Nepal's No. 1 Digital Newspaper

फोक्सुन्डोको मोहनी रुप

पानीको रंग कस्तो हुन्छ ? शे-फोक्सुन्डोको डिलमा उभिएपछि तपाईंले भन्नुहुनेछ, निख्खर नीलो । गाढा नीलो । यस्तो लाग्छ, मानौं कञ्चन आकाशको एउटा अंश धर्तीमा बिच्छ्याएको हो ।

पत्रे चट्टानले घेरिएको विशाल जलाशय देखेपछि एकछिन त तपाईं भाव शून्य हुनुहुनेछ । बारम्बार चलिरहने हावाको झोंकासँग लहरिने पानीको छालले तपाईंलाई रोमाञ्चक तुल्याउनेछ । र, यी दृश्यहरुमा एकाकार हराईरहँदा तपाईंले आफैँलाई भुल्नुहुनेछ ।

Order Now: 98510-87891

न घर सम्झनुहुनेछ, न भाइबन्धु । न धन सम्पति, न ऋणभार । न सुख-सयल, न दुःख कष्ट । सबैकुरा भुल्नुहुनेछ । अनि यो मोहक जलकुण्डको सौन्दर्यमा एकोहोरिनुहुनेछ ।

दुई वर्षदेखि मलाई लोभ्याइरहेको थियो, फोक्सुन्डोले । जान्छु, जान्छु भनेर पनि मेलोमेसो मिलिरहेको थिएन । यसपाली दशैंको फुर्सदमा साइत जुर्‍यो । टीकाको भोलिपल्ट मैले आफूलाई यात्राका लागि सम्पूर्ण रुपमा तयारी गरिसकेको थिएँ ।

अक्सर म एक्लो यात्रा रुचाउँछु । भनिन्छ नि, रमाइलो गन्तव्यमा होइन यात्रामा हुन्छ । म पनि आफ्नो यात्रालाई सकेसम्म रोमाञ्चक र स्मरणीय बनाउने यत्न गर्छु । एक्लो यात्रा गर्नुको अर्थ पनि त्यही हो ।

धेरै जना वा समूहमा यात्रा गर्नु सहज हुन्छ । आपत-बिपतमा सहयोग हुन्छ । कतिपय जोखिमबाट बच्न सकिन्छ । त्यसैले एक्लो यात्रा आफैँमा जोखिमयुक्त चाहिँ हुन्छ । तर, मलाई यात्रामा त्यही जोखिमसँग खेल्न रुचि लाग्छ ।

यात्रा भनेको पूर्वतयारी वा पूर्वनिर्धारितभन्दा पनि अप्रत्यासित राम्रो हो भन्ने लाग्छ । त्यसरी यात्रा गर्दा मात्र नयाँ स्थानको यात्रामा असली मज्जा लिन पाइन्छ । टीकाको भोलिपल्ट चाउचाउ, बिस्कुट, ड्राइप|mुट्स, केही औषधि, लुगाफाटो जोहो गरेर म यात्रामा निस्किएँ । यो यात्रा शे-फोक्सुन्डोको लागि थियो ।

मेरो घर, दाङको लमही । त्यहाँबाट बाँकेको कोहलपुर पुगियो । कोहलपुरबाट बस यात्रा सुरु भयो । बस यात्राका क्रममा केही साथी भेटिए, फोक्सुन्डो हिँडेका । उनीहरुसँगै सल्यान, जाजरकोट हुँदै रुकुमको रारी बजारसम्म पुग्यौं । रारीबाट हाम्रो जीप यात्रा सुरु भयो । यतिबेलासम्म मेरो यात्रामा अरु आठ-दश जना सहयात्री थपिइसकेका थिए ।

बाटोमा भेटिने ती सहयात्रीहरुसँग गोलबद्ध भएपछि के सजिलो भयो भने तुरुन्तै गाडी भरिने र कुदिहाल्ने । नभए यात्रु पर्खेर बस्नुपर्ने अवस्था आउनसक्थ्यो । तर, हाम्रो एउटा जत्था नै तयार भएकाले गाडी भरिन्थ्यो । हुईँकिहाल्थ्यो ।

यसरी यात्रा गर्दा एउटै गाडीमा भने भर पर्न सकिँदैनथ्यो । अप्ठ्यारो बाटो, ठूला नदी भएकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न गाडी परिवर्तन गरिरहनुपर्ने । डोल्पाको सुलिगढसम्म पुग्दा हामीले ६ वटा गाडी बदल्नु परेको थियो ।

सदारमुकाम दुनैभन्दा डेढ किलोमिटर वर छ, सुलिगढ । अब हामीले त्यही ठाउँबाट पैदल यात्राका लागि तयार हुनुपथ्र्यों । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पनि त्यहीँबाट सुरु हुने ।

पैदल यात्राको आफ्नै रमाइलो छ । बाटोमा एकपछि अर्को गर्दै भेटिएका सहयात्रीसँगै मैले पैदल यात्रा सुुरु गरेँ । त्यस दिन हामीले कागेनीमा गएर खाना खायौं । बेलुकीको बास फापरबारीमा भयो । भोलिपल्ट बिहानै उठेर रेची हुँदै तपिजामा पुगियो । तपिजामा खाना खाइयो । त्यहाँ एउटा जापान सरकारको सहयोगमा बनेको आकर्षक विद्यालय पनि रहेछ ।

तपिजाबाट हाम्रो पैदल यात्रा अरु कठिन र संघर्षशील रह्यो । त्यहाँबाट कहिले ठाडो उकालो त कहिले भिरालो बाटो छिचोल्नुपर्ने । एरिक भ्यालीको फिल्म ‘क्यारभान’ छायांकन भएको बाटो हो सायद । ‘क्यारभान’मा आङ जिरिङ्ग हुने भिरालो बाटो, फेदमा गडगडाएर बगिरहेको हिमाली खोला हेरिएको थियो । त्यही बाटो हुँदै हिँड्नुपर्दा मनमा कता कता डर पलाइरह्यो । हिँड्दा हिँड्दै थोरै तलमाथि भइयो भने ज्यानको टुंगो नहुने । एकातिर त्रासदी, अर्कोतिर रोमाञ्चकता । त्यो पैदल यात्रा बिर्सिनसक्नुको थियो ।

निरन्तर चार/पाँच घण्टा उकाली-ओराली गरेपछि पाँच बजेतिर हामी यस्तो भू-स्वर्गको सामुन्ने उभिन पुगेका थियौं । जसको बयान गर्दा मेरो हृदय रोमाञ्चकताले टिलपिल हुन्छ ।

हाम्रो आँखा अगाडि थियो, कान्जिरोवा हिमालको काखमा थपक्क बसेको विशाल फोक्सुन्डो ताल । दुई वर्षदेखि मेरो नाङ्गो आँखाले हेर्न खोजिरहेको दृश्य साक्षात्कार गर्दै थिएँ । त्यो मोहक जलाशय नियालिरहँदा अघिसम्मका दुःख, कष्ट कहाँ गायव भयो ?

यो ताल समुन्द्री सतहदेखि ३९ सय मिटरको उचाईमा छ । नेपालकै सबैभन्दा गहिरो र ठूलो ताल पनि यही हो । यसको लम्बाई ४ दशमलव ८ किलोमिटर र चौडाई १ दशमलव ६ किलोमिटर रहेछ । गहिराई चाहि ६ सय ५० मिटर ।

फोक्सुन्डो तालबाट एउटा झरना पनि बग्छ । सुलिगाँड झरना । तालको आसपासमा २० वटा बौद्ध स्तुफ छ । यहाँ गुम्बा पनि छ । तिब्बेतियनहरुको बसोबास रहेको छ ।

शे-फोक्सुन्डोमा त्यसबेला पनि आगन्तुकहरुको चहलपहल थियो । कतिपय नेपालीहरु दशैंको मेसोमा त्यहाँ पुगेका रहेछन्, म जस्तै । विदेशी पर्यटक भने सोही पैदल मार्ग हुँदै अगाडि बढ्दै थिए ।

हामी अर्को दिन पनि फोक्सुन्डोसँग रमाइरह्यौं । त्यहाँको चिसो सिरोटोसँग खेलिरह्यौं । खुला आकाश, त्रिभुज आकारका पहाडहरु । माझमा विशाल जलाशय । यति सुन्दर ठाउँले यसै पनि मोहनी लगाइरने । तर, यात्री हो, सधै त्यही बसिरहन नसकिने । अन्ततः तेस्रो दिन फोक्सुन्डोलाई बाइबाइ गरियो ।

शे-फोक्सुन्डो पुगेपछि लाग्यो, हाम्रो मुलुकमा कति लोभलाग्दा स्थानहरु छन् । यी स्थानहरु हामीले देख्न पाएका छैनौं । स्पर्श गर्न पाएका छैनौं ।

मलाई लाग्छ, हामीले वर्षमा एक पटक भएपनि आफ्नै मुलुकको फन्को लगाउनुपर्छ । आफ्नो मुलुकको कुनाकन्दरा चाहार्नुपर्छ । घुम्ने संस्कृतिको विकास गर्नुपर्छ


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.