०६ असाेज, काठमाडाैं । वैदेशिक रोजगार विभागले असाेज मसान्तभित्रै शाखा कार्यालय नवीकरण गर्न म्यानपावर कम्पनीलाई आह्वान गरेकाे छ ।
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ ले शाखा कार्यालयको प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार विभागले २०८१ साल असोज मसान्तभित्र शाखा कार्यालय नवीकरण गरिसक्न भनेकाे हो ।
नवीकरणका लागि इजाजतपत्र प्राप्त संस्थाको दर्ता प्रमाणपत्र (नवीकरण), अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णय पेस गर्नुपर्नेछ ।
त्यस्तै नवीकरण सम्बन्धी निवेदन, शाखा दर्ता गर्दा पेस गरेको नगद धरौटी प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतिलिपि, शाखा प्रमुखको र अन्य कर्मचारीको विवरण र नियुक्ति पत्र, शाखा कार्यालय रहने घरको घर बहाल सम्झौताको विवरण पेस गर्नुपर्ने विभागले जनाएको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा प्रत्येक आर्थिक वर्षको असोजभित्र शाखा कार्यालयको नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।
कार्यविधिमा प्रत्येक शाखा कार्यालयको धरौटी शुल्क २ लाख रुपैयाँ तोकिएको छ। शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसइई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।
कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको १ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ। कार्यविधिमा वार्षिक १ हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एउटा, २ हजार पठाउनेलाई २ वटा , ३ हजार पठाउनेलाई ३ वटा, ५ हजारसम्म कामदार पठाउनेलाई ५ वटा र ५ हजारभन्दा धेरै कामदार पठाउने कम्पनीलाई केन्द्रीय कार्यालयसहित ७ वटासम्म शाखा सञ्चालनको अनुमति दिने व्यवस्था छ ।


 
                                            
                                            
                                            
                                            
                                            
                                            
                                            
            
                                
                                
                                
                            
                            
                            
                                                    
                                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                
                                
                                
                                
+ There are no comments
Add yours