनिङ गरेपछि यहाँ आएका हुन् ।

बंगलादेशी पौडी टिमले कालोपुलस्थित हिटिङ सिस्टमको स्वीमिङ पुलमा शनिबार चार घण्टा ट्रेनिङ गरेको थियो । ‘यहाँको चिसो मौसममा खेलाडीलाई सुरुका तीन दिन निकै गाह्रो भयो । त्यसपछि सहज हुँदै गएको छ,’ सहायक प्रशिक्षक अब्दुल हामिदले भने । बंगलादेश पौडी महासंघका सहसचिवसमेत रहेका उनले भने, ‘चाँडै आएर प्रशिक्षण गर्न पाउनु राम्रो मौका हो ।

यस्तोमा खेलाडीमा देखिएको आत्मविश्वास र गरेको प्रदर्शनप्रति हामी धेरै खुसी छौं ।’ यसपालिको सागलाई आफ्नो टोलीको तयारी धेरै राम्रो भएको पनि उनले बताए । गुवाहाटीमा सन् २०१६ मा भएको १२ औं सागमा बंगलादेशले पौडीतर्फ २ स्वर्ण र १५ कांस्य पदक जितेको थियो । ‘यति नै संख्या भन्ने छैन तर यसपालि पनि हामीले पदक जित्ने लक्ष्य बनाएका छौं,’ व्यवस्थापक मोस्तफाले भने । उनका अनुसार पछिल्लोपल्ट ५० मिटर र १ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्णपदक जितेकी मफुजा खातुनले संन्यास लिइसकेकी छन् । स्वदेशी र जापानका २–२ प्रशिक्षकले सम्हालेको छ, बंगलोदशी पौडी टिम । लन्डनमा प्रशिक्षण गरिरहेकी एक महिला खेलाडी एक–दुई दिनमै काठमाडौं आइपुग्ने पनि मोस्तफाले बताए ।

काठमाडौंको तीनदिने बसाइ अनुभवबारे माल्दिभ्सका मध्यम दूरीका प्रशिक्षक निजामले भने, ‘हामी हाइअल्टिच्युडमा घुलमिल हुन चाँडै आएका हौं । यहाँको चिसो मौसमले खासै फरक पारेको छैन । तर धुलोले भने केही समस्या भइरहेको छ ।’ दक्षिण एसियाली एथलेटिक्समा माल्दिभ्स छोटो दूरीको दौड ‘स्प्रिन्ट’ को लागि राम्रो मानिन्छ । ‘१ सय, २ सय मिटर र १ सय गुणा ४ सय मिटर रिलेमा पदक जित्ने लक्ष्य राखेका छौं । अरु स्पर्धामा राष्ट्रिय कीर्तमान बनाउने आस छ,’ निजामले भने ।

सइद हसनले १ सय र २ सय मिटरमा माल्दिभ्सलाई १२ औं सागमा रजत पदक दिलाएका थिए । यसपालि पनि उनी दुवै स्पर्धामा भारत र श्रीलंकाली स्प्रिन्टरलाई चुनौती दिनेछन् । माल्दिभ्सका केही खेलाडीले विगतमा पनि काठमाडौं आएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ट्रेनिङ गरेका थिए । तर ती खेलाडीहरू १३ औं सागको टिममा नरहेको पनि प्रशिक्षक निजामले बताए ।

१३ औं सागमा समावेश २६ खेल काठमाडौं, पोखरा र जनकपुर मंसिर १५ देखि २४ सम्म सञ्चालन हुँदै छ । यसमा दक्षिण एसियाका ७ देशका ३ हजार बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कांस्य पदकका लागिप्रतिस्पर्धा गर्नेछन् ।

सागअन्तर्गत पौडी सातदोबाटोस्थित निर्माण भइरहेको वातानुकूलित पोखरीमा मंसिर १९ देखि २३ सम्म तथा एथलेटिक्स दशरथ रंगशालामा मंसिर १७ देखि २१ सम्म आयोजना हुनेछ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.