Nepal's No. 1 Digital Newspaper

प्रदेश नम्बर २ मा सरकारी सवारी साधनको चरम दुरुपयोग

जनकपुर– प्रदेश सरकार सञ्चालनमा आएलगत्तै अन्य सरकारी कार्यालयका अधिकांश चारपाँग्रे सवारी साधन फिर्ता नहुँदा कामकारवाही प्रभावित भएको छ । सरकारको लगानी तथा विभिन्न कामकाजको अनुगमन गर्नका लागि  सम्बन्धित निकायसँग सवारीसाधन नहुँदा कामकार्वाही प्रभावित हुने गरेको छ ।

शहरी विकास तथा भवन कार्यालय धनुषाको गाडी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाका लागि प्रयोग गरिएको थियो । प्रदेश सरकारले नयाँ गाडीहरु खरिद गरेपछि सो गाडी मुख्यमन्त्री कहाँ पठाइएको थियो । प्रदेश सरकारले ३ दर्जनभन्दा सवारी साधन खरिद गरिसके पनि हालसम्म कुनैपनि सरकारी कार्यालयको सवारी सधान फिर्ता भएका छैनन् । बरु ती सवारी साधन मन्त्रीका कार्यकर्ता तथा परिवारहरुले चढ्दै आएका छन् ।

Order Now: 98510-87891

प्रदेश सरकारले कार्य सञ्चालनका लागि सुरुमा लिएका सवारी साधन विभिन्न मन्त्रालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेपछि  पुनः सो मन्त्रालयबाट कार्यकर्ता ओसारपोसारका लागि सवारी साधनहरु प्रयोग हुँदै आएका छन् । विभिन्न मन्त्रालयमा मनग्य सवारी साधनहरु भइसकेपनि कार्यकर्ता ओसारपोसारमै अधिकांश सरकारी गाडीहरु दुरुपयोग भैरहेका छन्  ।

सरकारले गाडी दुरुपयोग गरेपछि धनुषा, महोत्तरी र सर्लाहीमा निर्माण भइरहेका १ हजार ६ सयभन्दा बढी भवन निर्माणको कार्य प्रभावित भएको शहरी विकास तथा भवन कार्यालय धनुषा अन्तर्गत जनता आवास कार्यक्रमका निमित्त कार्यालय प्रमुख इन्जिनियर महेन्द्र   महतोले बताए ।

उनले प्रदेश सरकारले गाडी फिर्ता गरेको कागजात प्रक्रिया पुरा गरेपनि मुख्यमन्त्री कार्यालयबाट भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सो गाडी आइपुगे पनि हालसम्म फिर्ता नभएको स्पष्ट पारे । उनले भने, सो गाडी मौखिकरुपमै प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारले लगेको थियो ।

उनले अघि थपे– ‘सम्बन्धित मन्त्रालयबाट गाडी माग्दा मन्त्रीले मेरो सुविधाको लागि गाडी फिर्ता दिन्न् भने ।’ मन्त्री तथा राज्यमन्त्रीका लागि लगिएको सवारी साधनहरु अहिले उनीहरुका कार्यकर्ताले प्रयोग गर्दै आइरहेको एक कर्मचारीले बताए ।

शहरी विकास तथा भवन कार्यालय धनुषाको बा २ झ १७९८ नम्बरको बोलेरो भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले फिर्ता गर्न मानेको छैन । प्रदेश नम्बर २ को सरकार स्थापना पछि मुख्यमन्त्री लालबाबु  राउतले मन्त्रालयको कामकारवाही सञ्चालनका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलमार्फत एक दर्जनभन्दा बढी सवारी साधन झिकाइएको थियो ।

प्रदेश सरकारले शहरी विकास तथा भवन कार्यालय, क्वारेन्टाइन कार्यालय, पशुसेवा कार्यालय, सडक विभाग, वन कार्यालय लगायत विभिन्न कार्यालयबाट एक दर्जनभन्दा बढी सवारी साधन लगिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । यता, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सवारीसाधनहरु फिर्ताका लागि कुराकानी अघि बढाएको जानकारी दिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.