Nepal's No. 1 Digital Newspaper

गैंडाको मृत्यु ६५ प्रतिशतले बढ्यो, निकुञ्जको क्षमतामा प्रश्न

१२ साउन, चितवन । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको प्राकृतिक मृत्यु नेपालमा अस्वाभाविक रुपमा बढेको छ । चोरी शिकारी रोकिएको वर्ष प्राकृतिक मृत्यु अस्वाभाविक रुपमा बढेपछि चितवन राष्ट्रिय निकुञ्जको क्षमतामा प्रश्न उठेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ४३ वटा गैंडाको मृत्यु भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४/०७५ मा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए ।

Order Now: 98510-87891

२०७४/०७५ मा २६ गैंडा मर्दा निकुञ्जले आश्चर्यजनक भनेको थियो । तर गत वर्ष २०७५/०७६ मा झनै बढी गैंडा मरे । यतिका संख्यामा गैंडा मर्नुको कारण प्राकृतिक कारण बढी देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । ‘यतिधेरै संख्यामा गैंडा कालगतिले मरेको देख्दा हामीलाई आश्चर्यमा पारेको छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ‘यसको अनुसन्धान जारी छ ।’

गैंडाहरु जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले आक्रमण गरेर मर्ने गरेका छन् । होटलको सेफ्टी ट्यांकीमा खसेरसमेत गैंडा मरेका छन् । तर, गत वर्ष मरेका ४३ गैंडामध्ये २३ वटाको मृत्युको कारण अझै थाहा हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन् ।

झण्डै तीन वर्षयता चोरी शिकारीबाट भने चितवन राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा मरेका छैनन् । २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसयता तस्करले गैंडा मार्न नसकेको निकुञ्जका अधिकारीहरु बताउँछन् । तस्करले गैंडा मार्ने क्रम रोकिए पनि अन्य कारणले गैंडा मर्ने क्रम बढेपछि संरक्षणकर्मीहरूलाई चिन्तित बनाएको छ ।

कहिले कति गैंडा मरे ?

अघिल्लो वर्ष सवैभन्दा बढी ८ गैंडा बुढो भएर मरेका थिए । गत वर्ष बुढो भएर मर्ने गैंडाको संख्या ५ छ । निकुञ्जले दिएको जानकारी अनुसार त्यसबाहेक गत वर्ष जुधेर ७, संक्रमण भएर २, बाघको आक्रमणबाट १, गोहीको आक्रमणबाट १, सेफ्टी ट्यांकीमा खसेर १, करेन्ट लागेर १, ग्याविन तारमा परेर १, खाल्डोमा परेर १ गैंडा मरेका थिए । त्यसमा भाले ९, पोथी १४ र लिङ्ग नखुलेको २० गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । मरेका ४३ मध्ये ३४ गैंडा निकुञ्जको कोर क्षेत्रमा, ७ मध्यवर्ती र २ राष्ट्रिय वन क्षेत्रमा मरेको भेटिएका थिए । गत वर्ष कात्तिक र फागुनमा सबैभन्दा धेरै ८/८ वटा गैंडा मरेको तथ्यांक छ ।

चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेका थिए । तीमध्ये एउटा गैंडा तस्करले मारेका थिए । निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन् । सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा चोरी शिकारीका कारण मारिएका थिए ।

चोरी शिकारीले गैंडा नमारेको वर्ष प्राकृतिक मृत्यु बढी !

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चोरी शिकारीबाट गैंडा नमारिएको वर्ष प्राकृतिक कारणबाट गैंडाको मृत्यु बढी भएको पाइएको छ । ‘जुन वर्ष चोरी शिकारीका कारण बढी गैंडा मरेको देखिन्छ त्यो वर्ष प्राकृतिक मृत्युमा कमी देखिएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘पछिल्ला वर्षमा प्राकृतिक मृत्यु बढी देखिनुको कारण यो पनि हुन सक्छ ।’

तस्करहरुले उमेर पुगेका र बुढा भएका गैंडाहरुलाई नै बढी मार्ने गर्दछन् । बुढा भएका गैंडा भाग्न पनि नसक्ने र खाग पनि राम्रो हुने भएकाले तस्करहरुले यिनै गैंडालाई निशाना बनाउने गरेका छन् ।

गैंडाको मृत्यु अस्वाभाविक देखिएपछि निकुञ्ज विभागले दक्षिण अफ्रिकाबाट समेत विज्ञ टोली झिकाएर अनुसन्धान अघि बढाएको छ । गएको असार दोस्रो साता विभागको टोली चितवन राष्ट्रिय निकुञ्जमा आएर सरोकारवालाहरुसँग छलफल गरेको थियो । दक्षिण अफ्रिकाबाट दुई जना विज्ञसहित विभागको टोली निकुञ्जमा आएर गैंडाको प्राकृतिक मृत्यु अधिक हुनुका विभिन्न सन्र्दभमा छलफल गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । विज्ञ टोलीले प्रस्तावना बनाएर पेश गरेपछि विभागले थप अनुसन्धानका लागि काम अघि बढाउने जनाएको छ ।

विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले गैंडाको प्राकृतिक मृत्यु अस्वाभाविक भएकाले यसलाई विभागले अन्यन्तै गम्भिरताका साथ लिएको प्रतिक्रिया दिए । विभागले अध्ययनका लागि पर्यावरणविद् लक्ष्मण पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति पनि गठन गरेको थियो । सो समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । मरेका गैंडाको पोष्टमार्टम रिपोर्ट, उमेर, लोकेसन लगायतका बिषयलाई अनुसन्धानमा समेट्ने भनिएको छ ।

पानीका स्रोत घट्दै जानु, माइकेनियालगायतका अतिक्रमित झारका कारण घाँसे मैदान साँघुरिँदै जानु, रोगव्याधका कारण गैंडा मरेको बताइन्छ ।

बासस्थानमा प्रश्न

एसियामै चितवन निकुञ्ज एकसिँगे गैंडाको दोस्रो ठूलो बासस्थान हो । पहिलो बासस्थान भारतको काजिरंगा नेशनल पार्कलाई मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढी हुँदा ‘क्यारी क्यापासिटी’ कम भएर पनि गैंडाको क्षति भएको हो कि अनुमान लगाइएको छ ।

गैँडाको संख्या थपिँदा बासस्थानको क्षेत्र कम भएर मानव वस्तीमा आएका हुन् कि भन्ने अनुमान निकुञ्जको छ । चितवनको प्रमुख बजार नारायणगढ वरपरसमेत गैंडा आउने गरेपछि त्यो अनुमानमा बल पुगेको छ । यसको वास्तविकता भने पत्ता लागेको छैन । यद्यपि गैंडाको बासस्थान सुधार गर्दै गैंडाको संरक्षण गर्न सरकारले सन् २०१७ देखि पाँच वर्षे कार्ययोजना ल्याएर काम गर्दै आएको छ । झन्डै ५६ करोड रकम खर्चिने गरी सरकारले ल्याएको कार्यक्रम सन् २०२१ सम्म चल्नेछ ।

कार्ययोजनामा गैंडा संरक्षणमा देखिएका मुख्य चुनौती सामना गर्ने लक्ष्य समेटिएका छन् । कार्ययोजनामा निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा गैंडाका लागि बासस्थान क्षेत्र बढाउने, घाँसे मैदान तयार गर्ने, पानीका घोल तयार गर्ने, मिचाहा प्रजातिका बिरुवा रोक्ने र अतिक्रमण हटाएर बासस्थान बढाउनेलगायतका कार्यक्रम छन् । यी कार्यक्रम निकुञ्जले गर्दै आए पनि गैंडा मर्ने क्रम भने रोकिएको छैन ।

यस वर्ष गैंडा गणना

पछिल्लो पटक सन् २०१५ (२०७१) मा गरिएको गैंडा गणनामा पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा ६४५ गैंडा भेटिएका थिए । गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा पाइएको थियो ।

हरेक चार–चार वर्षमा गैंडा गणना गर्ने भनिए पनि गत वर्ष बजेट अभाव भएको भन्दै गैंडा गणना गरिएन । चालु आर्थिक वर्षमा भने गैंडा गणना गरिने विभागका उपमहानिर्देशक कँडेलले जानकारी दिए । सरकारले गैंडा गणनाका लागि यस वर्ष १ करोड १० लाख रकम विनियोजन गरेको छ । आगामी मार्च–अप्रिलमा गैंडा गणनाको तालिका बनाइएको छ । गैंडा गणनाका लागि एक महिना लाग्ने उपमहानिर्देशक कँडेलले बताए ।

चितवन राष्ट्रिय निकुञ्जले कति वटासम्म गैंडा थेग्न सक्छ भन्ने पनि एकीन छैन । सरकारको कार्ययोजनाअनुसार काम हुँदै आए पनि गैंडाको मृत्यु नरोकिएपछि कतिपयले चितवन राष्ट्रिय निकुञ्जको क्षमता सकिएको बताउँछन् । त्यसैले पनि यस वर्ष गैंडा गणना आवश्यक रहेको अधिकारीहरु बताउँछन् ।

नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । गणनाअनुसार सन् १९९४ मा ४ सय ६६ वटा, सन् २००० मा ५ सय ४४ वटा, सन् २००५ मा ३ सय ७२ वटा, सन् २००८ मा ४०८ वटा र सन् २०११ मा ५ सय ३ वटा गैंडा भेटिएका थिए ।

सन् २०१५ मा गरिएको गणनापछि सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैंडा स्थानान्तरण गरिएको थियो । छिमेकी देश चीनलाई दुई जोडी गैंडा दिइएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.