Nepal's No. 1 Digital Newspaper

इखले बनायो विश्वकै प्रभावशाली महिला

१ कात्तिक, काठमाडौं । ‘फुच्ची केटी ! तिमीले के नै गर्न सक्छौ र…?’

साढे २ वर्षअघिसम्म यस्तै भन्नेहरु अहिले बोनिता शर्मालाई ‘बधाई…तिमी यसको लायक थियौ’ भनिरहेका छन। बोनिता छक्क पर्दै आफैंलाई सोधिरहेकी छिन्, ‘यो कसरी सम्भव भयो ?’

Order Now: 98510-87891

बोनिताले जवाफ पाउँछिन्, मिराकल अर्थात चमत्कार भयो । ‘विश्वका प्रभावशाली १०० महिला’ को सूचिमा आफ्नो नाम पर्नुलाई उनी जिन्दगीको सुखद ‘सरप्राइज’ पनि मान्छिन् ।

बुधबार मात्रै ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले समाजमा प्रभाव छोड्न सफल विश्वभरका १०० महिलाको सूची सार्वजनिक गरेको थियो । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधाका १०० महिलाको सूची सार्वजनिक गर्दा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको थियो ।

यो अनपेक्षित खबरले बोनिताको मुटुको धड्कन बढाउनुको साथै एकछिन दिमाग रन्थन्यायो । दिमाग नरन्थनियोस् पनि कसरी ? आफूले ‘आइडल’ मानेर उनीहरुकै पथ पछ्याइरहेको दुई दर्जनभन्दा बढी महिलाहरुसँगै उनको नाम थियो । उनका अनुसार सुरूमा एकछिन त विश्वास नै लागेन । विश्वास  नमानेर सुख !  बधाईका सन्देशले मोबाइल बजिरह्यो । दुनियाले पत्याइसकेपछि उनलाई पनि पत्याउन कर लाग्यो ।

अनि मनमनै भनिन्, ‘हो म पनि विश्वकै प्रभावशाली महिलाहरु मध्ये एक हुँ ।’

उनी मुस्कुराइन् ।

विश्वको सय महिलाको सूचिमा नाम आएपछि बोनितासँगै उनको कामबारे चासो बढेको छ । मानिसहरूले सोध्न थालेका छन्, ‘के त्यस्तो चमत्कार गरिछिन् ?’

बोनिता भन्छिन्, ‘चमत्कार केही होइन । सामान्य कुरालाई फरक तरिकाले प्रस्तुत गरेकी हुँ ।’

अर्थात उनको सोचले ल्याएको चर्चा हो यो । र उनलाई विश्वास छ, निकट भविश्यमा पनि चर्चा भइरहनेछ ।

अहिलेको विश्वव्यापी समस्या ‘क्यालोरी’ होइन, पोषण हो भन्ने बुझेकी बोनिताले पोषण र महिनावारी मालाको सोच विकास गरेकी थिइन् । त्यही सोच सार्वजानिक भएको छोटो समयमा उनी विश्वव्यापी रुपमा चिनिएकी हुन् ।

****

सन् २०१०  मा बोनिता किशोरवय उमेरमा हिड्दै थिइन् । भर्खर प्लस टु सकेकी उनको पनि अरू साथीहरु जस्तै अमेरिका जाने चाहना थियो । तयारी राम्रो हुदाँहुदै भिसा आवेदन अस्वीकृत भयो । भिसा ‘रिजेक्ट’ हुँदा  सपना चकनाचुर भएजस्तो लाग्थ्यो ।  आफ्नो संसार सकिएको जस्तो महशुस हुन्थ्यो । तर सधैं निराश भएर जिन्दगी चल्ने थिएन । विस्तारै पुरानो दैनिकीमा फर्किइन् । ‘पब्लिक हेल्थ’ विषय लिएर क्याम्पस भर्ना भइन् । ‘फुड एन्ड न्युट्रिसन’मा स्नात्तकोत्तर गरिन् ।

पढ्दै गर्दा गैररकारी संस्था (एनजीओ)मा काम सुरु गरिसकेकी थिइन् । तलब राम्रै थियो । जिन्दगी राम्रै चलिरहेको थियो । तर उनी खुसी हुन सकिनन्।

त्यसका दुई कारण थिए ।

पहिलो— नयाँ सोच र विचारको  सम्मान नहुनु ।

दोस्रो— तिमीहरु छोरी मान्छे, सानो मान्छे भनेर अवसर नै नदिने ।

केही नयाँ गरौं भन्ने सोच बोकेर हिँडिरहेकी बोनिताको दिक्दारी बढ्दै गयो । आफूलाई गज्जब लागेको ‘आइडिया’ सुनाउँदा वास्ता हुन्नथ्यो । ‘फर्मुला’ पछ्याएर काम गर्दा दिक्क लाग्न थालेपछि उनले सानो घेरामा बसेर गरिने कामबाट मुक्ति चाहिन् ।

तर चाहनाले मात्र मुक्ति सम्भव थिएन। त्यसका लागि जोखिम मोल्नुपर्थ्यो । उनी जोखिम उठाउन तयार भइन् । सँगै काम गर्ने साथी नेहा मल्लले पनि साथ दिने भइन् ।

तर, यो ‘रिस्क’ मात्रै संस्था जन्मिने ‘कोशेढुंगो’  थिएन।

जागिरको सिलसिलामा उनीहरु फिल्ड भिजिटका लागि ललितपुरको लुभू पुगेका थिए। लुभुमा उनीहरुले एउटा दर्दनाक घटना सुने।

घटना यस्तो थियोः

लुभुकी एक महिलाले २ महिनाको बच्चालाई काजु र बदाम घोटेर खुवाइन् । काजुको पेस्टको छोक्रा बच्चाको घाँटीमा अड्कियो । अस्पताल पुर्‍याउन नपाउँदै बच्चाको मृत्यु भयो ।  बच्चा मारेको आरोपमा ती महिला घरबाट निकालिइन् ।

घटना सुनेर बोनिता स्तब्ध भइन् । उपत्यकाकै अवस्था यस्तो छ भने दुरदराजको गाउँमा के होला भन्ने लाग्यो । चेतना भएको भए न बच्चाको मृत्यु हुन्थ्यो न महिलासँग घरबाट नै निष्काशित हुनुपर्थ्यो भन्ने पनि लाग्यो । आफू पोषणविद भएको नाताले यति सामान्य कुरा बुझाउन नसकेकोमा पछुताइन् । अनि मनमनै निर्णय गरिन्, ‘म ठुलो कुरा केही होइन, यही सामान्य चेतना फैलाउने काम गर्छु ।’

नेपाली समाजमा बच्चालाई जन्मनासाथ मह लगायत  अन्य खानेकुरा चटाइन्छ। तर, पोषणविदको कुरा मान्ने  भने बच्चा जन्मेको ६ महिनासम्म आमाको दुध नै पर्याप्त छ। यही सामान्य ज्ञान नहुदाँ लुभुमा त्यो दुर्घटना भएको थियो।

त्यो घटना सुनेपछि बिथोलिएको मष्तिष्कले पोषण मालाको आईडिया फुर्यायो। त्यो आइडिया उनी काम गरेको संस्थाले लागु नगर्ने पक्का थियो। उनले आइडियालाई दिमागमै सिमित राखिन्।

अजिंगरको आहारा दैवले जुराउछ भनेझै त्यही बेला एसिया प्यासिफिक युथ इनोभेसन च्यालेन्ज आयोजना भयो । उनले त्यही आइडिया त्यहाँ पठाइन् । छानिएर फस्ट राउन्डमा पुग्यो । थोरै भएपनि आत्मविश्‍वास बढ्यो ।

तर, एक्लै काम गर्न सहज र सम्मभव थिएन । संगै काम गरेका नेहा मल्ल, आशुतोषध्वज कार्की र मनिता राजोपाध्याय सहकार्य गर्न तयार भए।

यो सन् २०१६ को कुरा थियो ।

यही आइडिया ६ सय ५० बाट उत्कृष्ट ४५ मा पर्‍यो । उनी टिमको प्रतिनिधित्व गर्दै मलेसियामा गएर प्रस्तुति दिइन् । त्यहाँ विजेता घोषित हुने ३ जनामा बोनिता पनि थिइन् । ५ हजार अमेरिकी डलर सिडमनीसँगै उनले ‘मेन्टरसिप’ पनि पाइन् ।

त्यसपछि संस्था दर्ता गर्ने हिम्मत आयो । नाम जुर्‍यो— ‘सोचाइ– पोषणका लागि युवा ।’

यो संस्था दर्ता भएको ६ महिना मात्रै भएको छ । यो अविधीमा उनीहरुले अन्तराष्ट्रिय रुपमा चिनिने तीन वटा उपलब्धी हासिल गरिसकेका छन्।

उनी र उनको संस्था ‘सोचाइ’ले गत मे मा ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार हात पारेको थियो । दिगो विकास लक्ष्य नं २ को भोकमरी विधा अन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जित्नुको साथै एक वर्षसम्म ‘मोनिटरिङ’ पनि पाउने भयो ।

यो उपलब्धी हात परेको ६ महिना नबित्दै बोनिताले अर्को उपलब्धी हात पारेकी हुन् ।

छोटो समयमा पोषण र महिनावारी मालाकै आइडियाको कारण यत्रो उपलब्त्री हात पारेको बोनिता बताउँछिन । भन्छिन्, ‘सामान्य कुरालाई प्रभावकारी रुपमा प्रस्तुत गरेकाले यो सबै सम्भव भएको हो ।’

****

सोचाई समूहलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने पोषण मालामा रंगीबिरंगी दाना राखिएका छन् । माला भनिए पनि यो हातमा लगाउने ब्रासलेट हो।

पोषण मालामा २१ वटा दानाहरु छन् । जसमध्ये केही दानामा ०, ६, ९, १२ र २४ संख्या भनेर लेखिएको छ । संख्याले बच्चाको उमेर जनाउँछ भने रङले खाने कुराको समूह । ० देखि ६ मा सेतो रङ मात्र छ, जसले आमाको दूध मात्र खुवाउनुपर्छ भनेर बुझाउँछ । त्यसपछि सेतो, खैरो, निलो, पहेँलो, हरियो रङ छ । खैरोले अन्नबाली र आलु, पहेँलोले दाल र गेडागुडी, हरियोले सागसब्जी तथा निलोले मासुजन्य परिकार बुझाउँछ। यी सबै जानकारी चित्रमार्फत दिइन्छ ।

आमाहरुले पोषणबारे सजिलै बुझुन भन्ने अभिप्रायले यो माला बनाएको बोनिता बताउँछिन् ।

काठमाडौँका रैथाने आमाहरुलाई पनि पोषणको बारेमा ज्ञान नभएको पाएपछि मालाको आइडिया फुरेको उनको कथन छ । उनकाअनुसार कार्यक्रम गर्न गाउँगाउँ जाँदा रंगीचंगी माला देखेपछि आमाहरु चाख मान्दै हेर्न आउथेँ । उनीहरु मालाको माध्यमबाट परामर्श दिन्थे । परामर्श दिएको एक महिनापछि बोनिताको टिम फेरि त्यही ठाउँमा पुग्थ्यो । महिलाहरुले पोषण मालाले प्रभावकारी भएको भनेर प्रतिक्रिया दिन्थे ।

बोनिताकाअनुसार पोषण मालाको अर्थ बुझ्नेहरुले अरुलाई पनि त्यसको महत्व बुझाइरहेका छन् । पोषण मालाले आफ्नो बच्चालाई कहिले के, कस्तो खाना खुवाए भन्ने जानकारी दिन्छ । पोषणमाला आमाहरुको लागि एक किसिमको ‘अलरार्म’ जस्तै हो । ३६ प्रतिशत बालबालिकाहरु दीर्घ कुपोषण भोगिरहेको देशमा यो आवश्यक रहेको उनी बताउँछिन् ।

पोषणमाला जस्तै महिनावारी मालाको आइडियाले पनि बोनितालाई अन्तर्राष्ट्रिय रुपमा चिनाएको छ । अहिलेका किशोरी भोलिका सम्भावित आमा भएकाले उनीहरुलाई अहिले नै महिनावारीबारे जानकारी दिन आवश्यक रहेको बोनिता बताउँछिन् ।

यही सोचले जन्मियो, महिनावारी माला ।

महिनावारी मालामा रहेका २८ वटा दानाले २८ दिनको महिनावारी चक्र जनाउँछ । राता रङले महिनावरी हुँदा रगत बग्ने दिन जनाउँछन् भने हल्का सुन्तला रङले १४ औं दिनमा डिम्ब निस्किने बताउँछ । १० देखि १७ औं दानाले बच्चा बस्ने सम्भावना देखाउँछ । यसमा सार्न मिल्ने सानो रिङ पनि छ । यसबाट महिनावारी भएको दिनदेखि सार्दै समय थाहा पाउन सकिन्छ ।

महिनावारी मालाबाट धेरै किशोरीहरु लाभान्वित भएका छन् । ‘हातमा लाउने आकर्षक मालाले आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्ने बनाउँछ’ बोनिता भन्छिन्, ‘यही सानो कामले ठूलो उपलब्धी हात परेको हो, एकदम खुशी छु ।’

सोचाई समूहले स्वास्थ्य स्वयंसेविका, आमा समूह र विद्यार्थीहरुसँग समन्वय गरेर ८ जिल्लामा काम गरिरहेको छ । अहिलेसम्म आफ्नै खल्तीको पैसा खर्च गरेर काम गरिरहेको बोनिता सुनाउँछिन् ।

***

बोनितालाई प्रतिक्रिया आउँछ, ‘२७ वर्षे उमेरमा यो उपलब्धी चानचुने होइन । आगामी दिनमा यसलाई कसरी कायम राख्छ्यौ ?’

बोनितालाई यसको डर नै छैन । कुनै उपलब्धी हासिल गर्छु भन्ने महत्वकांक्षा राखेर काम नगरेकाले त्यस्तो दबाव महसुस नहुने उनी सुनाउँछिन्।

‘व्याक्तिगत उपलब्धीका लागि होइन, समाज परिवर्तनको लागि काम गर्छु’ उनी मुस्कुराउँदै जवाफ दिन्छिन्, ‘मेरो सोचका कारण समाजमा थोरै भए पनि परिवर्तन देखियो भने त्यो नै मेरो लागि ठूलो ‘अवार्ड’ हुनेछ ।’

onlinekhabar

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.