Nepal's No. 1 Digital Newspaper

कैलालीका नदीमा देखिन थाले डल्फिन

२३ असार, कैलाली । दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थालेको छ । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडलगायतका नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँको नदीमा हरेक मनसुनमा चेतनशील जलप्राणी डल्फिन देखिने गर्दछ ।

यो वर्ष अहिले कम्तीमा चार वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा दुई वटा वयस्क र एउटा बच्चा डल्फिन देखिएको बताए । त्यस्तै पथरैया र काँढा नदीको दोभानमा समेत एउटा वयस्क डल्फिन देखिएको ढुङ्गानाले जानकारी दिए ।

Order Now: 98510-87891

‘डल्फिन खेल्नका लागि अझै पनि नदीमा पानी पर्याप्त छैन’, उनले भने, ‘तर, अब नदीमा डल्फिनको संख्या थपिँदै जाने अपेक्षा गरेका छौं ।’ मज्जाले नजिकैबाट डल्फिन देख्न पाइने उक्त दोभानहरु टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिक पर्दछ ।

गतवर्ष यहाँको नदीमा असार दोस्रो साताबाट डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले केही ढिलो गरी कैलालीको नदीहरुमा डल्फिन देखिन थालेको हो । मनसुनभरि नै यहाँको नदीमा डल्फिन देखा हेर्न सकिने ढुङ्गानाले जानकारी दिए । नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ ।

मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरुमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरु बताउँछन् । गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन् । माछालगायतको जलीय जीव डल्फिनको आहारा हो ।

कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ । गुलेली बाँजेको नामले परिचित भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो । प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ । सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२ र २०१८ को गणनामा ३७ वटा डल्फिन फोला परेको अभिलेखमा उल्लेख गरिएको छ ।

कैलालीका नदीहरुमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ । डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ । महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

यसैगरी, डल्फिन देखिने नदीहरुमा प्रशस्त मात्रामा घडियाल र मगर गोही पनि हेर्न सहिन्छ । उक्त क्षेत्रमा घडियाल र मगर गोही प्रायः सबै समय बस्ने गरेको जनाइएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.