वायुसेवा निगम सेनालाई चलाउन दिउँ भन्दा प्रधानमन्त्रीको प्रश्नको वर्षा
१६ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन ।
निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद कोइरालाले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव राखेका छन् । निगमको वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीकै सामु यो प्रस्ताव राखेका हुन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनको प्रस्ताव अस्वीकार मात्र गरेनन्, कडा प्रश्न पनि गरेका छन् । ‘काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? काम नलाग्ने भएर दिउँ भनेको हो भने सेना बञ्चरेडाँडा हो ?’
यथास्थितिमा वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिन्नः प्रधानमन्त्री

सेनालाई दिँदा उसले चलाउन सक्ने भएपछि के तर्कका आधारमा सेनालाई दिने भन्ने प्रश्न गरे । उनले अघि भने, ‘पाइलट नभएर कि ? जङ्गी पोशाकमा मात्र उड्छ कि ?’
सेनाले उडाउन सक्छ भने वायुसेवा निगमले किन सक्दैन भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सुरक्षित छैन भने किन दिनुहुन्छ ? छ भने आफैं किन चलाउनु हुन्न ?’
व्यवस्थापन राम्रो छ भन्ने विश्वास नेपाली सेनाले आर्जन गरेको उपलब्धी भएको प्रधानमन्त्रीले बताए ।