Nepal's No. 1 Digital Newspaper

गौतम बुद्ध विमानस्थल : मुख्य संरचना तयार

(भैरहवा) — यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य संरचना तयार भएका छन् । प्राविधिक उपकरण जडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ । ‘भौतिक पूर्वाधार निर्माण (सिभिल) तर्फका मुख्य संरचना तयार भइसकेका छन्,’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘मौसमलले साथ दिएमा आगामी डिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउँछौं ।’

केही दिनयता भइरहेको वर्षाका कारण आयोजनास्थलको बाहिरी क्षेत्रको काम भने रोकिएको छ । वर्षाले दैनिक एक सयभन्दा बढी मजदुर कामविहीन छन् । अहिलेसम्म तीन हजार मिटर लामो धावनमार्ग, तीनवटा ट्याक्सी वे, विमान पार्किङ क्षेत्र, टर्मिनल भवन, आठतले कन्ट्रोल रुम र प्रशासनिक भवन तयार भएका छन् । यी संरचनामा रंगरोगनको काम भइरहेको छ ।

Order Now: 98510-87891

धावनमार्ग वरपर पेरिमिटर सडक, ससाना ढल निकास, भित्री तारबार, वायरिङ र विद्युत् जडानसम्बन्धी काम चलिरहेका छन् । पहिलो ठेक्काअन्तर्गत सिभिलतर्फको करिब आठ प्रतिशत काम बाँकी रहेको अधिकारीले जनाए । दोस्रो ठेक्काअन्तर्गत विमानस्थलमा उपकरण र मेसिन जडानको काम मुख्य हो । यसको ठेक्का थाइल्यान्डको एरो थाई कम्पनीले ५० करोड रुपैयाँमा लिएको छ । एरो थाई सरकारी कम्पनी हो । जनवरी ७ सम्ममा उपकरण तथा मेसिन जडान गर्ने सम्झौता म्याद छ ।

दोस्रो ठेक्काअन्तर्गत भीओआर/डीएमई (विमान र विमानस्थलबीच समन्वय गर्ने, विमान कति उचाइमा छ, कति दूरीमा छ भन्नेबारेमा पत्ता लगाएर सम्पर्क गर्ने) उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, एक्सरे, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्नेलगायत उपकरण जडान हुनेछन् ।

यसका लागि युरोप र अमेरिकामा अर्डरबमोजिम तयार पारिएका उपकरण आउने क्रममा रहेको अधिकारीले बताए । ‘कुनै अवरोध नभएमा दसैं र तिहारसम्म उपकरण आइपुग्नेछन्,’ उनले भने, ‘त्यसलगत्तै जडानका लागि आवश्यक पर्ने फाउन्डेसनको कामलाई निरन्तरता दिइनेछ ।’ उपकरण जडानका लागि करिब डेढ महिना लाग्ने अनुमान गरिएको उनले बताए । पहिलो ठेक्का लिएको चिनियाँ कम्पनीले पनि विमानस्थलमा जडान गरिने सेन्ट्रल एसी (एयर कन्डिसन) र केही विद्युतीय उपकरण ल्याइसकेको छ । दोस्रो चरणको ठेक्काअन्तर्गतको उपकरण जडान हुनासाथ आयोजनाको प्रगति छोटो समयमै पूरा हुने दाबी अधिकारीको छ ।

विमानस्थलको धावन मार्ग साढे तीन सय मिटर भिजिबिलिटी (आँखाले देख्न सकिने दूरी) मा पनि विमान अवतरण गर्न सकिने उपकरणसहितको छ । विमानस्थलको निर्माण कार्य सम्पन्न हुनासाथ सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण जुटेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थलको निर्माण कार्य पूरा हुनासाथ सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।

‘विमानस्थलको निर्माण कार्य पूरा हुनासाथ हामी सबै उपकरण र प्रणालीको जाँच गरी परीक्षण उडान गर्नेछौं,’ उनले भने, ‘सबै परीक्षण पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रमाणीकरण भएपछि बल्ल औपचारिक नियमित उडान सञ्चालन गरिनेछ ।’ पोखरेलका अनुसार विमानस्थलमा जडान गरिएका विभिन्न उपकरण र मेसिनले ठीक किसिमले काम गरेका छन्/छैनन् भन्नेबारेमा जाँच्नका लागि क्यालिब्रेसन उडान गरेर पत्ता लगाइन्छ । सबै उपकरण ठीक भएको प्रमाणित भएपछि बल्ल परीक्षण उडानका लागि विमानस्थल योग्य मानिन्छ ।

विमानस्थल सञ्चालनका लागि जर्मनीको सरकारी स्वामित्वमा रहेको ख्यातिप्राप्त म्युनिच एयरपोर्ट कम्पनीसँग दुई देशका सरकारबीच कुरा भइरहेको महानिर्देशक पोखरेलले बताए । यसबारेमा सकारात्मक ढंगले कुरा अघि बढेको छ । उनका अनुसार नियमित रूपमा हवाई उडान सञ्चालनका लागि श्रीलंका, म्यानमार, थाइल्यान्डलगायत मुलुकसँग पनि कुरा भइरहेको छ । विमानस्थलमा सुरक्षा निकाय, भन्सार, अध्यागमन, क्वारेन्टाइन, आयल निगमलगायतको प्रबन्धका लागि सम्बन्धित निकायमा पत्राचारसहित गृहकार्य भइरहेको पोखरेलले बताए । ‘विमानस्थल निर्माण पूरा भएपछि सञ्चालनका लागि कुनै पनि कुराले रोकिने अवस्था छैन,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने सबै कुरामा हाम्रो ध्यान पुगेको छ ।’

राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माण सम्पन्न भएपछि यसको सञ्चालनको अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणसँग रहेको बताए । ‘मुख्य काम भनेको निर्माण सम्पन्न गर्नु हो,’ उनले भने, ‘निर्माण सम्पन्न भएपछि अन्य तयारी नपुगेर विमानस्थल सञ्चालन रोकियो भन्ने अवस्था आउँदैन ।’

अगामी डिसेम्बरसम्म पूरा गर्ने गरी आयोजनाको तेस्रोपटक म्याद थप गरिएको हो । पहिलो चरणको ठेक्काअन्तर्गत भौतिक संरचना निर्माणका लागि ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले ठेक्का लिएको हो । मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदारबीचको अन्तरद्वन्द्वलगायत कारण तीन वर्षसम्म आयोजना सुस्ताएको थियो । ०७४ मा चिनियाँ मुख्य ठेकेदार कम्पनीले व्यवस्थापनको जिम्मेवारीमा परिवर्तन गरी अर्कोलाई खटाएपछि आयोजनाले गति लिँदै आएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.