प्रधानमन्त्री ओली स्वदेश फर्किए
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन् । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्किएका हुन् । त्यसअवसरमा उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
१२ वर्षअघि मृर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली गत श्रावण १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने कुरा गर्न चाहेनन् । स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत भएका थिए ।
प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको छ ।
source:ratopati news