Nepal's No. 1 Digital Newspaper

मिथिलाञ्चलमा ‘मधुश्रावणी’को रमझम

जनकपुर– मिथिलाञ्चलमा मधुश्रावणीको रमझम सुरु भएको छ । साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने मधुश्रावणी पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्छ । 

Order Now: 98510-87891

१३ दिनसम्म मनाइने मधुश्रावणी खासगरी नवविवाहिता महिलाका लागि विशेष मानिने गर्छ । मिथिलाञ्चलको लोक पर्व मानिने यस पर्वमा विशेषगरी नवविवाहिता महिलाहरु माइतीमा गएर मनाउने गर्छन् । जसअन्तर्गत बेहुली र उनका सखीहरु सहभागी हुन्छन् । पर्वमा माता गौरी, महादेव र नागदेवता (विषहरा) को पूजाअर्चना र अनुष्ठान गर्ने गरिन्छ ।

मधुश्रावणीमा नागनागिनको पूजा यसकारण
मधुश्रावणी कथाअनुसार भगवान शिवपार्वती सँगै जलक्रीडा गरिरहेका बेला शिवको वीर्य स्खलन भयो । भगवान शिवले सो वीर्यलाई एउटा रुखको पातमा राखे । सोही वीर्यबाट पछि पाँच कन्याहरुको जन्म भयो । ती पाँच कन्याहरुको नाम जया, विषहर, शामिलबारी, देव र दोतली राखियो ।

यी कन्याहरुको जन्मपछि भगवान शिव त्यहाँबाट गइहाले । तर समय समयमा आफ्ना छोरीहरुलाई भेट्नका लागि आइरहन्थे । यो क्रम धेरै दिनसम्म चलेपछि पार्वतीलाई शङ्का लाग्न थाल्यो । उनले एक दिन भगवान शिवको पिछा गरे । भगवान शिव फेरि सोही तलाउमा आफ्ना छोरीहरुलाई भेट्न आए ।

शिवजी तलाउमा सर्परूपी आफ्ना छोरीहरुसँग खेलिरहेका थिए । भगवान शिवलाई उनीहरुसँग खेलिरहेको देखेर पार्वती क्रोधित भइन् । उनले ती सर्पहरुलाई मार्ने प्रयास पनि गरिन् । त्यसपछि शिवले पार्वतीलाई ती सर्पहरुको कथा सुनाए । उनीहरुको कथा सुनेपछि पार्वती हाँस्न थालिन् ।

शिवको यो कथा सुनेर माता पार्वती सर्प रूपी छोरीहरुलाई मारिनन् । त्यसपछि महादेवले भने ‘साउन महिनामा जसले सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन ।’ त्यही कारणले लोकगाथा अनुसार अहिले पनि मिथिलाञ्चल समाजमा मधुश्रावणी पर्वको बखत विषहरको पूजा गर्ने चलन सदियौँदेखि चल्दै आइरहेको छ ।

मधुश्रावणी पर्वमा प्रत्येक दिन विभिन्न कथाहरु सुनाइने गरिन्छ । जसमा मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वी जन्म, समुद्र मन्थन, सतीको कथा व्रती महिलाहरुलाई सुनाइने गरिन्छ ।

मधुश्रावणी व्रतको यसरी भयो सुरुवात
लोककथा अनुसार नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने रूपमा लिइन्छ भने गौरीलाई दाम्पत्य जीवनको संरक्षिकाका रूपमा लिइने गरिएकाले यस पर्वमा गौरीको गाथा र नाग नागिनको पूजाअर्चनाको विशेष महत्त्व दिइने गरेको देखिन्छ ।

गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र नभई मनोकमना पूरा गर्ने देवीका रूपमा पनि लिइने गरेको छ । मिथिला नरेश जनककी छोरी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । वाल्मीकि रामायणअनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो ।

पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्छ भने सर्पकी आमा विषहरा र उनको वंशका बारेमा चर्चित लोक गाथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जस्ता विश्वास अहिले पनि समाजमा व्याप्त पाइन्छ ।

भनिन्छ यो पर्वको सुरुवात शिव पुराणको प्रसङ्ग अनुसार मधुश्रावणी नामक नवविवाहिताले  शिव पार्वतीलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाएका थिए ।
सुझावअनुसार उनले व्रत गरेपछि पति निको भए । यस पर्वको सुरुवात त्यहीँबाट भएको मानिन्छ । यस पर्वलाई मधुमासका रूपमा पनि लिने गरेको पाइन्छ । नवविवाहित पतिपत्नीको आगाध र मधुर प्रेमलीलाका रूपमा समेत यसलाई लिने गरेकाले विवाहित महिला र पुरुषका लागि श्रावण महिनाभरी विशेष रूपमा शिव र पार्वतीका विभिन्न गाथाहरुलाई गाइन्छ । यसैले नवविवाहिता नारीका लागि यो विशेष महिनाका रूपमा लिने गरिएको छ ।

मधुश्रावणी पर्वको विधि
मिथिलामा गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीका रूपमा पूजा गर्ने परम्परा छ ।  मधुश्रावणी पर्वका लागि नवविवाहिता व्रतालु श्रावण कृष्ण चतुर्थीको दिन स्नान गरी चोखो हुने गर्छिन् ।

दिउँसोको समयमा नवविवाहिता महिलाहरु मिथिलाका विभिन्न लोक गीतहरु गाउँदै, हँसी ठट्टा गर्दै फूल टिप्न जाने गर्छिन् । यसलाई मिथिलामा फूललोढी भनिन्छ । विभिन्न प्रकारका फूल तथा बेलपत्रहरु अर्को दिन गौरी र महादेवलाई चढाउने गर्छन् । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने चलन छ ।

पूजाका क्रममा साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ ।  बेसारलाई गौरीको प्रतीक प्रतिमास्वरूप बनाएर पानको पातमा राखिन्छ, जसलाई गौर भन्ने चलन छ ।

यस पर्वमा मिथिलामा प्रचलित गोसाउनी गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाइने परम्परा छ । मधुश्रावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव–पार्वतीको पारिवारिक परिवेशसम्बन्धी आख्यानहरुको चर्चा गरिन्छ । जसले गर्दा पूजाको समयमा मनोरञ्जनात्मक परिवेशको निर्माणसमेत हुने गर्दछ ।

गौरी नैवेद्य र गौरीको प्रतिमा नवविवाहिता महिलाको माइती र ससुराली दुवै ठाउँ बनाइने गरिन्छ । यो पर्व खास गरी माइतीमै मनाइने भएकाले ससुरालीमा बनाइएको गौरीको प्रतीक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ । यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साड़ी, शृङ्गारका सम्पूर्ण सामग्रीका साथै पर्व अवधिका लागि अन्नसमेत पठाउने चलन रहेको मधुश्रावणीको कथा वाचन गर्ने अरुण देवीले बताइन् ।  
उनका अनुसार श्रावण कृष्ण पञ्चमीका दिन व्रतालुहरु स्नान गरी नववस्त्र धारण गरेपछि कुलदेवतालाई प्रणाम गर्दै पूजा हुने स्थानमा विशेष प्रकारको अरिपन बनाइएको स्थानमा बस्ने गर्छिन् । त्यसपछि त्यहाँ पाँचवटा नागदेवताको आकृति बनाइने गरिन्छ । विशेष प्रकारको अरिपनमाथि पूजा सामग्री समेत राख्ने गरिन्छ । यसमा कलशका साथै एक सय आठ स्थानमा नाग देवताको आकृित बनाइएको हुन्छ । त्यसपछि माता गौरीको पूजा गर्दै मधुश्रावणी पूजा आरम्भ गरिन्छ ।

सर्वप्रथम हाथीमाथि माता गौर (बेसारबाट बनाइएको माता गौरीको प्रतीक) पूजन गर्ने गरिन्छ ।  यसका साथै पञ्चोपचार पद्धतिबाट गन्धपुष्प धुपदीप ताम्बुल, दुवार्दल, बेलपत्र, नैवेद्य इत्यादिद्वारा विशेष विधिविधान र स्वामीपुत्रसहित माता गौरीको पूजा गरिन्छ । पूजा गरेपछि प्रत्येक दिन निर्धारित कथा सुनाइने गरिन्छ । त्यसपछि बाचोबिनी नामक मन्त्रविशेषसमेत एक पटक सुनाइने गरिन्छ । पूजा समाप्त भएपछि व्रतालु कुलदवेतालाई प्रणाम गर्दै आफूभन्दा श्रष्ेठबाट समेत आशीर्वाद लिने गर्छन् । त्यसपछि पूजास्थानमा राखिएको खीरको भागलाई पूजा गर्दै पाँच जना सधवा महिलाहरुलाई खुवाइने गरिन्छ । यस विधिलाई मैथिलीमा करोतरी भन्ने गरिन्छ । यस पर्वमा १५ दिनसम्म पूजनकालमा ससुरालीबाट आएको वस्त्र (साडी) मात्रै लगाइने कथावाचिका सच्ची देवी बताउँछिन् ।

यसरी १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधश्रुावणी पर्व समापन गरिन्छ । तृतीयाभन्दा एक दिनपहिले व्रतालुले नुहाएखाए गरेपछि सोही दिन साँझ फेरि गौरी नैवेद्य पकाउँछिन् । सोही दिन नवविवाहिताहरु टेमी विधिमा सम्लग्न हुन्छन् । टेमी विधिमा दियोको टुप्पाले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्ष गराइन्छ । स्पर्ष गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ ।

यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमान्ले भविष्यमा अझै बढी माया गर्ने विश्वास छ । तर नवविवाहिता महिला गर्भवती रहेको पाइए उनीहरुलाई शीतल टेमी दिइन्छ ।  

मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व रहेपनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन् । पर्वमा जाति, स्थान अनुसार विधिमा विविधता पाइन्छ ।

मधुश्रावणी पर्वको महत्त्व
अवधिको दृष्टिले यो पर्व मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व हो । भगवान् शङ्करलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनी आस्थाका साथ पूजा गरिन्छ । आशुतोष शंकर मनोवाञ्छित फल प्रदान गर्ने देवताको रूपमा पूजित छन् । मधुश्रावणी पर्वमा विशेष रूपमा नाग देवतालाई विषहराको नामले पूजा गर्ने गरिन्छ ।

विषहरालाई महादेवका सन्तति सरह मानिएकाले यो व्रत बस्नाले सर्पको भय नहुने र भगवान शंकरसमेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ ।

मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण रहेको नेपाल नाट्य सङ्गीत कला प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झा बताउँछन् । पर्व अन्तर्गत वाचन गरिने कथाहरुमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको वर्णन पाइन्छ । साथै जीवन, प्रारब्ध, कमर्पmलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरुलाई समेत लोककथाको माध्यमले सुनाइने गरिन्छ ।
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.