संसदमा बाँके घटना फेरि ब्युतियो : काँग्रेस र नेकपा सांसदबीच चर्काचर्की, संसद बैठक स्थगित
काठमाडौँ – बाँके घटनालाई लिएर प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच चर्काचर्की परेको छ ।
काँग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनाको बारेमा आफ्नो धारणा राखे लगत्तै नेकपाका सांसद नन्द रोकायले नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्लको कुनै संलग्नता नरहेको भनेपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।
रोकायले काँग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको र काँग्रेस बाँके जिल्ला सभापतिमाथि कुनै आक्रमण नभएको दाबी समेत गरेका थिए ।
रोकायले काँग्रेस आन्दोलनमा उत्रिए नेकपा पनि आन्दोलनमा उत्रिन तायर रहेको भनेपछि काँग्रेस सांसदहरु बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।य
काँग्रेसले बेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख कृष्ण बहादुर महाराले संसद बैठक असोज १ गतेसम्मका लागि स्थगित गरेका छन् ।
पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएकाले आजको संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले जनाएकी थिइन् ।
Source:ratopati news