सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो?
भारतीय पक्षले सीमा अतिक्रमण गरे पनि सरकारले पहलकदमी नगरेको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
नेविसंघले मंगलबार काठमाडौंमा प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता ल्याउन र राष्ट्रियताको पक्षमा उभिन सरकारलाई आग्रह गरेको हो।
नेविसंघ काठमाडौं जिल्ला समितिले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो?, केपी ओलीको राष्ट्रवाद हेरियो राष्ट्रकै नक्सा फेरियो’ नारासहित प्रदर्शन गरेका हुन्।
नेविसंघले राष्ट्रियताका पक्षमा सरकारलाई सघाउने पनि बताएको छ।
‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्रीज्यू हाम्रो कालापानी कहाँ छ?’ भन्ने नारा पनि नेविसंघले लगाएको थियो।
चाबहिलमा प्रदर्शन गर्दै नेविसंघले प्रधानमन्त्री ओलीको राजीनामा पनि मागे।
अतिक्रमित भूमि फिर्ता ल्याउन र भारतसँग कूटनीतिक पहल गर्न प्रधानमन्त्री असफल भएको आरोप नेविसंघको छ।
सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन गर्न निर्देशन दिएपछि दिनुहुँजसो नेविसंघले सडकमा प्रदर्शन गर्दै आएको छ।
भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेकलगायत नेपालका भूमि पनि समावेश गरेपछि नेपालमा विरोध भइरहेको छ।
भारतीय पक्षले भने नयाँ नक्सामा नेपालका भूमि समावेश नगरिएको दाबी गरेको छ।