Nepal's No. 1 Digital Newspaper

लक्ष्मीपूजाको दिन कुलमान घिसिङ आफैं भारप्रेषण केन्द्रमा खटिए

लक्ष्मीपूजाको दिन विद्युत माग १०८९ मेगावाट रेकर्ड

११ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ ।

Order Now: 98510-87891

नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ मेगावाटले कम हो ।

अघिल्लो वर्ष लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड ११०५ मेगावाट थियो । गत आर्थिक वर्षभरिको पिक डिमाण्ड भने १३२० मेगावाट रेकर्ड गरिएको थियो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब ३०० मेगावाट छ ।

भारप्रेषण केन्द्रमा कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । घिसिङको साथमा सञ्चालकहरु चेतराज जोशी, विश्वप्रकाश गौतमसहितका प्राधिकरणका उच्च अधिकारीहरु पनि थिए ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताए ।

‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौं, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ती बाल्न आग्रह गरेका थियौं, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली संचालनका लागि राम्रो हो,’ उनले भने ।

‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिँदो रहेछ, अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’

गतवर्ष जस्तै यसवर्ष पनि फाट्टफुट्ट केही स्थानमा बाहेक लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिनमा काठमाडौंको चपली-शिवपुरी, सुनसरीको दुहवी-धरान, रुपन्देहीको बुटवल-नयाँ मिल र बाँकेको कोहलपुर-गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भई केहीछिन विद्युत् आपूर्तिमा अवरोध भएको थियो । तर तीन लाइनहरुलाई करिब २ मिनेटभित्रै सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

‘काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बसुन्धरा, धुम्बाराही, सामाखुसी क्षेत्रमा रहेका स्थानीय ट्रन्सर्फमरमा समस्या देखिएको थियो, तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सफल भयौं,’ प्रवक्ता अधिकारीले भने ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

तीन वर्षअघि प्राधिकरणले लक्ष्मीपूजाकै दिनबाट नेपाललाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरेको थियो । अहिले नेपाल लोडसेडिङमुक्त छ ।

तीन वर्षअघिको त्यो लक्ष्मी पूजा, जहाँबाट मेटियो ‘अँध्यारो युग’ !

काठमाडौं । चारवर्ष अघिसम्म तिहारको बेलामा बेलुकी बत्ती बाल्न पाउने फिडरका उपभोक्ताहरु आफूलाई भाग्यमानी सम्झिन्थे, जसले बाल्न पाउँदैन थिए, उनीहरु त्यसलाई सहजै स्वीकार्थे । त्यतिबेला सबैको बुझाई थियो,’लोडसेडिङ नेपाली जनताको नियति हो, जुन कहिलेबाट अन्त्य हुन्छ भन्ने अनुमान गर्न सकिँदैन।’ तीनवर्ष पहिले ०७३ को तिहारमा अच्चमै भयो ! नेपाल विद्यत् प्राधिकरणले ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना नै निकालेन ।

अघिल्ला धेरै वर्षहरुमा पत्रिकाभरि छापिने त्यस्ता सूचना त्यो वर्ष नआउनुको कारण थियो, प्राधिकरणको नेतृत्व परिवर्तन र कुलमानको योजना । तीनवर्ष अघि भदौको अन्तिममा प्राधिकरणका प्रमुखका रुपमा प्रवेश गरेका कुलमान घिसिङले कर्मचारीलाई तिहारमा त्यस्तो सूचना निकाल्न दिएनन् ।

उनले प्राधिकरणका विभागीय प्रमुखहरुलाई बोलाएर भनेका थिए, ‘उज्यालो पर्व तिहारमा बत्ती नबाल्नू भनेर के सूचना निकाल्नु !  बरु सकियो भने काठमाडौं र पोखरामा बिजुली नकाटिने गरी आवश्यक प्रवन्धहरु गरौं ।’

प्राधिकरणले पाँच वर्षअघि निकालेको सूचना

तिहारको लक्ष्मी पूजाकै दिनमा वर्षभरिकै सबैभन्दा बढी विजुलीको माग हुन्छ । आजको दिन काठमाडौंमा लाइन नकाट्ने व्यवस्थाका लागि सबै तयारी गर्न लगाए उनले । र, लक्ष्मी पूजाकै दिनमा लोडसेडिङ हटाउन ‘परीक्षण’ गर्ने योजना तयार भयो ।

कुलमान टिमलाई त्यतिबेला तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र तत्कालीन ऊर्जा सचिव अनुपकुमार उपाध्यायको दरिलो साथ र सहयोग थियो । लोडसेडिङ हटाउने योजना पनि मन्त्री शर्मा र उपाध्यायको प्रत्यक्ष सभागितामा नै बनाइएको थियो ।

त्यसअनुसार घिसिङसहित प्राधिकरणका उच्च अधिकारीको टोली लक्ष्मी पुजाका दिनमा काठमाडौंको स्युचाटारस्थित विद्यत भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा पुग्यो । टोलीले काठमाडौंमा त्यसदिनको मागको अवस्थालाई ‘रियल टाइम’ मा हेरिरह्यो ।

पूर्वयोजनाअनुरुप मागअनुसार आपूर्तिको प्रवन्ध गरेर काठमाडौंमा कतै ओभरलोडका कारण बिजुली नकाट्न प्राविधिकलाई निर्देशन दिए घिसिङले । साँझ छिप्पँदै र रात पर्दै जाँदा पिक डिमान्डको उच्चतम् विन्दु १३१५ मेगावाट पुगेर तलतिर र्झन थाल्यो ।

त्यसपछि काठमाडौंको ‘उच्च माग’लाई हेरेर आपूर्तिको योजना बनाउन सकिने निश्कर्ष निकाल्दै कुलमानले राति १० बजेमात्रै स्युचाटार छाडे । त्यसपछि १२ बजेसम्म प्राधिकरणको टोली काठमाडौंमा सबै वितरण केन्द्र पुगेर परीक्षणको सफलताबारे केन्द्र प्रमुखसँग ब्रिफिङ लिए ।

विगतकै जस्तो ‘अँध्यारो अपेक्षित’ त्यो तिहारमा लक्ष्मीपूजाका दिनमा पनि उज्यालो नै भइरह्यो । प्राविधिक कारणबस फ्युज गएका कारण काठमाडौं महाराजगञ्जका दुईवटा घरमा बाहेक कतै पनि बिजुली बत्ती नबलेको सूचना प्राधिकरणमा आएन । पोखरामा पनि त्यस दिन बिजुली काटिएन ।

त्यसदिन भएको ‘चमत्कार’लाई थोरै काठमाडौंबासीले नोट त गरे, तर के कारणले बिजुली गएनभन्ने सोधखोज खासै भएन । तिहार सकिएलगत्तै खबरहरु आए, अब काठमाडौं लोडसेडिङमुक्त हुन्छ । हेडलाइनमा छाए, तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

यो काठमाडौंका लागि मात्रै सरप्राइज थिएन, देशभरमै यो खबरले तरंग ल्यायो । प्राधिकरणले अब क्रमैसँग देशभर नै लोडसेडिङ हटाउने घोषणा त्यसैबेला गरेको थियो ।

यसले देशभर कुलमान चर्चाको पात्र बने । तर, उनले यो ऊर्जामन्त्रालय र प्राधिकरणको ‘टिम इफोर्ट’का कारण सम्भव भएको बताइरहेका थिए । आज पनि उनी त्यही भनिरहेका छन् ।

‘हामीलाई काठमाडौ लोडसेडिङ मुक्त भयो भनेपछि जनताबाट प्राप्त प्रतिक्रियाले थोरै इमोसनल पनि बनायो । त्यसकै प्रेरणामा हामीले क्रमसैँग देशभरको लोडसेडिङ हटाउन सक्यौं,’ कुलमान सम्झन्छन् ।

कसरी भयो सम्भव ?

प्राधिकरणले त्यतिबेला उपलब्ध बिजुलीलाई ब्यवस्थापनलाई नै बढी ध्यान दिएको थियो । बिजुलीको स्रोत विगतमा पनि त्यही थियो, लोडसेडिङ हटाउने समयमा पनि त्यही नै । सिस्टमलाई ब्यवस्थापन गर्ने कुरामा नै कुलमान र उनको टिमले जोड दियो । र त्यसैअनुरुप प्रयत्न भयोे ।

मुख्य रुपमा वर्षायाममा खोलामा पानीको सतहसँगै बिजुलीको उत्पादन बढ्छ । यो भनेको जेठ असारदेखि सुरु हुन्छ र असोजसम्म जारी रहन्छ । यहीबेलामा अधिकतम् बिजुली उत्पादन हुन्छ ।

असोजपछि नदीहरुमा बिस्तारै बहाब घट्दै जान्छ र माघ/फागुनमा सबैभन्दा न्यनतम् फ्लोमा पुग्छ । हिउँदमा बिजुलीको उत्पादन पनि निकै कम हुन्छ । अहिले आपूर्ति र माग साइडको म्यानेजमेन्टबाटै लोडसेडिङ व्यवस्थापन भएको हो ।

अर्को विषय चाँही कसरी बिजुलीलाई समान वितरण गर्ने भन्ने पनि थियो । असमान तरिकाको वितरणका कारण पनि समस्या थियो । यसका लगि ब्यवस्थापन पक्षमा इमान्दारिता चाहिएको थियो ।

जनताको घरमा लोडसेडिङ गराएर उद्योगहरुलाई कमिसनकै भरमा २४ घण्टा नै बिजुली दिने कुरालाई प्राधिकरणको फेरिएको नेतृत्वले स्वीकारेन । त्यसअघि प्राधिकरणको नेतृत्वले यस कुरामा इमान्दारिता देखाएको थिएन । त्यसैले पनि जनस्तरमा बिजुलीको संकट ठूलो देखिएको थियो ।

कुलमानले प्राधिकरणमा आउनासाथै ‘डेडिकेटेड’ का नाममा अनियिमत तवरबाट बाँडिएका लाइनहरु काटिदिए । त्यो बिजुली नागरिकस्तरमा प्रयोग हुने गरी उनले सिस्टमभित्र ल्याए ।

प्राधिकरणले त्यतिबेला उपत्यकाबाहिर पनि लोडसेडिङ सेड्युल निकाल्न पनि बन्द गरिदियो । अधिकतम् ब्यवस्थापन गरेर सकेसम्म लोडसेडिङ नगर्ने प्रयत्न गर्‍यो । विस्तारै उपत्यकाबाहिर लोडसेडिङ हटाउँदै लागियो । नागरिकस्तरमा आशा जाग्दै गयो । जसले गर्दा प्राधिकरणले गर्ने अपीलमा नागरिकहरुले साथ र सहयोग गरे ।

त्यतिबेला सिस्टमको सही रुपमा सञ्चालन गर्नु नै निकै महत्वको विषय थियो । बेलुकाको समयमा ठूला पिकिङ जलविद्युत गृहहरुको उपयोग गरियो । पानी रोकेर पिक समयमा कालीगण्डकी, मर्स्याङ्दी, त्रिशुली लगायतका प्लान्टहरु चलाइयो । यी आयोजनाबाट पानी स्टोर गरेर पिक हुन्छ ।

हिउँदमा कालीगण्डकीले दिउँसो ७० मेगावट दिए पनि बेलुका १ सय ४० मेगावाट दिन सक्छ । किनभने दिउँसो कम चलाएर बेलुका आवश्यक मागलाई मिट गर्ने गरी विजुली निकाल्न सकिने कुरालाई प्राधिकरणले धेरै ध्यान दियो । बिहान पनि सिस्टम पिक हुन्छ । बेलुकाको करिब ९० प्रतिशत पिक बिहान हुन्छ । बिहानको पिकलाई रातिबाटै म्यानेज गर्ने क्रम पनि सुरु भयो । मध्यराति बिजुलीको डिमान्ड कम हुन्छ । यस्तै बेलुकाको पिकलाई दिउँसो होल्ड गरेर म्यानेज गर्ने काममा कुलमानले तदारुकता देखाए ।

आयोजनाहरु मर्मतका लागि हिउँदसम्म कुर्ने क्रम पनि कुलमानले हटाए । उनले क्रमैसँग हिउँद लाग्नुअघि नै आयोजनाको नियमित मर्मत सम्भार गराउने र प्राविधिकरुलाई प्रोत्साहन भत्ता थपेर जतिसक्दो छिटो मर्मतको काम गराउने काम सुरु गरे ।

प्राधिकरणले त्यतिबेला उद्योगको मागलाई ‘पिक आवर’मा व्यवस्थापन गर्‍यो । यसका लागि बेलुका उद्योगलाई विजुली दिइएन । बेलुका ३ देखि ४ घण्टा उद्योगको बिजुली काटियो । लोडसेडिङ नहट्दासम्म कसैले ८ घण्टा, कसैले १२ घण्टा र कसैले लगातार पाएको अवस्था थियो । त्यो विभेद पनि हट्यो । सबै उद्योगले २० घण्टा पाए । ८ घण्टा पाउनेले पनि २० र २४ पाउनेले पनि २० घण्टा पाए पछि उद्योगहरु पिक आवरभन्दा बाहेककका समयमा चले । जसले सुरुकै वर्षमा देशमो औद्योगिक उत्पादकत्व बढ्यो ।

प्राधिकरणले बिजुली आयातको ब्यवस्थापन पनि आवश्यक्ता अनुसर मिलायो । उच्च दरमा भारतबाट बिजुली आयात पनि गरेन । प्राधिकरणले भारतबाट ४० मेगावाट थप विजुली ल्याएर लोडसेडिङ हटायो ।

प्राधिरकणले डिमान्ड साइड व्यवस्थापनमा पनि ध्यान दियो । डिमान्डलाई घटाउन सकिन्छ भनेर पिकलाई बल लगाएर घटायो । नागरिकहरुलाई बेलुकीको समयमा ठूला विद्युतीय उपकरण नचलाउन अपील गरियो । नागरिकले त्यसलाई स्वीकारे , जसले प्राधिकरणको टिमलाई माग व्यवस्थापनमा ठूलो भार परेन ।

विस्तारै उद्योगहरुलाई पनि २४ घण्टा नै विजुली दिन थालियो । तर, अपेक्षित दरमा उद्योगबाट पनि लोड थपिएन । अहिले देशका कुनै भाग र क्षेत्रमा लोडसेडिङ छैन । प्राधिकरण ८ अर्बको घाटाबाट वार्षिक ७ अर्बको नाफामा पुगेको छ ।

अध्याँरो विगत

त्यो तिहारअघिसम्म लोडसेडिङका कारण देश चरम समस्यामा थियो । व्यवसायिक र औद्योगिक क्षेत्र निरुत्त्साहित थियो भने नागरिकले बेेलुकाका समयमा विजुली पाउनु लगभग सपनाजस्तै भएको थियो ।

लोडसेडिङ तालिका अनुसार मात्रै बिजुली वितरण हुन्थ्यो । कहाँ कति माग छ र कसरी आपूर्ति मिलाउने भन्ने कुनै योजना बन्दैन थियो । वर्षायाममै घोषणा हुन्थ्यो, ‘यो वर्ष हिउँदमा यति (अधिकतम् अनुमान) लोडसेडिङ हुन्छ ।’

कुलमान घिसिङको भाषामा भन्दा त्यतिबेला हिउँदमा यति घण्टा लोडसेडिङ हुन्छ भनेर अनुमान लगाउन सक्ने मान्छे त्यतिबेला ‘हिरो’ सावित हुन्थ्यो ।

जब वर्षा सकिएर खोलमा पानीको सतह घट्दै जान्थ्यो, त्यसपछि प्राधिकरणमा हाकिमको टेबलमा लोडसेडिङ बढाउने प्रस्तावसहितको तालिका आइपुग्थ्यो । कुनै सोचविचार नगरी योजनासम्म नबाई त्यो फाइल सदर हुन्थ्यो र पत्रिकामा विज्ञापनका रुपमा तालिका छापिन्थे ।

सिस्टमको खास माग कति हो र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै गृहकार्य प्राधिकरणका उपल्ला पदमा बस्नेहरुले गर्दैन थिए । त्यसकारण लोडसेडिङको नयाँ तालिका स्वीकृत हुनासाथै ‘नो लाइट’मा पुग्थ्यो, र प्राविधिकले तालिका अनुसार केही पनि सोचविचार नगरी फेडरहरुमा लाइन काट्ने काम गर्थे ।

लोडसेडिङको तालिका मागसम्म तादम्यता नमिलाई निकालिँदा बढी भएको बिजुली ठूला उद्योगहरुलाई २४ घण्टा उपलब्ध गराउन प्राधिकरणका हाकिमहरुलाई सजिलो हुन्थ्यो ।

त्यसैकारण उद्योगले बिजुली पाउँदा नागरिक अन्धकारमा रात बिताउँथे । पानी तान्नदेखि मोबाइल चार्ज गर्न पनि लोडसेडिङको तालिका हेर्नुपर्थ्यो ।

प्राधिकरणका पिकिङ आयोजनाहरु पिक आवरमा खासै चल्दैनथे । हिउँद याममा नै उत्पादन केन्द्रहरु मर्मतका लागि बन्द गरिन्थे । विजुली जाँदा जनता मर्कामा पर्छन् भन्ने कुनै चिन्ता लिने कोही थिएनन् ।

फाइल फोटो

लोडसेडिङले आक्रान्त भएका कारण शहरका घर-घरमा इन्भरर्टर थिए । व्यवायिक तथा औद्योगिक प्रतिष्ठानलाई जेनेरेटर नकिनी सुखै थिएन । जसले इन्भर्टर र जेनेरेटरको ब्यापार नेपाललको उत्कृष्ट सम्भाब्यता भएको व्यवसायमा गनिन थालेको थियो । २ सय मेगावाटसम्म विजुलीको माग इन्भर्टरहरुले बढाएका थिए । लाइन काटिने समयमा सबैतिर बिजुलीको लोड अत्यधिक भएर सिस्टम डाउन भएको भयै हुन्थ्यो ।

त्यतिबेला प्राधिकरणको मास्टर स्टेसनबाट इञ्जिनियरहरु तालिका अनुसार नै प्रणालीको व्यवस्थापन गर्थे । आमनागरिकलाई पनि लोडसेडिङ हुनु र त्यसलाई झेल्नु नौलो थिएन ।

दैनिक १८ घण्टाबाट नाघिसकेको लोडसेडिङ २४सै घण्टा नजिक नै पुगे पनि उपभोक्तासामु स्वीकार्नुको विकल्प थिएन । प्राविधिकहरुलाई पनि बिजुलीको भार व्यवस्थापनमा प्राधिकरण नेतृत्वको तीव्र दबाब थिएन ।

अझै १० वर्ष लोडसेडिङ बाँकी रहने ऊर्जाविदको अनुमान पनि सार्वजनिक भइरहेकै थियो । प्राधिकरणको नेतृत्व पनि लोडसेडिङ तत्काल नहट्ने सार्वजनिक उद्घोष गरेर हिँडेको थियो ।

ऊर्जा मन्त्रालय पनि कागजकै योजनामा रमाइरहँदा उपलब्ध बिजुलीको व्यवस्थापनमा चुकेको थियो, सरकार । व्यापारी र उद्योगपतिलाई साँठगाँठमा ठूला उद्योगहरुलाई ‘डेडिकेटेड’ लाइनका नाममा कमसिन खाँदै बिजुली बेचेर आमनागरिकमाथि लोडसेडिङ थोपरिएको थियो । जसको रहस्य पछि मात्रै खुल्दै गयो ।

बिजुली प्राविधिकहरु मात्रै होइन, प्राधिकरणका कुनै पनि विभागले गम्भीरतासाथ कार्यसम्पादन गरिरहेका थिएनन् । पुगेसम्म मात्रै बिजुली वितरण गर्दा हुन्थ्यो । आपूर्ति व्यवस्थापनमा मास्टर स्टेशनका प्राविधिकलाई पनि खासै ‘वर्कआउट’ र ‘प्लान’ गर्नु पर्दैनथ्यो ।

यस्तै भद्रगोल र अव्यवस्थाका कारण प्राधिकरण घाटामा थियो । प्राधिकरणका कर्मचारी आफूलाई ‘विद्युत्’को कर्मचारी भनेर सकेसम्म चिनाउँदैन थिए । उपभोक्ताको विश्वास प्राधिकरणमाथि एक रत्ति थिएन ।

‘चमत्कार होइन, साइन्स हो ‘

अब अवस्था ठ्याक्कै उल्टिएको छ । यो तीन वर्षका बीचमा देशभरबाट लोडसेडिङ हटेको छ । उद्योगमा पनि लोडसेडिङ छैन । नागरिकले विश्वास गरेका सीमित निकायमध्ये प्राधिकरण पनि एक बनेको छ । यहाँका कर्मचारीलाई आफ्नो संस्थाप्रति उच्च गर्वबोध छ ।

लोडसेडिङको अन्त्यले देशको आर्थिक वृद्धिदरमा खास सहयोग गरेको छ । औद्योगिक तथा व्यवसायिक वातावरण सुध्रिएको छ । नागरिकमा जलविद्युतमा नेपालले केही गर्न सक्छ भन्ने विश्वास पलाएको छ । एकाएक लोडसेडिङ हटेर यो अवस्था सिर्जना हनु भनेको सर्वसाधारणको भाषामा एउटा चमात्कार नै हो ।

कुलमान घिसिङको विश्लेषणमा लोडसेडिङ हट्नुमा उपभोक्ताको विजुली खपतको प्रवृत्ति बदलिनुले नै सबैभन्दा ठूलो भूमिका खेलेको छ । प्राधिकरणले गरेको अपीललाई सहर्ष स्वीकारेर नागरिकस्तरबाट त्यतिबेला भएको सहयोगलाई कुलमान भुल्न सक्दैनन् । उनको भनाइमा प्राधिकरणको टिम र सरकारी स्तरबाट भएको प्रयासले पनि लोडसेडिङको नामोनिशान मेटाउन सहयोग गर्‍यो ।

उनी भन्छन्, ‘लोडसेडिङ हट्ने विषय कुनै चमत्कार होइन । बिजुली एउटा साइन्स हो, जुन सही व्यवस्थापनको पाटो पनि हो । त्यही यहाँ भएको छ ।’

अबको लक्ष्य

अब कुलमानको ध्यान नागरिकलाई गुणस्तरीय विजुली कसरी दिने भन्नेमा केन्द्रित छ । नागरिकलाई एक मिनेट पनि प्राविधिक कारणबाट अध्याँरोमा बस्नु नपर्ने अवस्थाको सिर्जनामा अब आफू केन्द्रित हुने घिसिङ बताउँछन् ।

उत्पादनगृह, प्रसारण लाइनदेखि वितरण लाइनसम्मलाई बलियो र विश्वयसनीय बनाएर बिजुलीको उपलब्धता सहज गर्नेमा नै प्राधिकरण केन्द्रित छ । त्यसका लागि स्मार्ट ग्रीड, स्मार्ट वितरण लाइन र मिटरसम्मका अवधारणा अनुसार काठमाडौंमा काम सुरु भएको छ ।

घिसिङले देशभित्र बिजुली उत्पादनको सम्भाव्यतालाई ध्यानमा राखेर जतिसक्दो धेरै बिजुली विदेश निर्यात गर्ने र त्यसबाट मुलुकलाई लाभ दिलाउने किसिममा योजना पनि प्राथमितामा रहेको बताए ।

‘मूलतः अब लोडसेडिङ कुनै हालतमा नफर्किने वातावरण तयार भएको छ । अब हामी उपलब्ध स्रोतलाई आधुनिक बनाउने र सम्भावनाहरुलाई यथार्थमा बदल्ने कुरामा जोड दिइरहेका छौं,’ घिसिङ भन्छन् ।

यो  आथिर्क वर्षमा माथिल्लो तामाकोसी सञ्चालनमा ल्याएर भारतमा विजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य छ । वर्षामा बढी भएको विजुली भारत पठाएर हिउँदमा नपुग हुने विजुली भारतबाट ल्याउने गरी ईनर्जी बैंकिङ गर्ने योजना छ । यसअनुसार भारतसँग समझदारी पनि भएको छ ।

प्राधिकरणले यो तीनवर्षमा विभिन्न गेमचेन्चर आयोजनाहरुको निर्माणको पूर्वातयारी पनि तीव्र बनायो । माथिल्लो अरुण लगायतका ठूला आयोजनाहरु अब अघि बढाउने स्थितिमा पुगेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले प्राधिरकणलाई देशकै सबैभन्दा धेरै सफल संस्थान बनाउने उद्घोष गरिसेकको छन् । कार्यकारी निर्देशक घिसिङ र उनको टिम पनि सेवाको सदृढीकरण, विजुलीको अन्तर्राष्ट्रिय बजारीकरण र नयाँ आयोजनाहरुको निर्माणमा केन्द्रित भएर लागेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.