प्रिमियर लिग फुटबल : लिभरपुल र नर्विच भिड्दै
इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज (शुक्रबार) रातिबाट सुरु हुदैछ । लिगको उद्घाटन खेलमा लिरभपुल र नवप्रवेशी क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा लिभरपुल सुखद सुरुवात गर्ने योजनामा छ । यसैगरी नर्विच पनि बलियो लिभरपुललाई टक्कर दिने तयारीमा छ । नर्विच यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधि दौडनै आफुहरुको लक्ष्य रहेको बताएका छन् । लिगको चुनौती थप्न म तयार छु, क्लोपले भनेका छन् । गत सिजन एक अंकले मात्र पछाडी रहेर म्यानचेस्टर सिटीलाई उपाधि सुम्पिएको लिभरपुल यसपटक पुरानो घाउ मेट्न चाहन्छ ।
यद्यपी प्रिमियर लिगका प्रतिस्पर्धी सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी लगायत क्लबहरु अहिले टोलीमा राम्रा खेलाडी अनुबन्ध गर्न लागिपरेका छन् । प्रतिस्पर्धी क्लबले करोडौं पाउन्ड खर्चदा लिभरपुल शान्त बनेर बसेको छ । प्रशिक्षक क्लोपले क्लबमा भएका खेलाडीमा लिगको उपाधि जिताउने क्षमता प्रयाप्त भएको बताएका छन् ।
लिभरपुलका अहिले अनुभवी र नयाँ खेलाडीको समिश्रण छ । ३० बर्षसम्म लिग जित्न नसकेको लिभरपुल यसपटक आशावादी छ । गत सिजन लिगको मुखमा पुगेर दोस्रो स्थानमा रहँदा चिसो मन बनाएको लिभरपुलले च्याम्पियन्स लिगमा टोट्टनहामलाई हराएर उपाधि जितेपछि केही राहत महसुस गरेको थियो । त्यसैले लिभरपुल घरेलु मैदानमा सहज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ ।